ad ad

राजनीति


जसपा दुई फ्याक : उपेन्द्र र बाबुराममध्ये कसले पुर्‍याउला बहुमत?

जसपा दुई फ्याक : उपेन्द्र र बाबुराममध्ये कसले पुर्‍याउला बहुमत?

सागर न्यौपाने
असार १९, २०७९ आइतबार २०:५३, काठमाडौँ

फुट नजिकै पुगेको जनता समाजवादी पार्टी (जसपा)मा दुई अलग कमिटी सक्रिय हुने भएका छन्।

केन्द्रीय अध्यक्ष र संघीय दुबै अध्यक्षले आफू पक्षीय केन्द्रीय समिति बैठक बोलाउने भएपछि जसपाको दुईवटा कमिटी बन्ने भएको हो।

अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समिति बैठक बोलाएकै दिन संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले पनि बैठक बोलाउने तयारी गरेको छ।

उपेन्द्रले २७ र २८ असारमा पर्साको वीरगञ्जमा केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेका छन्।

डा. भट्टराई पक्षले पनि त्यही दिन काठमाडौंमा केन्द्रीय समिति बैठक बोलाउने भएका हुन्।

‘हाम्रो पार्टीको केन्द्रीय समिति बैठक असार २७ र २८ गते काठमाडौंमा बोलाउने तयारी छ,’ भट्टराई निकट एक नेताले नेपालखबरसँग भने, ‘हामी जसपाकै केन्द्रीय समितिको बैठक बस्छौँ। त्यसको तयारी अन्तिम चरणमा छ।’

पार्टीमा आफूहरुले पहिलेदेखि बैठक माग गरिएको ती नेताको दाबी छ। तर, उनले बैठकको स्थान तय नभएको बताए।

जसपाभित्र उपेन्द्र र बाबुरामबीचको विवाद उत्कर्षमा पुगेको छ।

विवाद बढेकै बेला उपेन्द्रले एकपक्षीय केन्द्रीय समिति बैठक राखेपछि भट्टराईले पनि आफू पक्षीय नेताहरुको बैठक राख्न लागेका हुन्।

हिमाल, पहाड र तराई मिलाएर समावेशी र सामूहिक नेतृत्व प्रणाली, जसपालाई वैकल्पिक शक्ति बनाउन पहल गर्नुपर्ने लगायतका विषयमा अध्यक्ष  उपेन्द्रले चासै नदिएको भन्दै भट्टराई पक्ष असन्तुष्ट थियो।

त्यहीबेला १२ असार राति उपेन्द्र यादवले आफू पक्षीय बहुमत कार्यकारिणी सदस्यको बैठक राखेर शेरबहादुर देउवा पक्षमा रहेका मन्त्री फिर्ता बोलाउने, पार्टी विरुद्ध गतिविधि गर्ने केही नेतालाई स्पष्टीकरण सोध्ने र केन्द्रीय समिति बैठक बोलाउने लगायतका निर्णय गर्दै त्यसको अधिकार आफैँमा राखेका थिए।

डा. भट्टराईसहितका नेताहरुलाई कारबाही गर्ने योजनासहित स्पष्टीकरण सोध्ने तयारी गरेपछि जसपाको विवाद चर्किएको छ।

‘जसपाको विधान अनुसार पहिलो अध्यक्ष डा. बाबुराम भट्टराई हुनुहुन्छ, उहाँले नचाहेसम्म बोलाइने बैठक वैधानिक हुँदैनथ्यो,त्यही भएर वैधानिक बैठक बस्छौं,’ ती नेताले थपे।

कसले पुर्याउँछ केन्द्रीय समितिमा बहुमत?
जसपा गठन भएपछि ४ सय ९९ केन्द्रीय समितिको नामावली निर्वाचन आयोगमा बुझाइएको छ। त्यसको बहुमत पुर्याउन अहिले उपेन्द्र र बाबुराम पक्ष जोडतोडले लागेका छन्।

कार्यकारिणी समिति र संसदीय दलमा उपेन्द्र बहुमतमा छन्।

३३ जना कार्यकारिणीमा १८ जना खुलेको उपेन्द्र पक्षको दाबी छ। संसदीय दलमा पनि उपेन्द्रको पक्षमा १५ सांसद खुलेका छन्।

डा. भट्टराई पक्षका ४ जना सांसद र कार्यकारिणीमा १५ जना रहेको दाबी उनीहरुको छ। तर, केन्द्रीय समितिमा भने बहुमत आफूसँग रहेको भट्टराई पक्षको दाबी छ।

नेपालखबरलाई केही कार्यकारिणी सदस्यहरुले दिएको जानकारी अनुसार ‘भट्टराई पक्षमा खुलेका केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन्, त्यो बहुमत संख्या छ।’

कतिजनाले हस्ताक्षर गरे भन्ने खेलाउन उनीहरु तयार भएनन्। तर, एक नेताले भने २ सय २५ जनाको हस्ताक्षर भइसकेको, बाँकी २५ जनाले हस्ताक्षर गर्ने प्रतिबद्धता जनाएको दाबी गरे।

‘२ सय २५ जनाको हस्ताक्षर रेडी छ, केही साथीहरु भ्याली बाहिर हुनुहुन्छ, उहाँहरुले पनि गर्छु भन्नुभएको छ,’ ती नेताले थपे।

५ सय ९९ केन्द्रीय समितिको बहुमत कम्तीमा २ सय ५० हुनुपर्छ । त्यही संख्या पु¥याउन भट्टराई पक्ष लागेको छ।

सरकारबाट मन्त्री फिर्ता बोलाउने अधिकार आफैँमा राखेका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समिति नसकेसम्म नयाँ मन्त्री नफेर्ने योजनामा छन्।

आकांक्षी १० जनामध्येबाट ४ जना मात्र मन्त्री बनाउँदा बाँकी विच्केर बाबुरामतिर खुल्ने भय उपेन्द्रलाई छ।

बाबुराम भट्टराई भने उपेन्द्रको कदम कुरेर बसेका छन्।

१८ असारमा गोरखा–काठमाडौं सम्पर्क मञ्चको बैठकमा डा. भट्टराईले वैकल्पिक शक्ति बनाउनै पर्ने बताए। उनले ७ वर्षअघि नयाँ शक्ति बनाउनकै लागि भट्टराई माओवादीबाट बाहिरिएको बताए।

जसपालाई नयाँ ढंगले अघि बढाउन डा. भट्टराईले बहुमत केन्द्रीय सदस्यको साथ पाउने अपेक्षा गरेका छन्। तर, जसपाका वरिष्ठ नेता अशोक राई पक्षले साथ नदिँदा भट्टराई अल्पमतमा परेको चर्चा छ।

सामूहिक र समावेशी नेतृत्वको माग गर्दा भट्टराई र राईसँगै थिए। तर, अन्तिम अवस्थामा राई लगायतका पक्षले भट्टराई साथ नदिएको आरोप छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .