ad ad

राजनीति


वाम गठबन्धनको नजिर : एमाले १०४, माओवादी ५८

वाम गठबन्धनको नजिर : एमाले १०४, माओवादी ५८

नेपालखबर
साउन ३, २०७९ मंगलबार १९:९, काठमाडौँ

प्रतिनिधिसभामा प्रत्यक्षतर्फका १६५ सिटको भागवण्डा कसरी मिलाउने भन्नेमा सत्ता गठबन्धन दल अलमलमा परेका छन्। फुटेको जसपासहित ६ भाग लगाउनुपर्ने चटारो शेरबहादुर देउवा, प्रचण्ड र माधव नेपाललाई छ।

नेपाली कांग्रेसले आफूलाई एक्लै बहुमत पुर्याउने गरी एक सय सिट मागेको र बाँकी ६५ सिट साझेदार दललाई दिन चाहेको नेताहरु बताउँछन्। माओवादी, एकीकृत समाजवादीले भने काँग्रेस–कम्युनिस्ट बराबर ८३/८२ सिट बाँड्नुपर्ने भन्दै सौदाबाजी गरिरहेका छन्।

फुटेको जसपाका दुवै समूह कांग्रेससँगै भाग खोज्ने पक्षमा छन्। यहीबीचमा प्रचण्ड–बाबुरामबीच पार्टी एकताका लागि वार्ता पनि सुरु भएको छ। सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा चाहिँ प्युठानको पुरानै एक सिट बचाउने रणनीतिमा छ।

विगत २०७४ को आम चुनावमा एमाले र माओवादी केन्द्रले चुनावी गठबन्धन बनाएका थिए। आखिर उनीहरुले १६५ सिटमध्ये कति–कति सिट भाग लगाएका थिए? 

एकपटक विगततिर फर्केर हेरौं–
गत चुनावमा एमाले र माओवादीले १६२ सिटमा साझा उम्मेदवार उठाएका थिए। जनमोर्चाले उम्मेदवारी दिएको प्युठान, राप्रपाका राजेन्द्र लिङदेन उठेको झापा–३ र कांग्रेसका अमरेश कुमार सिंह उठेको सर्लाही–४ मा एमाले–माओवादीका उम्मेदवार थिएनन्।

कूटनीतिक पासपोर्ट दुरुपयोग काण्डले गर्दा सर्लाही–४ मा माओवादीका उम्मेदवार शिवपुजन रायको उम्मेदवारी खारेज भएको थियो।

सर्लाही–४ को उम्मेदवारी खारेज भएपछि कुल १६१ मध्ये एमालेका १०४ स्थान र माओवादीका ५७ स्थानमा उम्मेदवारी  कायम भएका थिए। तीमध्ये एमालेले ८० सिट जित्यो भने माओवादीले ३६ सिट।

समानुपातिकतर्फ ४१ सिट जितेको एमालेले १२१ सिट पाए पनि १५ सिट नपुग्दा एक्लै बहुमतको सरकार बनाउने अवस्था बनेन।

माओवादीले १७ सिट समानुपातिक जितेर कुल सिट ५३ बनायो। चुनावपछि दुबै मिलेर सरकार बनाए, सँगै पार्टी एकता गरेर नेकपा बन्यो। पछि ४ जना एमालेमा गएपछि माओवादीको सांसद संख्या हाल ४९ छ।

एकसिटे जिल्लामा २२/१३ को भागवण्डा
एकसिट मात्रै रहेका ३५ जिल्लामध्ये एमालेले २२ जिल्ला लिएको थियो। तीमध्ये २० जिल्ला जित्यो। राजमोले एउटा लिएको थियो। बाँकी १३ जिल्ला माओवादीले पाएको थियो। तीमध्ये १२ जिल्ला नै जित्यो। हुम्लामा स्वतन्त्रले जित्यो। ३५ मध्ये कांग्रेसले डडेलधुरा र रसुवामात्रै जित्यो।

एमालेले ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, धनकुटा, खोटाङ, ओखलढुंगा, दोलखा, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, डोल्पा, मुगु, बाजुरा, बझाङ, डोटी, दार्चुला र बैतडी जित्यो।

माओवादीले भोजपुर, सोलुखुम्बु, रामेछाप, लमजुङ, अर्घाखाँची, रुकुमपूर्व, रोल्पा, रुकुम पश्चिम, प्युठान, सल्यान, जुम्ला, कालीकोट र जाजरकोट जित्यो।

बाम गठबन्धनमै रहेको जनमोर्चाले प्युठान जित्यो भने स्वतन्त्र सांसद छक्कबहादुर लामाले हुम्ला जिते।

हेर्नुहोस् ३५ जिल्लाको परिणाम

दुईसिटे २१ जिल्लाको भागबण्डा : एमाले ३०, माओवादी १२
दुईवटा चुनाव क्षेत्र रहेका २१ जिल्लाका ४२ निर्वाचन क्षेत्रमध्ये एमालेले ३० वटा चुनाव क्षेत्र लिएको थियो। माओवादीले १२ लिएको थियो। यसमध्ये एमालेले २८ सिट जित्यो। माओवादीले १० वटा जित्यो। कांग्रेसले २, नेमकिपाले १ र नयाँ शक्तिले १ सिट जिते।

दुई सिट रहेका जिल्लामा एमालेले माओवादीको भन्दा धेरै नै बढी सिटहरु पाएको देखिन्छ। दुई सिट रहेका अधिकांश जिल्लामा माओवादीलाई प्रदेशका सिटहरु लिएर एमालेले एक्लै लिएको थियो। एमालेले ३० सिट लिएकोमा २८ सिट जितेर शानदार जित हात पारेको थियो।  

हेर्नुहोस् ४२ सिटको परिणाम


 
तीनसिटे सात जिल्ला : एमाले १५, माओवादी ६
तीनवटा चुनाव क्षेत्र रहेका ७ वटा जिल्ला छन्। यहाँका २१ मध्ये एमालेले १५ लिएको थियो, जसमध्ये १३ सिट जित्यो। माओवादीले ६ वटा पाएकोमा सबै जित्यो। यहाँबाट एउटा संघीय समाजवादी फोरमले र एउटा नेपाली कांग्रेसले जित्यो।

यी निर्वाचन क्षेत्रहरुमा वाम गठबन्धन राम्रैसँग फापेको देखियो।

हेर्नुहोस् ७ जिल्लाका २१ सिटको परिणाम

चारसिटे नौ जिल्ला : माओवादी १९, एमाले १७
चारसिटे ९ जिल्लामा ३६ सिट छन्। तराई मधेसमा पर्ने यी सिटमध्ये माओवादीको भागमा १९ र एमालेको भागमा १७ सिट परेका थिए।

चारवटा चुनाव क्षेत्र रहेका ९ जिल्ला छन्। प्रदेश १ को सुनसरीबाहेक मधेश प्रदेशका ८ जिल्लामा कुल सिट छन्। सुनसरीसमेत जोड्दा ३६ सिट हुन आउँछ।

कुल ३६ सिटमध्ये एमालेको भागमा १७ सिट परेको थियो भने माओवादीको भागमा १९ सिट परेको थियो। माओवादीले पाएको एउटा सिट खारेज भयो। यहाँबाट एमालेले ३ सिट मात्र जित्यो भने माओवादीले ५ सिट जित्यो।

मधेसमा राजपा र फोरमको समेत प्रभाव भएकाले वाम गठबन्धनले अन्यत्र जस्तो राम्रो नतिजा ल्याएन।

नौ जिल्लाका ३६ सिटमध्ये कांग्रेसले ९ सिट, राजपाले १० सिट र फोरमले ९ सिट जिते। यो नतिजाले के देखाउँछ भने मधेसमा वाम गठबन्धनको खासै जादु चलेन।

९ जिल्लाका ३६ निर्वाचन क्षेत्रको परिणाम

पाँचसिटे तीन जिल्ला : एमालेलाई १०, माओवादीलाई ५
पाँचवटा चुनाव क्षेत्र रहेका तीनवटा जिल्ला छन्। झापा, रुपन्देही र कैलालीमा यी १५ सिटमा १० सिट पाएको थियो भने माओवादीले ५ सिट पाएको थियो। यहाँबाट एमालेले ८ र माओवादीले ३ सिट जिते। दुईवटा कांग्रेसले जित्यो भने एउटा राप्रपा र एउटा राजपाले जित्यो। झापाबाट राजेन्द्र लिङदेन र कैलालीबाट रेशम चौधरीले जिते।

यहाँ १५ मध्ये ११ सिट वाम गठबन्धनको पक्षमा जानु राम्रै  नतिजा हो। तर, कैलालीबाट जितेका माओवादीका गौरीशंकर चौधरी र लेखराज भट्ट माओवादीमा लागेपछि निलम्बनमा परेका छन्। झापामा केपी ओलीले आफ्नो चुनाव क्षेत्रसँग सौदाबाजी गरेर झापा ३ मा राजेन्द्र लिङदेनलाई नछाडेको भए त्यहाँबाट पनि वाम गठबन्धनले जित्ने झापाली नेताहरुको तर्क छ।

झापा, रुपन्देही र कैलालीको परिणाम

 

मोरङ र काठमाडौंका १६ सिटमा माओवादी कमजोर
नेपालमा सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्ला काठमाडौं र मोरङ हुन्। काठमाडौंमा १० वटा निर्वाचन क्षेत्र छन् भने मोरङमा ६ वटा।  सिट संख्या धेरै भएकाले हरेक चुनावमा यी दुई जिल्ला महत्वपूर्ण मानिन्छन्। गत चुनावमा यी दुई जिल्लाका १६ सिटमध्ये एमालेले ११ सिट लिएर माओवादीलाई ५ सिट दिएको थियो। त्यसबाट एमालेले ९ सिट जित्यो भने माओवादीले दुई सिटमात्रै जित्यो।

गठबन्धन भएर पनि काठमाडौंबाट माओवादीले राम्रो नतिजा निकाल्न सकेन। काठमाडौंमा माओवादीले तीन सिट पाएको थियो तर एउटै जितेन। एमालेले चाहिँ काठमाडौंबाट ६ सिट जित्यो।

मोरङ र काठमाडौंका १६ निर्वाचन क्षेत्रको परिणाम

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .