ad ad

अन्तर्वार्ता


समाजवादी केन्द्रमा एमाले अटाउँदैन, वामदेव  र बाबुराम अटाउँछन् : प्रकाश ज्वाला (अन्तर्वार्ता)

‘प्रधानमन्त्री लगायतका पदमा पावर सेयरिङ चुनावी परिणाम आइसकेपछि हुन सक्छ’
समाजवादी केन्द्रमा एमाले अटाउँदैन, वामदेव  र बाबुराम अटाउँछन् : प्रकाश ज्वाला (अन्तर्वार्ता)

रुपक चौलागाईं
साउन ७, २०७९ शनिबार ११:२३, काठमाडौँ

सत्तारुढ गठबन्धनका वाम घटक तीन दल पछिल्ला केही दिनयता ‘समाजवादी केन्द्र’ निर्माणको अभियानमा जुटेका छन्। वामदेव गौतम र डा. बाबुराम भट्टराईसमेत तयार भएपछि तत्कालीन नेकपाकालीन सचिवालयका बहुमत सदस्यसहितका शीर्षनेताहरु आन्तरिक छलफलमा छन्।

गत २०७४ सालको प्रदेश र प्रतिनिधिसभामा एमाले र माओवादी केन्द्रबीच भएको एकताको ‘झल्को’ दिने गरी शीर्ष नेताहरु छलफलमा जुटेका हुन्। सकेसम्म पार्टी एकता नै गर्ने, नसके चुनावी तालमेल गर्नेसम्मको तयारी भएको नेताहरु बताउँछन्।

बिहीबार (५ असार)मा ललितपुरको हात्तीवनस्थित एक हाउजिङमा माओवादीका अध्यक्ष प्रचण्डले बाबुरामसमक्ष राखेको प्रस्तावमा उनले माओवादीको नाम फेरेर अघि बढ्नुपर्ने बताएका थिए।

नाममा आपत्ति जनाएका बाबुरामले आफू निकट नेताहरुसँगको छलफलपछि शुक्रबार ट्वीट गर्दै एकतामा सकारात्मक रहेको सन्देश दिएका छन्।

एमालेबाट विभाजित भएका माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र बाबुराम नेतृत्वको जनता समाजवादीसहितका दलहरु एक भएर चुनावमा अघि बढ्ने नेताहरुको दाबी छ।

एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाका अनुसार कम्युनिस्ट आन्दोलनलाई धोका दिएका कारण तत्काल यसमा नेकपा एमाले भने समावेश हुन सक्दैन। तर, एमालेभित्रका केही क्रान्तिकारी विचार भएकाहरुलाई भने समावेश गरेर अघि बढ्न सकिने ज्वालाले नेपालखबरलाई बताए।

वाम एकता गरेर चुनाव गठबन्धनमा जान सकिने भए पनि प्रधानमन्त्री, राष्ट्रपति सभामुख जस्ता मुख्य पदहरुमा चुनावको परिणाम आएपछि मात्रै पावर सेयरिङ हुन सक्ने ज्वालाले बताए ।

समाजवादी केन्द्र निर्माण अभियानका लागि भइरहेका छलफलमा सक्रिय रहेका एकीकृत समाजवादीका नेता ज्वालासँग नेपालखबरले गरेको संक्षिप्त कुराकानी

माओवादी, एकीकृत समाजवादी र जसपा मिलेर ‘नेकपा समाजवादी केन्द्र’ बन्न लागेको हो?

यतिबेला समाजवादी केन्द्र निर्माण गर्नका लागि पहल र प्रयास सुरु भएको छ। हामी खासगरी नेकपा एकीकृत समाजवादीले राष्ट्रियस्तरको कार्यक्रम गर्‍यौं । केन्द्रीय परिषदको पहिलो बैठकबाट पनि वृहत वाम एकताको लागि सबैलाई अपिल गर्नेगरी प्रस्ताव पारित गरेका छौं।

राष्ट्रको अग्रगति, स्थिरता र समाजवादको निम्ति वाम एकताको खाँचो छ भन्ने कुरालाई महसुस गरेर समाजवाद निर्माणको निम्ति जुन–जुन कम्युनिस्ट पार्टी प्रतिवद्ध छन्, उनीहरुका बीचमा समाजवादी केन्द्र स्थापना गरेर वाम आन्दोलनलाई एकताबद्ध बनाऔं भन्ने उद्देश्यका साथ यो सुरु भएको छ।

के आगामी आम निर्वाचनअघि नै पार्टी एकता हुन्छ ?

हामीले तत्कालै समाजवादी विचार राख्ने, समाजवादलाई लक्ष्य बनाउने, वाम प्रगतिशील शक्तिलाई एउटा वाम समाजवादी मोर्चाको रुपमा एकतावद्ध गर्दैछौं। त्यो मोर्चा नै भोलि चुनावी मोर्चाको रुपमा निर्वाचन लड्ने गरी पहल गरिरहेका छौं। यो निर्वाचन अघि नै अगाडि बढ्छ र निरन्तर रुपमा अघि बढाएर बलियो बनाउँदै समाजवादी केन्द्रमा अरु धेरै शक्तिलाई समेट्दै एउटा सशक्त बलियाे समाजवादी केन्द्रको रुपमा स्थापित गर्छौं।

डा. बाबुराम भट्टराईसँग समेत यस विषयमा छलफल भइरहेको बताइरहनुभएको छ। उहाँले त यसअघि नै ‘कम्युनिस्ट’ छाडेको घोषणा उहाँले गर्नुभएको थियो। कम्युनिस्ट नाम राखेर कसरी एकता सम्भव होला?

यसका निश्चित आधार छन्, निश्चित मान्यता छन्। ती आधार र मान्यता स्वीकार गर्ने, वामपन्थी विचार राख्ने, समाजवादलाई लक्ष्य बनाउने र प्रगतिशिल सोच राख्ने कुनै पनि ब्यक्ति वा शक्तिलाई समाजवादी केन्द्रमा समेट्न सक्छौं। किनभने, पार्टीको रुपमा मात्र नभई लुज खालको वाम प्रगतिशील समाजवादी केन्द्रको रुपमा स्थापना गरिने भएको हुनाले आउन सक्ने र अटाउन सक्ने व्यक्तिलाई समेट्न सक्छौं।

वामदेव गौतम पनि एकताका लागि भनेर लागिरहनुभएको छ। उहाँसहित अटाउने गरी लाग्नुभएको हो?

बाबुरामजस्तै वामदेवको पनि विषय एउटै हो। यो मान्यतामा सहमत हुँदा यो अभियानमा सहभागी भएर अगाडि बढ्न तयार भएपछि सबै समेटिन सक्नुहुन्छ।

स्थानीय तहको निर्वाचनमा कमजोर नतिजा आएपछि अन्ततः यो निर्णयमा तपाईंहरु पुग्नुभएको हो?

स्थानीय तहमा हामीले सोचेजस्तो परिणाम आएन भनेर हाम्रो पार्टीले त्यसको निष्कर्ष पनि निकालिसकेको छ। हाम्रो पार्टी भर्खरै स्थापना भएको, संगठन व्यवस्थित भइनसकेको र अलि बढी गठबन्धनमा भर परेको कारणले नतिजा राम्रो नआएको हो। तर पनि हामी निराश भइहाल्नुपर्ने अवस्था पनि छैन। हामी दीर्घकालीन रुपमा जसरी समाजवादको लक्ष्यमा पुग्ने ध्येय र उद्देश्यका साथ अघि बढेका छौं त्यसलाई सहयोग पुर्याउने खालका कुनै पनि काम गर्न हामी तत्पर नै छौं।

तपाईहरु स्थानीय चुनावअघिदेखि नै माओवादी केन्द्रसँग ‘सती’ जान लागेको भन्ने आरोप लागेको थियो। किन ‘सती’ जान लाग्नुभएको?

हामी कतै ‘सती’ जान वा मिसिनका लागि यो विद्रोह गरेको वा पार्टी निर्माण गरेको होइनौं। कम्युनिस्ट आन्दोलनलाई जुन किसिमले धोका भयो त्यसलाई जोगाउनका लागि हामीले विद्रोह गरेका थियौं। पार्टी जुन उद्देश्य र विचारका आधारमा गठन गरेका थियौं, त्यसै आधारमा हामी पार्टीलाई अघि बढाउँछौं।

हिजो नेकपा एमाले र नेकपा माओवादीका बिचमा एकता भएको थियो। नेकपा पनि निर्माण भएको थियो।

नेकपा निर्माण गर्ने बेलामा जुन उद्देश्य राखेका थियौं त्यसमा प्रहार भयो। त्यो कम्युनिस्ट आन्दोलनका लागि ठूलो दुर्घटना थियो। हिजोकै नेकपा बन्न सक्ला नसक्ला तर कमसेकम विभाजित कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नु कुनै पार्टी विशेष किटान गरेर भन्न खोजेका होइनौं।

जोसँग हाम्रो विचार र सिद्धान्त मिल्छ, संगठनात्मक संरचनाको हकमा हामी एक ठाउँमा छौं भने एकता गर्दै अघि बढ्न सक्छौं भन्ने निष्कर्ष हो। मार्क्सवाद, लेनिनवादलाई मार्गदर्शक सिद्धान्तलाई कुन पार्टीले मान्छ, या समाजवादको लक्ष्य र क्रान्तिमा कुन पार्टी तयार छ भन्ने कुरालाई मुल्यांकन गर्नेछौं। त्यसमा विचार, सिद्धान्त, कार्यक्रम र कार्यदिशा मिल्ने कम्युनिस्ट पार्टीसँग एकता पनि हुनसक्छ। अहिले तत्काल सबैकुरा नमिल्ने बेलासम्म समाजवादी केन्द्रको मोर्चा बनाएर अघि बढाउँछौं।

यो समाजवादी केन्द्रमा नेकपा एमालेचाहिँ अटाउँदैन?

अहिलेकै पोजिसनमा जसरी कम्युनिस्ट आन्दोलनलाई धोका दियो, कम्युनिस्ट पार्टीलाई विभाजित गरियो, जसरी आन्दोलनबाट प्राप्त भएका उपलब्धिमाथि प्रहार गरियो, यो चरित्र कायम रहने बेलासम्म त्यस्ता चरित्र बोकेकालाई सँगै लिएर जान सकिने अवस्था हुँदैन।

माओवादीसँगको एकतालाई लिएर तपाईंकै पार्टीभित्रबाट पनि भित्रबाट पनि ‘पुरानै घरमा फर्कन’ तयार भएका कुराहरु सुनिन थालेका छन् नि?

अहिले भर्खरै कुनै दल वा व्यक्तिसँग एकता गरिहाल्ने निष्कर्षमा हामी पुगेको होइन। हामीले अहिले केवल समाजवादी केन्द्र निर्माण गरौं, वाममोर्चा बनाऔं र निर्वाचनमा जाऔं भनेका हौं। त्यसलाई अझै विश्वासिलो आधार बनाउन पार्टी एकता समिति बनाएर अभ्यास अघि बढाउँछौं। त्यसको एक किसिमले होमवर्क सुरु हुन्छ। त्यो कुरा हाम्रो पार्टीमा एकमत छ। यसमा अहिले पार्टीमा कुनै विवाद वा असमझदारी छ जस्तो मलाई लाग्दैन।

बरु, समाजवादी केन्द्र बलियो बन्यो, कम्युनिस्ट पार्टीहरु एकतावद्ध हुन थाले र बलियो शक्तिको रुपमा हामी स्थापित भयौं भने एमालेमा असन्तुष्ट भएर पाखा लगाइएका सही क्रान्तिकारीहरु हाम्रो पार्टीमा समाहित हुने संभावना बढ्छ। अहिले एमालेमा हाम्रो पार्टीबाट असन्तुष्ट भएर जाने कुनै संकेत छैन।

अबको निर्वाचनमा जाँदा तपाईंहरुका तर्फबाट प्रधानमन्त्रीका रुपमा कसलाई अघि सार्नुहुन्छ?

पहिलो त कुन कुन दलसँग चुनावी तालमेल र गठबन्धन हुन्छ भन्ने महत्वपूर्ण कुरा हो। त्यो अहिले नै फाइनल पनि भएको छैन। जस्तो हिजोको पाँच दलको बीचमा जो गठबन्धन थियो, त्यसलाई पनि निरन्तरता दिने कुरा हामीले गरेका छौं। त्यसभित्र पनि कतिपय वामपन्थी र समाजवादी शक्तिहरुको बीचमा मोर्चा बनाएर जाने भनेर निश्कर्ष निकालेका छौं। अर्को, वाम एकताको निम्ति पहल गर्ने कुरा गरेका छौं।

त्यस्तो अवस्थामा गठबन्धन र चुनावी तालमेल हुने भनिएका दलहरुसँग अहिले नै एक प्रकारको ‘पावर सेयरिङ’ पनि हुनसक्छ। या अहिले मेजर पोस्टमा ‘पावर सेयरिङ’ चुनावी तालमेल वा एकता हुन्छ। चुनावपछि परिणाम आइसकेपछि ‘पावर सेयरिङ’को कुरा हुनसक्छ।

त्यसकारण दलहरुको बिचमा अहिले नै प्रधानमन्त्री, राष्ट्रपति, सभामुख लगायतका पदमा अहिले नै टुंगो लाग्न पनि सक्छ, चुनावपछि पनि लाग्न सक्छ। प्रमुख कुरा चाँही चुनावमा मिलेर जाने कुरा नै हो, त्यसका लागि पहल भइरहेको छ।

०७४ सालमा एमाले र माओवादी एक हुँदा कम्युनिस्टहरुमा देखिएको उत्साह समाजवादी केन्द्र बन्दा आउला?

निश्चय नै हो। जसरी एउटा इतिहासमा हेर्दा कम्युनिस्ट पार्टीहरु जति जति बेला मिल्दै गए, जतिबेला एकतावद्ध भए त्यतिबेला जनतामा पनि उत्साह आयो। कम्युनिस्ट आन्दोलन पनि अगाडि बढ्यो। लोकतान्त्रिक र राष्ट्रियताका सवालहरु पनि बलियो हुँदै गयो। जनजीविकाको सवालहरु पनि सम्बोधन भए। त्यसकारण यो राष्ट्रले कम्युनिस्टहरु एकताबद्ध भएको, देशभरका प्रगतिशील शक्तिहरु एक भएको हेर्न चाहन्छ। हामी एक भएर अघि बढ्यौं भने हाम्रो आन्दोलन र पार्टीमा उर्जा थपिन्छ र पुनर्जागरण थपिन्छ भन्ने विश्वास गरेका छौं।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .