ad ad

राजनीति


माधव नेपालको अध्यक्षतामा ६ घण्टा बैठक : पार्टी एकताको प्रस्ताव उत्साहजनक

चार बैठकको समीक्षा, पार्टीको आन्तरिक जीवन बलियो बनाउने
माधव नेपालको अध्यक्षतामा ६ घण्टा बैठक : पार्टी एकताको प्रस्ताव उत्साहजनक

एकीकृत समाजवादीको सोमबार बसेको सचिवालय बैठक


रुपक चौलागाईं
असार २०, २०७९ सोमबार १९:१४, काठमाडौँ

सत्तारुढ नेकपा एकीकृत समाजवादीका नेताहरु सोमबार झण्डै ६ घन्टा लामो केन्द्रीय सचिवालय बैठकमा जुटे। 

राजधानीको कान्तिपथस्थित होटल एल्लो प्यागोडामा बसेको बैठकमा पार्टीको आन्तरिक जीवन व्यवस्थित बनाउन छलफल भएको नेताहरुले बताएका छन्।

पार्टीका सम्मानित नेता झलनाथ खनालका अनुसार बैठकमा पार्टी सञ्चालन र संगठन निर्माणका विषयमा छलफल गरिएको हो। 
बैठकमा वाम एकताका लागि वामदेव गौतमले गरेको प्रस्तावबारे माधव नेपालबाट ब्रिफिङ भएको नेताहरुले बताएका छन् ।

विशेष गरी नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषयमा पनि शीर्ष तहमा छलफल सुरु भएको अध्यक्ष माधव नेपालले सचिवालय बैठकमा ब्रिफिङ गरेका छन् ।

वाम एकताबारे ब्रिफिङ

सोमबारको लामो बैठकमा अध्यक्ष माधवकुमार नेपालले वाम एकताका लागि आएका प्रस्तावबारे ब्रिफिङ गरेका थिए।

‘वाम गठबन्धनबारे केहीबेर ब्रिफिङ गर्नुभयो,’ अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै उपमहासचिव गंगालाल तुलाधरले नेपालखबरसँग भने, ‘अत्यन्तै उत्साहजनक ढंगले वामदेवजीले छलफल राख्नुभयो। वामपन्थी एकताभन्दा पार्टी एकता गरेरै जानुपर्छ भन्ने प्रस्ताव आएको छ, त्यसलाई सबैले सकारात्मक ढंगले लिएका छन्।’

पूर्ववत् अवस्थाको नेकपा बनाउने गरी जान वामदेवले राखेको प्रस्तावबारे नेपालले बैठकमा जानकारी गराएको तुलाधरले बताए।

परिषदको बैठकबाट वाम एकताका लागि प्रस्ताव गरिएको अर्का नेता प्रकाश ज्वालाले बताए।

उनका अनुसार विचार, सिद्धान्त मिल्नेसँग एकता, नभए संयोजन समिति बनाउने र चुनावमा कार्यगत एकता गर्नेबारे छलफल भएको हो।

‘विचार, सिद्धान्त मिल्नेसँग एकता, नभए संयोजन समिति बनाउने चुनावमा कार्यगत एकता गर्नेगरी छलफल भएको छ,’ ज्वालाले नेपालखबरसँग भने, ‘कम्युनिष्टहरू कसरी मिल्न सक्छन् भन्ने विषयमा छलफल भएको छ।’

चार बैठकको समीक्षा
सोमबारको सचिवालय बैठकले यसअघिका ४ वटा बैठकको गम्भीर समीक्षा गरेको छ। उपमहासचिव गंगालाल तुलाधरका अनुसार सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीपछि बसेको केन्द्रीय परिषदबारे आज समीक्षा भएको थियो।

यसअघि समाजवादीको सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी हुँदै परिषद बैठक बसेको थियो। बैठकमा नेताहरुबीच ती तिनका उपलब्धिबारे छलफल भएको थियो।

‘सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी सम्पन्न गरेर सबैभन्दा राष्ट्रिय महत्व राख्ने, हाम्रो पार्टी जीवनमा फड्को मार्ने केन्द्रीय परिषद् बैठकको समीक्षा गर्न सान्दर्भिक हुने भएकाले त्यसकै लागि हामी जुटेका हौँ,’ तुलाधरले नेपालखबरसँग भने।

बैठकको समीक्षा सुनाउँदै उनले पहिलो केन्द्रीय परिषदको बैठक सफल रहेको निष्कर्ष आएको बताए। 

‘समीक्षाको निष्कर्ष हामीले विद्रोह गरिसकेपछि पहिलो ऐतिहासिक केन्द्रीय परिषदको बैठक बस्यौँ, यो अत्यन्तै सफल रह्यो,’ तुलाधरले भने, ‘पार्टी पंक्तिमा उत्साह थप्ने परिघटनाको रुपमा हामीले मूल्यांकन गर्यौं।’

आन्तरिक जीवन सुदृढ 
एकीकृत समाजवादीले देशभर नै आफ्ना पार्टीका संगठनात्मक कामलाई अझै तीव्र बनाउनेगरी छलफल अघि बढाएको छ।

‘आजको बैठक आगामी दिनमा हामी कसरी आन्तरिक संगठनात्मक जीवनलाई अघि बढाउने भन्नेबारेको बैठक हो,’ तुलाधरले भने।

देशभर पार्टीलाई ब्यापक बनाउनका लागि विभागीय कामहरूलाई क्रियाशील गर्नेबारे नेताहरुबीच छलफल भएको उनले बताए। ‘सिंगो सन्देशलाई पार्टीब्यापी बनाउने कुरामा विभिन्न विभागीय कामहरूलाई क्रियाशिल बनाउनुपर्छ,’ उनले भने।

जनप्रतिनिधिलाई प्रशिक्षण
एकीकृत समाजवादीले गत ४ र ५ असारमा आफ्ना देशभरका जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम राखेका थियो। तर, अन्तिम सयममा प्रशिक्षण रोकिएको थियो। सो बारे पनि आजका बैठकमा छलफल भएको छ।

‘गत असारको ४ र ५ का लागि भनेर रोकिएको जनप्रतिनिधिहरूलाई प्रशिक्षणात्मक कार्यक्रम संचालन गर्नेबारे छलफल भएको छ,’ तुलाधरले नेपालखबरलाई बताए।

प्रशिक्षण कार्यक्रम भनेर २७ गतेदेखि साउनको ३ गतेसम्मलाई प्रस्ताव गरेको र यसमाथि अझै छलफल गर्नुपर्ने उनले बताए। ‘त्यसमा थुप्रै पूर्वतयारी आवश्यक छन्। अरु थुप्रै एजेन्डामाथि छलफल गर्नुपर्नेछ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .