ad ad

राजनीति


अर्थमन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गरुन् : गगन थापा

अर्थमन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गरुन् : गगन थापा

संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै गगन थापा। तस्बिर : नेपालखबर


नेपालखबर
असार २०, २०७९ सोमबार १८:३३, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। 

सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन्। 

अर्थमन्त्री शर्माको सम्बन्धमा संसद भित्र र बाहिर प्रश्नहरु उठेकाले राजीनामा दिनुपर्ने उनले बताएका छन्। 

उनले अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधानमन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने बताए। 

उनले यस विषयमा छानविन नगर्ने हो भने गलत नजिर बस्ने भएकाले छानबिनमा दोषी देखिए कारबाही गर्नुपर्ने पनि बताएका छन्। 

‘अहिले अर्थ मन्त्रालयले सीसीटीभी फुटेज जम्मा १३ दिनको छ भनेर भनिसके पछाडि मलाई के लाग्छ भने तत्काल प्रधानमन्त्रीले यसबारे एक्सनमा जानुपर्छ। यत्रो विषय संसदमा उठ्यो। बाहिर उठ्यो। हो, होइन मलाई थाहा छैन । तर यो विषय उठिसकेपछि मैले बुझेको अर्थमन्त्रीजीले राजीनामा दिनुपर्छ', उनले भने, 'यदि राजीनामा नदिने हो भने प्रधानमन्त्रीजीले हटाएर तत्काल छानबिन गर्नुपर्छ।'

उनले सीसीटीभी फुटेज डिलिट गरिएको विषयमा पनि प्रश्न उठाए। 'हाम्रो आफ्नै कार्यविधि छ। हाम्रो आफ्नै नियम, कानुनले पनि हामीलाई कम्तीमा तीन महिनासम्मको सीसीटीभी फुटेज राख्ने कुरा भनिहाल्छ। त्यसमाथि पनि बजेट यो संसदले पारित गरेको छ', उनले भने, 'करको दर हेरफेर सामान्य कुरा होइन। कसैले सामान्य मानवीय त्रुटी भयो भनेर यसबाट जान पाउने कुरा पनि छैन। यति कुरा उठिसकेपछि अब यो उठ्यो, उठ्यो यत्तिकै गयो भनेर हुँदैन। यस्तो गर्‍यौँ भने अत्यन्त यसको एउटा नजिर बस्छ। र, जे गरे पनि हुन्छ भन्ने कुरा रहन्छ।'

थापाले अर्थमन्त्रीले पद त्याग्नु नै ठीक हुने बताए। 'हुँदै नभएको कुराको आरोप पनि कसैले खेप्नुपर्ने हुन्छ। त्यसैले मलाई लागेको यो अर्थमन्त्रीजीको पनि हितमा छ। तत्काल उहाँले राजीनामा दिने', उनले भने, 'प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाएर यसको छानबिन गर्ने। छानबिनपछि दोषी हो भने दोषीले यसको सजाय प्राप्त गर्ने नै कुरा भयो। दोषी होइन भने देश र जनतालाई थाहा भयो। होइन रहेछ भन्ने थाहा भयो।’

महामन्त्री थापाले अर्थमन्त्रालयको सीसीटीभी फुटेज नरहेको विषय बाहिर आएपछि झनै प्रश्न उठेको बताए। उनले अर्थमन्त्री शर्मालाई राजीनामाका लागि आफूहरुले अनौपचारिक रुपमा भनिसकेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .