ad ad

राजनीति


माओवादीलाई चीनको सुझाव : नेपालका दलहरु एक भएर राष्ट्रियताको रक्षा गर्नू

माओवादीलाई चीनको सुझाव : नेपालका दलहरु एक भएर राष्ट्रियताको रक्षा गर्नू

खुमलटारमा माओवादी अध्यक्ष प्रचण्डसँग चिनियाँ नेता लिउ वार्ता गर्दै। तस्बिर : प्रचण्डको सचिवालय


नेपालखबर
असार २७, २०७९ सोमबार १८:२९, काठमाडौँ

चीनले नेपालका राजनीतिक दलहरूलाई एकतावद्ध भएर राष्ट्रियताको रक्षा गर्न सुझाव दिएको छ। 

चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा २ घण्टा लामो भेटवार्ता गर्दा उक्त सुझाव दिएका हुन्। 

लिउसहितको ७ सदस्यीय प्रतिनिधिमण्डलले प्रचण्डलाई सोमबार अपरान्ह ४ बजे खुमलटार निवासमै पुगेर भेट गरेको थियो। 

'उहाँहरुले पार्टी एकतामा जोड दिन्छौँ भन्नुभएन', माओवादी केन्द्रका विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले भेटवार्तापछि भने, ‘राजनीतिक पार्टीले एकतावद्ध भएर राष्ट्रियताको रक्षा गरेकोमा खुशी हुन्छौँ भन्नुभयो।’

भेटका क्रममा लिउले नेकपा माओवादी केन्द्र र नेपालका सबै राजनीतिक दल तथा सरकारलाई एक चीन नीतिप्रति प्रतिवद्धता जनाएकोमा आभार व्यक्त गरेका थिए। 

उनले नेपालको विकास प्रक्रियामा आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए।

लिउले ​बीआरआई सम्झौताका सन्दर्भमा नेपालले ठोस रुपमा योजना छनौट गरेमा त्यसमा सहयोग गर्न तयार रहेको जनाएका छन्। 

त्यसक्रममा उनले नेपाल र नेपालको कुनै पनि पार्टीको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चीनको नीति रहेको पनि बताएका छन्। 

प्रचण्डलाई भेट्न लिउ सोमबार अपरान्ह ४ बजे प्रचण्ड निवास खुमलटार पुगेका थिए।

प्रचण्डको सचिवालयले चारदिने भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले खुमलटारमा भेटवार्ता गरेको जनाएको छ।

उक्त भेटवार्ताका क्रममा माओवादीका तर्फबाट नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, प्रमुख सचेतक देव गुरुङ र ऊर्जामन्त्री पम्फा भुसालसमेत सहभागी थिए।

नेपाल भ्रमणमा रहेका लिउले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए। ​

खुमलटारमा भेटवार्ता सकिएपछि आजै साँझ होटल सोल्टीमा रात्रिभोज आयोजना गरिएको छ। 

अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार खुमलटारको भेटपछि होटल सोल्टीमा प्रचण्डका तर्फबाट रात्रिभोज आयोजना गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .