राजनीति


संघीयताबारे ओलीको लाइन : घोचेको घोच्यै नगरौँ, सफल बनाऔँ

‘सफल भएन भने परिवर्तन गर्न तयार हुनुपर्छ’
संघीयताबारे ओलीको लाइन : घोचेको घोच्यै नगरौँ, सफल बनाऔँ

नेपालखबर
असार २८, २०७९ मंगलबार १२:५५, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनका विपक्षीहरुले ‘संघीयता विरोधी’ को आरोप लगाउने गर्दछन्। यसै सन्दर्भमा सोमबार अपराह्न ललितपुरको एक होटलमा आयोजित सम्पादकसँगको अन्तरक्रियामा राष्ट्रिय दैनिक पत्रिकाका एक जना सम्पादकले ओलीलाई सोधे– संघीयता फेल हुन लागिसक्यो, यसबारे एमालेको धारणा के छ?

एमाले अध्यक्ष ओलीले संविधानमा राखिएका कतिपय व्यवस्थालाई तत्कालीन शक्ति सन्तुलनको बाध्यताका रुपमा चित्रित गर्ने प्रयास गरे। तर, उनले संविधान भर्खरै बनेको हुनाले अब संघीयतालाई सफल बनाउन लाग्नुपर्ने स्पष्ट पारे।

पूर्वप्रधानमन्त्री ओलीले भने, ‘अब एउटा चिज आइसकेपछि यसलाई अनवरत घोचेको घोच्यै गर्ने, आलोचना गरेको गर्यै गर्ने होइन, एक तहसम्म हामीले इमान्तारिकतापूर्वक यसको कार्यान्वयन गर्ने कोसिस गर्नुपर्छ। यसलाई सफल बनाउने कोसिस गर्नुपर्छ।’

भोलि कार्यान्वयनका क्रममा यो प्रणाली असफल सावित भयो भने त्यसबेला फेर्न तयार हुनुपर्ने बताउँदै ओलीले एमाले संघीयताको विपक्षमा नजाने स्पष्ट पारे।

ओलीले भने, ‘अहिलेको संविधान र अहिलेको प्रणाली जुन छ, त्यसलाई इमान्दारिताका साथ कार्यान्वयन गर्ने कोसिस गरौं। सफल बनाउने कोसिस गरौं। सफल भएन भने परिवर्तन गर्न तयार हुनुपर्छ।’   

 संघीयताबारे एमाले अध्यक्ष ओलीको भनाइ उनकै शब्दमा –

संघीयताका बारेमा सोध्नुभएको छ। हामीले बडो मुस्किलले ल्याएका हौं संविधान।। त्यतिबेला हामीले विचार गर्नुपथ्र्यो, विचार गर्न पाएनौं। विचार गर्न सकेनौं। थुप्रै कुरामा विचार गर्यौं, लड्यौं।

यहाँ पहिचानका नाममा साम्प्रदायिक विद्वेष भड्काएर देशलाई रुवाण्डा बनाउन खोजियो। नेपालमा सामाजिक सहअस्थित्व, सद्भाव, पारस्परिक सहयोग र त्यसमार्फत राष्ट्रिय एकता र एकतावद्ध प्रयासद्वारा देशको विकास गर्नुपर्ने बेलामा भड्काउन खोजियो। विविधता जुन हाम्रो सम्पत्ति हो, यसलाई एउटा द्वन्द्वको विषय बनाउन खोज्ने खालका प्रयास भए। १५ वटा, २५ वटा राज्य बनाउनेदेखि लिएर कतिपय मान्छेले त त्योभन्दा बढी पृथकताकै कुरा गरे।

त्यस अवस्थामा देशलाई एकतावद्ध राखेर र विषाक्त कुराहरुलाई समन गरेर लोकतान्त्रिक संविधान जारी गर्नुपर्ने अहम जिम्मेवारी हाम्रो काँधमा थियो। हामीले त्यो जिम्मेवारी बहन गर्दा धेरै कुराहरुमा समुचित ढंगले विचार पुर्याउने परिस्थिति रहेन  ।

अब एउटा चिज आइसकेपछि  यसलाई अनवरत घोचेको घोच्यै गर्ने, आलोचना गरेको गर्यै गर्ने होइन, एक तहसम्म हामीले इमान्तारिकतापूर्वक यसको कार्यान्वयन गर्ने कोसिस गर्नुपर्छ। कमी कमजोरी हटाउने कोसिस गर्नुपर्छ। त्यसमा रहेका, देखिएका विसंगतिहरु हटाउने कोसिस गर्नुपर्छ र त्यसलाई सफल बनाउने कोसिस गर्नुपर्छ। आग्रहवस यो असफल भयो भन्ने होइन।

असफलै हुने चिज हो भने त हामीले चाहेर पनि सफल हुँदैन नि त। तर, हामीले यसलाई असफल बनाउन चाहने कि सफल बनाउन चाहने ? भर्खर हामीले स्थापना गरेका छौं। संविधानमा व्यवस्था गरेका छौं। तदनुसारका संरचना बनाएका छौं। तदनुसारका कानून बनाएका छौं। बनाइसक्न पाएको छैन, असफल भनेर हामी यसका विरुद्ध लाग्न थाल्यौँ भने यो कसरी सफल हुन्छ त। त्यसकारण यसलाई सफल बनाउनका निम्ति हामीले सकारात्मक ढंगले कोसिस गर्नुपर्छ।

यदि यो व्यवहारको क्रममा सफल हुन सकेन भने आफैं परिणामले फेरि राष्ट्रिय सहमति बन्छ। यसलाई यसरी जाऔं है, यस्तो गर्दा ठीक हुने रहेछ भनेर समान निष्कर्ष पनि निस्कन सक्छ। हिजो संविधान बनाउँदाजस्तो समय सीमाभित्र संविधान बनाइहाल्नुपर्ने  जस्तो हतारो हामीसँग छैन। कार्यान्वयन हामी अलि सुविस्तासँग गर्न सक्छौं।

त्यसकारण, अहिलेको संविधान र अहिलेको प्रणाली जुन छ, त्यसलाई इमान्दारिताका साथ कार्यान्वयन गर्ने कोसिस गरौं। सफल बनाउने कोसिस गरौं। सफल भएन भने परिवर्तन गर्न तयार हुनुपर्छ।

याे पनि -

  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .