राजनीति


चुनावपछि गठबन्धनको प्रधानमन्त्री प्रचण्ड कि आरजू?

चुनावपछि गठबन्धनको प्रधानमन्त्री प्रचण्ड कि आरजू?

सागर न्यौपाने
साउन ६, २०७९ शुक्रबार २१:५१, काठमाडौँ

भारतको तीन दिने भ्रमण (३१ असार–१ साउन)  सकेर नेपाल फर्केपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकसाथ दुईवटा काम गरिरहेका छन्।

पहिलो– जसपाका नेता डा. बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र अर्का नेता वामदेव गौतमसँग पार्टी एकता गर्ने योजनासहित निरन्तर संवाद।

दोस्रो– नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धन आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनसम्मै कायम राख्ने अडान।

प्रचण्ड कम्तीमा प्रतिनिधिसभा र प्रदेश चुनावअघि पार्टी एकता गर्न वा मिनी वाम गठबन्धन बनाउन चाहन्छन्।

नेकपा (राष्ट्रिय एकता अभियान)का संयोजक वामदेव गौतम लगायत नेकपाकालीन पाँच नेताहरुबीच यसैका लागि छलफल चलिरहेको छ।

स्थानीय निर्वाचनपछि प्रचण्डले अब आफू सत्ता निर्माणमा निर्णायक शक्ति बन्ने विश्लेषण गरेका छन्।

भारत भ्रमणबाट उत्साहित
साउन १ मा भारत भ्रमणबाट फर्किएका प्रचण्डले आफ्नो भ्रमण निकै सफल भएको दाबी गर्दै भनेका छन्, ‘सरकार र भाजपाले जुन–जुन सम्मान र सुरक्षाको प्रबन्ध मिलायो, यो त प्रधानमन्त्रीलाई भन्दा कम थिएन। समग्रमा मैले सोचेभन्दा राम्रो भ्रमण भएको महसुस भएको छ।’

तथापि प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न पाएका थिएनन्। भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जगतप्रसाद नड्डाको निमन्त्रणामा भारत भ्रमण गएका उनले मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भने पोलिसी लेभल (नीतिगत तहमा) छलफल र समझदारी बनेको बताएका थिए।

‘दुई घण्टा अजित डोभालसँग भएको भेट निक्कै महत्वपूर्ण रह्यो,’ उनले भने, ‘खुलेर समस्या सम्भावना, अवसर र चुनौतीबारे कुराकानी भएको छ। मैले तेलको मूल्य, खाद्यान्न र डुबानबारे पनि कुरा उठाएको छु। केही दिनमा प्रगति हुन्छ।’

दिल्लीबाट फर्कनासाथ वाम एकताको पहल
प्रचण्डले भनेको त्यो प्रगति कहिलेबाट सुरु हुन्छ ? त्यो त खुलेको छैन। तर, नेपाल फर्किएपछि उनी एकाएक वाम एकताको कसरतमा लागेका छन्।

प्रचण्डले ६ साउन बिहान जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग २ घण्टा छलफल गरे। त्यसक्रममा उनले तीन बाम घटकलाई मिलाएर नेकपा समाजवादी केन्द्र बनाउन प्रस्ताव गरे। प्रचण्डको प्रस्तावमा भट्टराई सकारात्मक छन्।

माधवकुमार नेपाल पनि एकताका लागि तयार छन्। तर, माधव पार्टी एकता गर्ने कि अहिले मोर्चा बनाएर जाने? ठोस निष्कर्षमा नपुगेको उनी पक्षीय नेताहरु बताउँछन्।

कांग्रेससँग पनि साँठगाँठ कायमै
प्रचण्डले वाम एकताको पहल थाले पनि कांग्रेससहितको पाँचदलीय गठबन्धन पनि सँगैसँगै अगाडि बढाइरहेका छन्। आगामी चुनावसम्मै गठबन्धन कायम रहने प्रचण्डले प्रष्ट पारिसकेका छन्।

त्यसो भए भारत भ्रमणबाट प्रचण्डले पाएको सन्देश के हो त?

‘पार्टी टू पार्टी रिलेसन’ (भाजपा–माओवादी केन्द्र) विस्तार गर्ने भाजपाको रणनीति र प्रचण्ड अबको वेटिङ पीएम (प्रतीक्षारत प्रधानमन्त्री) भन्ने एकथरिको विश्लेषण छ,’ माओवादीका एक नेताले नेपालखबरसँग भने।

त्यही भएर प्रचण्ड गठबन्धन मात्र होइन, आफ्नो आन्तरिक शक्ति पनि बलियो बनाउनुपर्ने निष्कर्षमा पुगेका छन्।

छरिएका कम्युनिष्टलाई एकै ठाउँ ल्याएर बढी सिट जित्ने, कांग्रेसलाई एक्लै बहुमत पुग्न नदिने उनको योजना देखिन्छ।

कांग्रेसले एकल बहुमतसहित गठबन्धन गर्ने निर्णय गरिसकेको छ।

तर, प्रचण्ड कांग्रेसलाई साइजमा ल्याएर पहिलो पार्टी बनेको हेर्न चाहन्छन्। किनभने, उनलाई मंसिरपछि प्रधानमन्त्री बन्नुछ।

सो कुरा प्रचण्डले ६ साउनमा खुलासा गरिसकेका छन्। पार्टी कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीका नेतालाई स्वागत गर्दै प्रचण्डले संघ र प्रदेशको निर्वाचनमा माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने बताए।

‘आउने निर्वाचनमा अब माओवादी पार्टीलाई देशको बागडोर फेरि एकपटक आफ्नो हातमा लिन कसैले रोक्ने छैन,’ प्रचण्डले भने।

मंसिरपछि प्रधानमन्त्री बन्न प्रचण्डलाई सोचेजस्तो सजिलो छैन।

किन त? केही तथ्यलाई हेरौँ।

बहुमत ल्याउन नेपाली कांग्रेसले पाँचदलबीच गठबन्धन गर्ने निर्णय गरिसकेको छ। तर, उसको सर्त छ–गठबन्धन पाँचैवर्ष राख्नुपर्छ। नेतृत्व पनि आफ्नै हुनुपर्छ।

कांग्रेसका एक पदाधिकारीले नेपालखबरलाई बताएअनुसार आफ्नै नेतृत्वमा सरकार बन्ने, भविष्यमा समस्या नपर्ने गरी गठबन्धन गर्नेछ त्यसबारे लिखित समझदारी हुनेछ।

‘हामी साझा नीति तथा कार्यक्रमसहित गठबन्धन बनाउँछौं, पाँच वर्ष कांग्रेसले नै सरकारको नेतृत्व गर्छ,’ कांग्रेसका पदाधिकारीले भने, ‘हाम्रै नेतृत्वमा पाँच वर्ष सरकारमा रहने सुनिश्चित भएपछि मात्र गठबन्धन गछौँ।’

बाम एकताको हल्लाबाट कांग्रेस सचेत छ।

‘हामी सर्तसहित गठबन्धन गछौँ, चुनाव हामीसँग मिलेर जित्ने अनि एमालेसँग मिलेर सरकार बनाउने, सरकार ढाल्ने खेल हुनसक्छ, हाम्रो बैशाखी लिएर चुनाव जित्ने, भोलि अर्कैसँग लाग्दा के हुन्छ ? त्यसमा कांग्रेस सचेत छ,’ ती पदाधिकारीले थपे।

त्यसो त, सभापति शेरबहादुर देउवाले ल्याउने नयाँ प्रस्तावले कांग्रेसको अहिलेको रणनीति फेरिन सक्ने देउवा पक्षीय अर्का नेताले बताए।

‘परिस्थिति चेञ्ज भयो भने, अर्काे रणनीति बन्छ,’ ती नेताले भने, ‘गठबन्धनको विकल्प छैन, त्यसबेला नयाँ समझदारी बन्न सक्छ।’

यसअघि २० साउन २०७३ देखि १० जेठ २०७४ सम्म प्रचण्ड र ०७४ मंसिरसम्म देउवा आलोपालो प्रधानमन्त्री भएका थिए।

त्यसबेला सहमतिअनुसार प्रचण्डले देउवालाई सत्ता छोडेकोले यसपटक पनि त्यस्तै सहमति बन्ने सम्भावना पनि छ।

त्यसलाई देउवा पक्षीय नेताले स्वीकार गरे।

अहिले बाम गठबन्धनको कुरा उठिरहेको छ। कांग्रेसले यी कम्युनिष्टहरुको व्यवहार हेरिरहेको छ, परिस्थिति हामीबाट बाहिर जान नदिन कुनै नयाँ सहमति गरेर जान सकिन्छ,’ देउवा पक्षीय ती नेताले थपे।

कांग्रेसमा को हो प्रधानमन्त्री ?
महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीका लागि तयार छु भनेर बताएपछि काँग्रेसका तेस्रो तहका नेताहरु निकै उत्साहित छन्।

उनीहरु आफ्नो पालो पाउन पनि युवा, भरपर्दा नेता गगनलाई प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा छन्। तर,अहिले कांग्रेसमा सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीका दाबेदार छन्।

‘हाम्रो पार्टीबाट प्रधानमन्त्रीको दाबेदार शेरबहादुरजी नै हो,’ ती नेताले भने।

रामचन्द्रसँग आलोपालो प्रस्ताव
एकल बहुमत ल्याए र अर्काे कुनै पार्टीसँग मिल्न नपर्ने अवस्था बने वरिष्ठ नेता रामचन्द्र पौडेललाई आधा कार्यकालको प्रधानमन्त्री बनाउनुपर्ने सुझाव देउवालाई दिएका छन्।

‘साथीहरुले रामचन्द्र पौडेलजीलाई आधा कार्यकाल प्रधानमन्त्री बनाउने कि भनेर प्रस्ताव पनि गर्नुभएको छ,’ देउवालाई दिइएको सुझाव उद्धृत गर्दै अर्का नेताले भने, ‘त्यसबेला शेरबहादुर जीले अहिले हतार छैन, त्यसबारेमा पछि सोच्न सकिन्छ भन्नुभयो।’

‘कांग्रेसबाट शेरबहादुर होस् वा रामचन्द्र? हामी आफ्नै नेतृत्वमा सरकार बनाउँछौं। कसैले दायाँ बायाँ गर्छ भने हामी स्वीकार गर्दैनौँ।’

 

प्रचण्ड–आरजू आलोपालो प्रधानमन्त्री ?
नेपालखबरले प्राप्त गरेको विशेष सूचना अनुसार माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस नेतृ आरजू राणा देउवाबीच आलोपालो प्रधानमन्त्री बन्ने समझदारी बनिसकेको छ।

कुनै कारणले सो समझदारी नभत्किए मंसिरपछिको २ वर्षको पहिलो कार्यकालको प्रधानमन्त्री प्रचण्ड बन्नेछन् भने त्यसपछिको तीन वर्ष आरजूले नेतृत्व गर्नेछिन्।

आरजूलाई कैलालीको कुनै निर्वाचन क्षेत्रबाट जिताएर प्रतिनिधि सभामा ल्याउने तयारी छ।

०७४ मा उनी कैलाली क्षेत्र नम्बर ५ मा एमालेका नारदमुनि रानासँग पराजित भएकी थिइन्। रानाले २७ हजार २०२ मत ल्याउँदा आरजूले २२ हजार ३२२ मत ल्याएकी थिइन्।

‘प्रचण्डलाई पहिलो कार्यकालको २ वर्ष र आरजूलाई त्यसपछिको ३ वर्ष प्रधानमन्त्री बनाउने सहमति जुटिसकेको छ,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘कुनै कारणले नरोकिए यो सहमति कार्यान्वयन हुने देखिन्छ।’

यही सूचना पाएर हुनसक्छ, कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मोर्चाबन्दी गरेका छन्।

शर्माले गगनलाई अगाडि बढ्न सुझाव मात्र दिएका छैनन्, साथमै रहेको बताएका छन्।

कांग्रेसभित्रको यही अप्ठेरो अवस्थालाई बुझेका देउवालाई गठबन्धनको साथ लिएर आरजूलाई प्रधानमन्त्री बनाउने रणनाीतिमा छन्।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने अहिलेसम्म गठबन्धका बीचमा को प्रधानमन्त्री नभएको बताए।

‘हामीले बसेर छलफल गरेका छैनौँ, त्यसबारेमा सल्लाह नै भएको छैन,’ खड्काले नेपालखबरसँग भने, ‘गठबन्धनको छलफलले कस्तो आकार लिन्छ, हेरौं।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .