ad ad

राजनीति


ढुकुटीमा मुसा : श्रीलंकामा नातेदार, नेपालमा आसेपासे

ढुकुटीमा मुसा : श्रीलंकामा नातेदार, नेपालमा आसेपासे

रुपक चौलागाईं
असार २७, २०७९ सोमबार ८:१२, काठमाडौँ

दक्षिण एशियाको टापु राष्ट्र श्रीलङ्का यतिबेला इतिहासकै गहिरो आर्थिक र राजनीतिक संकटमा फसेको छ। 

राजधानी कोलोम्बोसहित विभिन्न सहरमा राष्ट्रपति गोटवाया राजापाक्षेविरुद्ध प्रदर्शन भइरहेका छन्।

राष्ट्रपति र प्रधानमन्त्रीको निवास जनताले कब्जामा लिए। प्रधानमन्त्री निवासमा आगजनीसमेत गरे।

श्रीलंकामा अन्तर्राष्ट्रिय ऋण बढेपछि देखिएको आर्थिक संकट समाधान गर्न नसकेपछि त्यसैको परिणाम स्वरुप राजनीतिक संकट देखा परेको हो। 

अहिले प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिइसकेका छन्। आर्थिक संकट गहिरिँदै गएपछि इन्धनदेखि खाद्यान्न र औषधिसम्मको अभावमात्र छैन, त्यसलाई व्यवस्थापन गर्न नसकेपछि त्यहाँ जनआक्रोश भड्कियो।

श्रीलंकामा अर्थतन्त्रकै कारण जनआक्रोश बढ्दै जाँदा नेपालमा पनि अर्थतन्त्र नै भयावह हुने गरी आगामी आर्थिक वर्षको बजेट विनियोजन हुन थालेका छन्।

सालिक, ट्रस्ट, मन्दिर, पार्क लगायत निर्माणका लागि विभिन्न तहका सरकारहरुले बजेट विनियोजन गरेको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध सुरु भएको छ।

‘गण्डकीमा पार्क र ट्रस्ट निर्माण’

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा समावेश गरेका केही शीर्षकमाथि चर्को आलोचना सुरु भएका छन्। 

मुख्यमन्त्री र मन्त्रीका बुवाको नाममा खोलिएको ट्रस्टलाई समेत महत्व दिएर बजेट छुट्याइएको भन्दै सत्तापक्षकै नेताहरूबाट आलोचना सुरु भएको हो।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुवा गोवर्द्धन शर्माका नाममा तनहुँको व्यास नगरपालिका–१० मा खोलिएको कोषका लागि ५० लाख रूपैयाँ विनियोजन गरेको आरोप लागेको छ।

त्यस्तै, सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले बुवाका नाममा खोलिएको कोषमा ५० लाख विनियोजन गरेका छन्।

उनका बुवा आमाका नाममा खोलिएको ‘पुननारायण–धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्ट’लाई अर्को शीर्षकमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन्।

सामाजिक विकास मन्त्री श्रेष्ठले दुई वटा शीर्षकमा गरी आमा बुबाका नाममा १ करोड विनियोजन गरेको भन्दै चर्को आलोचना भएको छ।

कांग्रेसका गण्डकी प्रदेश सभापति अर्जुनप्रसाद जोशीको पिताको नाममा पनि बजेट विनियोजन भएको छ।

उनका स्व. बुवा अमृतप्रसाद जोशीको नाममा स्मृति पार्क बनाउन २० लाख रुपैयाँ विनियोजन भएको छ भने उक्त पार्क पर्वतको कुश्मा नगरपालिकामा बन्ने छ।

कास्कीको सिक्लेसमा शान्ति स्मारक पार्क बनाउन १ करोड, पोखरा २८ मा थमन स्मृति पार्क बनाउन १० लाख, माछापुच्छेमा हरिबहादुर स्मृति पार्क बनाउन १० लाख, तनहुँको बन्दीपुरमा शहीद स्मृति पार्क बनाउन ५ लाख, भानुमा १० लाख, पर्वतको फलेबासमा ५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ।

काठमाडौंमा यमबुद्धको सालिक
काठमाडौं महानगरपालिकाले पनि र्यापर अनिल अधिकारी (यमबुद्ध) को सालिक बनाउनका लागि १५ लाख बजेट विनियोजन गरेको छ। महागरको यो निर्णयविरुद्ध पनि आलोचना भइरहेको छ।

चौतर्फी आलोचना बढेपछि महानगरका मेयर बालेन्द्र शाहले आफ्नै ‘तलब’बाट भए पनि यमबुद्धको सालिक बनाउने स्व. घोषणा गरेका छन्। शाहले यमबुद्धका बा–आमासँगै भेट गरेर सो कुरा बताएका छन्।

महानगरपालिकामा फोहोर व्यवस्थापन हुन नसकेको, भौतिक पूर्वाधारका कामहरु हुन नसकेको भन्दै आलोचना एकातर्फ भइरहेको छ।

अर्कोतर्फ, लण्डनमा आत्महत्या गरेका र्यापर यमबुद्धको सालिक निर्माण गर्ने निर्णय भएको भन्दै आलोचना बढेको हो।

काठमाडौंमा रुचाइएका मेयर बालेन्द्रले बजेट ल्याउने बेलामा जनताको भन्दापनि आफ्नो स्वार्थको आधारमा विनियोजन गरेको भन्दै आलोचना भइरहेका छन्।

र्याप ब्याटल ‘रअ बार्ज’ मार्फत बालेन्द्र चर्चामा आएका थिए। कुनै समय र्‍यापर जन्माउने थलो बनेको ‘रअ बार्ज’ यमबुद्धकै आइडियामा खुलेको थियो।

यमबुद्धकै आइडियाको पछि लागेर बालेन्द्र चर्चामा आएका थिए। आफू निकटकाको सालिक बनाउन महानगरको बजेट दुरुपयोग गरिएको भन्दै उनको आलोचना भएको हो।

नेपाली संगीत क्षेत्रलाई अन्तर्राष्ट्रियकरण गर्नमा यमबुद्धको योगदान रहेको भन्दै सालिक बनाउने निर्णय भएको बालेन्द्रको सचिवालयले बताएको छ।

बिचौलिया र दलालको सेटिङ​
३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रकम प्रस्तुत भएको सुदूरपश्चिममा अहिलेसम्म बजेट पारित हुन सकेको छैन।

संसदमा बजेट प्रस्तुत भएसँगै यसमाथि छलफल अगाडि बढाएर पारित गर्नुपर्ने हुन्छ। तर, बजेट संसदमा प्रस्तुत भएको एक महिना बित्न लाग्दा पनि छलफल हुन सकेको छैन।

प्रदेश सरकारले बजेटमा विधि र प्रक्रिया विपरीत मनपरी ढंगले योजना समावेश गरिएको भन्दै सत्तारुढ दलका सांसददेखि मन्त्री पनि रुष्ट भएका हुन्।

कैलालीको बनकट्टा सर्सिया पिकनिक स्पट र पार्क निर्माणका लागि १० लाख, बाजुराको नागी मल्लकालीन देवल संरक्षण तथा पुरातात्विक पार्क निर्माणका लागि १० लाख रकम विनियोजन भएको छ।

त्यस्तै, विभिन्न जिल्लाका मन्दिर निर्माणका लागि पनि लाखौं बजेट प्रदेश सरकारले छुट्याएको छ।

नीति तथा कार्यक्रममा प्राथमिकतामा परेका क्षेत्रको बजेट कटौती गरेर ५० प्रतिशत बजेट भौतिक पूर्वाधार मन्त्रालयलाई दिएको आरोप छ।

मठमन्दिर निर्माण, विभिन्न सामुदायिक भवन, मन्दिरसम्म जाने दर्जनौं पदमार्ग निर्माण, एमाले, एकीकृत समाजवादी र माओवादीका पार्टी कार्यालय निर्माणमा करोडौं बजेट छुट्याइएको छ।

बिचौलिया र दलालको सेटिङमा यसरी विकास बजेटको दुरुपयोग हुने गरी बाँडफाँट गरेको भन्दै बहुमत सांसदहरु बजेटको विपक्षमा उभिँदा सरकारलाई बजेट पारित गर्न सकस परेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .