राजनीति


४३ वर्षपछि ‘सामाजिक सुधार ऐन’ परिमार्जनको प्रकृया सुरु

४३ वर्षपछि ‘सामाजिक सुधार ऐन’ परिमार्जनको प्रकृया सुरु

नेपालखबर
मंसिर २०, २०७६ शुक्रबार १०:३९,

सामाजिक (व्यवहार) सुधार ऐन २०३३ को प्रभावकारी कार्यान्वयन नहुँदै समयानुकुल परिवर्तनको आवाज सबै तिर उठ्न थालेको छ। संघीय संसद् राष्ट्रिय सभा अन्तर्गत बिधायन ब्यबस्थापन समितिले विज्ञहरुसँग छलफल सुरु गरेको छ।

शुक्रबार संघीय संसद सचिवालयमा भएको छलफलमा पुरानो ऐनको सांस्कृतिक, कानुनी, आर्थिक, राजनीतिक र सामाजिक पक्षमा विज्ञहरुले परिमार्जन गर्नु पर्ने सुझाव दिएका छन्। छलफलमा विज्ञहरुले परिमार्जनको आवश्यकता साझा रुपमा उठाए पनि कार्यान्वयनको बाटो भने फरक फरक देखाएका छन्। छलफलमा राजनैतिक सामाजिक विश्लेषक हरि रोक्काले सामाजिक (व्यवहार) सुधार ऐन २०३३ लाई संघीय संसदले परिमार्जन गरी प्रदेश संसदलाई बनाउन दिनुपर्ने सुझाव दिए। यो ऐन लागु हुन वा प्रभावकारी कार्यान्वयन हुन नसक्नु भनेको अधिकार प्रत्यायोजन हुन नसकेर हो भन्दै विश्लेषक रोक्काले संघले ऐन बनाएर गल्ति नगर्न आग्रह गरे।

छलफलमा नेकपाका सांसद र कांग्रेसका सांसदबीच भने मत बाझिएको छ। ऐनको सफल कार्यान्वयनलाई आर्थिक दण्ड लगाउने र करको दायरामा ल्याउने विषयमा मत बाझिएको हो। नेकपाका सांसद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आम्दानी अनुसारको खर्च गर्न छुट दिनुपर्ने भन्दै खर्चमा कर लगाएर नियमन गर्न सकिने धारणा राखे। तर नेपाली कांग्रेसका नेता तथा सांसद डा मिनेन्द्र रिजालले आर्थिक दण्डले ऐन कार्यान्वयन गराउन नसकिने तर्क गरे।

२०३३ सालमा बनेको यो ऐन अहिले पनि लागु छ तर यस अनुसारको ब्यबहार न त जनताले गरेका छन् न सरकारले प्रभावकारी कार्यान्वयन नै गरेको छ। बरु ऐनले तोकेको ब्यबस्थालाई कानून कार्यान्वयन गर्ने तहमा बसेकाहरुले नै उल्लंघन गरेको देख्न पाइन्छ। छलफलमा बिधायन ब्यबस्थापन समितिका सदस्य ब्रिशेष चन्द्र लालले ठुलो ओहोदामा बसेकाहरुले नै कानुन नमानेको कारण सामाजिक (व्यवहार) सुधार ऐन लागु हुन नसकेको बताए। सरकारले कानुन किन लागु भएन भनेर पनि नखोजेको तर्क गरे।

सामाजिक (व्यवहार) सुधार ऐनमा विवाह भोजमा ५१ जनाभन्दा बढीलाई बोलाउन नपाइने र भड्किलो रूपमा बत्ती बाली घर सजाउन नपाइने ब्यबस्था छ। ऐनमा छैठी, न्वारान, जन्म दिवस, पास्नी, चूडाकर्म र व्रतबन्ध आदिमा नातेदारबाहेक २५ जनाभन्दा बढीलाई बोलाउन नपाइने पनि ब्यबस्था छ। काजकिरिया, श्राद्ध वा अन्य कार्यमा नातेदार र मलामीबाहेक २५ जनाभन्दा बढीलाई बोलाउन नपाउने प्रावधान ऐनमा छ । तर यसैलाई लत्याउदै सबै सांस्कृतिक चाड पर्व उत्सव भड्किलो बन्दै गएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad