ad ad

राजनीति


वाम गठबन्धनको गर्भकथा : ओली र माधव दुवै मिल्न तयार, तर...

जब वामदेव र बाबुराम माओवादी–एकीकृतको छलफलमा पसे....
वाम गठबन्धनको गर्भकथा : ओली र माधव दुवै मिल्न तयार, तर...

नेपालखबर
साउन ७, २०७९ शनिबार २१:४२, काठमाडौँ

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा वाम गठबन्धन बनाउने प्रयासले तीव्रता पाएको छ। गत स्थानीय चुनावमा पनि वाम गठबन्धनको भित्री प्रयास भएको थियो, तर शीर्षनेताहरु नतातिएका कारण दोस्रो तहका नेताहरुको प्रयासले सार्थकता पाएन। यसपालि वाम गठबन्धनको प्रयासले तीव्रता पाएको छ।

‘त्यसो त २०७४ को संसदीय चुनावमै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेससँग गठबन्धन बनाएर अघि बढ्न पार्टीमा रुलिङ नै गरिसकेका थिए,’ माओवादीका एक केन्द्रीय नेताले पाँच वर्ष पुरानो घटना सम्झँदै नेपालखबरसँग भने, ‘कांग्रेससँग चुनावी तालमेल गर्न रुलिङ नै गरिसकेका अध्यक्ष प्रचण्डले एकाएक एमालेसँग गठबन्धन मात्र हैन, पार्टी एकता नै गर्ने निर्णय लिए। प्रचण्ड युटर्न भएसँगै एमालेसँग तालमेल  सम्भव भयो।’

माओवादी नेता अघिल्लो चुनावको सन्दर्भ कोट्याउँदै थप्छन्, ‘अहिले पनि अध्यक्ष प्रचण्ड नेपाली कांग्रेससँगको गठबन्धन टुट्दैन भनिरहनुभएको छ, तर भित्रभित्रै वाम गठबन्धन बनाउने प्रयास पनि शुरु भएको छ। कांग्रेससँग गठबन्धन गरेर देशमा समाजवाद आउँदैन, एमालेसँगै नजिकिनुपर्छ भन्ने मत पार्टीभित्र बढ्दै जान थालेको छ।’

०७४ को स्थानीय चुनावको मुखमा एमाले र माओवादीको सम्बन्ध बिग्रिएको थियो। ओली नेतृत्वको सरकार ढालेर कांग्रेस–माओवादी गठबन्धन बनाएको रिस शान्त भइसकेको थिएन। त्यसैको नतिजास्वरुप ०७४ को स्थानीय चुनावमा माओवादी र कांग्रेसवीच गठबन्धन बन्यो।

तर, स्थानीय चुनावको आँकलन गर्दै नेकपा एमालेले कांग्रेसलाई सत्तामा जानबाट रोक्नका लागि ०७४ को संसदीय चुनावमा माओवादीसँग तालमेल गर्ने नीति लियो। प्रचण्डसँग अढाइवर्षे आलोपालो प्रधानमन्त्री बन्ने सहमतिपत्रमा केपी शर्मा ओलीले हस्ताक्षर गरे। चुनावपछि मधेसबाहेक सबै प्रदेशमा र केन्द्रमा नेकपाको सरकार बन्यो, कांग्रेस देशैभरि प्रतिपक्षमा खुम्चियो।

तर, केपी ओलीको शासनकालमा नेकपा फुटेर तीन टुक्रा भयो। संघ र प्रदेश सबै ठाउँमा एमाले प्रतिपक्षमा पुग्यो। माओवादी, एकीकृत समाजवादी र जसपाले नेपाली कांग्रेससँग सहकार्य गरे।

फलस्वरुप गत बैशाखको स्थानीय चुनावमा कांग्रेस पहिलो र एमाले दोस्रो दल बन्न पुगे। चुनावको यो परिणामपछि एमाले नेताहरु सत्ता गठबन्धन फुटाउने वा आफूतिर मिलाउने रणनीतिमा फर्किएका छन्। एमालेमा अब स्थानीय चुनावअघिको दम्भ देखिँदैन।

त्यसो त गत स्थानीय चुनावमै माओवादीका कतिपय नेताले एमालेसँगै तालमेलका लागि वातावरण बनाउने प्रयास गरे पनि सम्भव नभएको नेताहरु बताउँछन्। वाम गठबन्धनको पक्षमा वकालत गर्दै आएका माओवादीका एक नेता भन्छन्, ‘बैशाखको स्थानीय निर्वाचनअघि पनि हामीले एमालेका नेताहरुसँग वाम तालमेल गरौं भन्ने कुराकानी गरेका थियौँ। तर, एमालेमा एक्लै पहिलो दल बनिन्छ भन्ने दम्भ थियो। अर्को, उनीहरु माधव नेपालसँग कुरै नगर्ने पक्षमा उभिए।’

माओवादीका ती नेता अगाडि थप्छन्, ‘स्थानीय चुनावपछि भने केपी ओली पनि विगतलाई बिर्सेर मिलौं भन्ने तहमा आइसके। माधव नेपाल र झलनाथ खनाल पनि मिल्न तयार भइसके। तथापि एमालेसँग गठबन्धन वा एकताको व्यवहारिक वातावरण भने अझै बन्न सकिरहेको छैन।’

वाम गठबन्धनको पक्षमा को–को ?
नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ सुरुदेखि नै वाम गठबन्धनका पक्षधर हुन्। संविधान निर्माण र लोकतन्त्रलाई संस्थागत गर्न कांग्रेससँग सहकार्य गर्नु स्वाभाविकै भएता पनि अब समाजवादतर्फ अघि बढ्नुपर्ने बेलामा कांग्रेसजस्तो ‘दलाल पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने’ पार्टीसँग गठबन्धन गरेर कहीँ नपुगिने श्रेष्ठले बताउँदै आएका छन्।

आगामी चुनावमा कांग्रेसलाई बहुमत पुग्नबाट रोक्दै वाम गठबन्धनमै जानुपर्ने श्रेष्ठको लाइन रहेको माओवादीका एक नेताले बताए। ती नेताले भने, ‘नारायणकाजी कमरेड नेकपा एमालेसँग तत्कालै पार्टी एकताको पक्षमा हुनुहुन्न, तर चुनावी तालमेलचाहिँ कांग्रेससँग नभएर एमालेसँगै गर्नुपर्छ भन्नेमा हुनुहन्छ।’

त्यसैगरी माओवादीभित्रको एउटा ठूलो पंक्ति कांग्रेससँग नभएर वामपन्थीहरुसँग तालमेल र गठबन्धन गर्नुपर्ने पक्षमा उभिन थालेको छ। माओवादीका धेरै नेताहरु वाम गठबन्धनको पक्षमा रहेता पनि प्रचण्डका अगाडि श्रेष्ठबाहेक अरुले खुलेर बोल्न सकिरहेका छैनन्।

नेकपा एमालेभित्र घनश्याम भुसालसमेत तेस्रो धारका नेताहरु खुलेरै वाम एकताको पक्षमा उभिएका छन्। एमाले महासचिव शंकर पोखरेल, प्रदीप ज्ञवाली लगायतका नेताहरु पनि वाम गठबन्धनको पक्षमा छन्। पृथ्वी सुब्बा गुरुङ पनि यही लाइनमा छन्।

माधव नेपाल समूहमा पनि झलनाथ खनाल लगायतका नेताहरुको ठूलो समूह वाम एकताको पक्षमा देखा परेको छ। तथापि एकीकृत समाजवादीका धेरै नेताहरुले औपचारिक अभिव्यक्ति दिँदा भने ‘एमाले बाहेकको वाम एकता’ भन्ने गरेका छन्।

त्यसैगरी कुनै पार्टीमा नरहेका वामपन्थी बुद्धिजीवीहरुको जनमत पनि आगामी चुनावमा वाम एकता र तालमेल हुनुपर्ने पक्षमा देखिन्छ।

माओवादीका प्रभावशाली नेता वर्षमान पुन पनि वाम गठबन्धनकै पक्षमा देखिन्छन्। माओवादीको संगठनमा राम्रो प्रभाव राख्ने अर्का प्रभावशाली नेता जनार्दन शर्मा भने अहिले एमालेसँग गठबन्धन गर्न नहुने र कांग्रेससँगै राम्रो सम्बन्ध बनाएर जानुपर्ने पक्षमा छन्।

हुन त अहिलेसम्म माओवादीले गरेको संस्थागत निर्णय पनि कांग्रेससँगै गठबन्धन गर्ने नै हो। यकहीबेला माओवादी अध्यक्ष प्रचण्डले वामदेव गौतम, बाबुराम भट्टराई लगायतका नेताहरुसँग सहकार्यका लागि छलफल चलाइरहे पनि नेपाली कांग्रेससँगको गठबन्धन नतोडिने बारम्बार बताउँदै आएका छन्।

तथापि माओवादीकै एक नेताले नेपालखबरसँग भने, ‘हिजो ०७४ मा कांग्रेससँग तालमेल गर्ने रुलिङ भइरहेकै बेला एमालेसँग गठबन्धन बनेको हो, अहिले पनि कांग्रेसले स्थानीय चुनावमा जस्तै अविश्वसनीय व्यवहार देखायो भने नयाँ निर्णय लिन प्रचण्डलाई कुनै गाह्रो छैन।’

दुई पार्टीको वार्तामा वामदेव–बाबुरामको प्रवेश
यसैवीच माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रवीच मिनी गठबन्धन बनाउने कि पार्टी एकता नै गर्ने भन्नेबारे स्थानीय चुनावपछि सघन छलफल शुरु भएको छ।

‘हामीले नेपाली कांग्रेससँग तालमेल गर्नुअघि सत्तामा रहेका वामपन्थी घटकबीच एलाइन्स बनाऔं भनेर छलफल गरिरहेका थियौँ,’ माओवादीका एक नेताले भने, यहीबेला फुत्त वामदेव गौतम पनि आइपुगे। उनले एक कदम अगाडि बढेर गठबन्धन हैन, पार्टी एकता नै गरौं भन्न थाले। अनि, बाबुराम भट्टराईले पनि बीचैमा प्रचण्डलाई भेटेर पार्टी एकता गरौं भन्न थाले।’

स्रोतका अनुसार डा. बाबुराम भट्टराई प्रचण्डसँग पार्टी एकता गर्न धेरै पहिलेदेखि तयार भएका हुन्। तर, माओवादी नेता नारायणकाजी बाबुरामलाई पार्टीमा भित्र्याउन चाहँदैनन्। त्यस्तै वामदेवलाई पनि साथ लिएर पार्टी नफस्टाउने नारायणकाजी लगायतका नेताहरुको धारणा रहेको स्रोतले नेपालखबरलाई बतायो।

माधव नेपाल र प्रचण्डबीच मोर्चा वा एकता संयोजन समिति बनाएर अघि बढ्ने छलफल भइरहेका बेला वामदेवले एक्कासी पार्टी एकता नै गरिहाल्ने र समाजवादी केन्द्र बनाउने प्रस्ताव ल्याएको छलफलमा सहभागी नेताहरु बताउँछन्। बाबुराम भट्टराईले पनि समाजवादी केन्द्र बनाउन प्रस्ताव गरेको गठबन्धनमा सहभागी नेताको भनाइ छ।

उता, नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले समाजवादी शक्तिवीच तालमेलका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल चलाएको बुझिएको छ। स्रोत भन्छ, ‘उपेन्द्र यादवचाहिँ तत्कालै पार्टी एकता नगरौं, मोर्चा बनाएर चुनावमा मिलेर जाऔं भन्ने पक्षमा थिए, बाबुरामले एक कदम अघि सरेर माओवादीसँग पार्टी एकताकै प्रस्ताव राखे।’

अब के हुन्छ त ?
के अब चुनावअघि नै प्रचण्ड–माधव नेपालबीच पार्टी एकता होला त ? यसका लागि एकता संयोजन समितिसम्म बन्न सक्ने नेताहरु बताउँछन्। एकता संयोजन समिति वा मोर्चा बनाएर एउटै चुनाव चिन्हमा अघि बढ्ने तयारी भइरहेको नेताहरुको भनाइ छ।

‘गत चुनावमा जस्तो एमाले र एकीकृत समाजवादीबीचको तिक्तता अहिले नरहेको एक नेताले बताए। उनले भने, ‘पहिले एकले अर्काको कुरै नसुन्ने अवस्था थियो। केपी ओली माधव नेपालको नाम लिएपछि मुख कुल्ला गर्छु भन्थे, अहिले दुबै पक्षका नेताहरु विगतलाई बिर्सेर मिलौं भन्ने ठाउँमा आइपुगेका छन्।’

तर, ओली–माधव सम्बन्धमा सुधार देखिए पनि चुनावअघि नै दुबै समूह एक ठाउँमा आइहाल्ने  सम्भावना भने कमै रहेको नेताहरु बताउँछन्। यसका पछाडि केही कारण छन्–

एक– तत्कालै माओवादीले कांग्रेससँगको गठन्धन टुटाउन चाहिसकेको छैन। माओवादीले कांग्रेसको साथ छाडेर एमालेसँग मिल्ने निर्णय नगर्दासम्म ओली–माधवबीच भेट हुन गाह्रो छ।

दोस्रो– कांग्रेसले आफूसँग रहेका प्रचण्ड–माधवलाई एमालेतिर ढल्कन दिइरहेको छैन। वामपन्थी एकता नहोस् भन्ने देशी–विदेशी दुबै ‘फोर्स’को चाहना छ। उनीहरु अहिलेको सत्ता गठबन्धनलाई कायमै राखेर कांग्रेसलाई एकल बहुमत दिलाउन चाहन्छन्।

तेस्रो– तत्कालै एमालेसँग तालमेल गर्नका लागि माओवादी–एमालेबीच विश्वासको वातावरण बन्न सकेको छैन। विगतमा आलोपालो प्रधानमन्त्रीको लिखित सम्झौता गरेर पनि ओलीले नमानेका कारण अब लिखित सम्झौता नै गरे पनि प्रचण्डलाई ओलीले विश्वास दिलाउने स्थिति देखिँदैन। यसको उल्टो, कांग्रेसले प्रचण्डलाई प्रथम कार्यकालमै प्रधानमन्त्री दिने सम्भावना जिवीतै छ।

चुनावपछि गठबन्धनको प्रधानमन्त्री प्रचण्ड कि आरजू?

यी तीन कारणले गर्दा एमालेसहितको वाम गठबन्धन तत्काल चुनौतीपूर्ण रहेको नेताहरु बताउँछन्। योबेला एमाले–माओवादीबीच विश्वास आर्जन गराउनका लागि मध्यस्थ भूमिका खेल्नेहरुको पनि अभाव खड्किएको छ।

अब के हुन्छ त भन्ने विश्लेषण गर्दा कांग्रेसले खासगरी माओवादी अध्यक्ष प्रचण्डलाई चुनावपछिको पावर सेयरिङमा विश्वस्त पार्न सकेन भने कांग्रेस–माओवादी गठबन्धन पनि कसिलो हुन नसक्ने एक नेताले बताए।

माओवादीका ती नेताले नेपालखबरसँग भने, ‘त्यो अवस्थामा ‘स्थानीय आवश्यकताका आधारमा कतै कांग्रेससँग त कतै एमालेसँग तालमेल गरेर जानुपर्ने आवस्था पनि नआउला भन्न सकिँदैन।’

त्यसो त एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले पनि आगामी चुनावपछि मात्रै पावर सेयरिङमा छलफल हुन सक्ने स्पष्ट संकेत गरेका छन्।

नेपालखबरसँगको अन्तरवार्तामा ज्वालाले भने, ‘गठबन्धन र चुनावी तालमेल हुने भनिएका दलहरुसँग अहिले नै एक प्रकारको पावर सेयरिङ पनि हुनसक्छ। या अहिले मेजर पोस्टमा पावर सेयरिङ चुनावी तालमेल वा एकता हुन्छ। चुनावपछि परिणाम आइसकेपछि पावर सेयरिङको कुरा हुन सक्छ। प्रधानमन्त्री, राष्ट्रपति, सभामुख लगायतका पदमा अहिले नै टुंगो लाग्न पनि सक्छ, चुनावपछि पनि लाग्न सक्छ। प्रमुख कुरा चाँहि चुनावमा मिलेर जाने कुरा नै हो, त्यसका लागि पहल भइरहेको छ।’

समाजवादी केन्द्रमा एमाले अटाउँदैन, वामदेव  र बाबुराम अटाउँछन् : प्रकाश ज्वाला (अन्तर्वार्ता)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .