ad ad

राजनीति


प्रचण्डको प्रतिवेदन : कांग्रेस सहरभन्दा गाउँमा कमजोर, एमाले दुवैतिर उस्तै

माओवादी सहरभन्दा गाउँमा बलियो
प्रचण्डको प्रतिवेदन : कांग्रेस सहरभन्दा गाउँमा कमजोर, एमाले दुवैतिर उस्तै

नेपालखबर
असार १९, २०७९ आइतबार १७:७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकमा १० पृष्ठ लामो संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गरेका छन्। 

आइतवार प्रज्ञा भवन कमलादीमा सुरु उक्त बैठकमा अध्यक्ष प्रचण्डले माओवादीसहित अन्य दुई ठूला दलको पनि विश्लेषण गरेका छन्। 

जसमा उनले प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस सहरको तुलनामा गाउँमा कमजोर देखिएको निष्कर्ष निकालेका छन्। 

उता प्रमुख प्रतिपक्षी नेकपा एमालेको भने गाउँ र सहर दुवैतिर अवस्था उस्तै रहेको कुरा उनले प्रतिवेदनमा उल्लेख गरेक छन्। 

'नेपाली कांग्रेसको मतपरिणाम हेर्दा शहरको तुलनामा गाउँमा कमजोर रहेको देखिन्छ', वैशाख ३० गतेको मतको विश्लेषण गर्दै उनले भनेका छन्, 'नेकपा एमालेको मतपरिणाममा ग्रामीण क्षेत्र र शहरी क्षेत्रमा खासै भिन्नता देखिँदैन। हाम्रो पार्टीको मतपरिणाम भने शहरको तुलनामा गाउँमा मजबुत देखिन्छ।'

उनले माओवादी गाउँमा बलियो बन्दै गइरहेको निष्कर्ष पनि प्रतिवेदनमा निकालेका छन्। यो राजनीतिक प्रतिवेदनमा प्रचण्डले पाँच दलीय गठबन्धनमा सबैभन्दा इमान्दार दल नेकपा माओवादी केन्द्र नै भएको उल्लेख गरेका छन्। 

'गठबन्धनमा माओवादी सबैभन्दा इमान्दार देखिएको छ। कांग्रेसमा भने आफूलाई जो सँग जसरी मिल्दा फाइदा हुन्छ, त्यसैसँग पनि मिल्ने प्रवृति देखा परेको छ', उनले प्रतिवेदनमा भनेका छन्, 'एकीकृत समाजवादीले भने हैसियतभन्दा पनि धेरै भाग माग्यो।'

प्रतिवेदनमा प्रचण्डले कांग्रेसले गठबन्धनका उम्मेदवारलाई मत नदिएर धोका दिएको जनाएका छन्। उनले कांग्रेसले आफ्ना उम्मेदवार सुरक्षित गर्ने नीति अख्तियार गरेको पनि उनले जनाएका छन्। मतदाता शिक्षा नदिँदा अत्यधिक मत बदर भएको निष्कर्ष पनि प्रचण्डको छ।

'एकीकृत समाजगवादीले आफ्नो वास्तविक स्थितिभन्दा बढी दाबी गर्दा सिट बाँडफाँटमा समस्या देखियो', उनले भनेका छन्, 'त्यहीकारण केही स्थानमा गठबन्धन पराजित हुन पुग्यो।'

अर्कातिर प्रचण्डले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी तराई-मधेसका जिल्लामा गठबन्धन गर्न अनिच्छुक देखिएको जनाएका छन्। उनले माओवादी मात्रै गठबन्धनप्रति इमान्दार देखिएको तर्क गरेका छन्। 

‘हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) ले १६ सिट बढी ल्याएको छ। जसपा र जनमोर्चाले पनि पहिलेको तुलनामा केही सिट बढाएका छन्,’ उनले भनेका छन्, ‘यस पटकको स्थानीय तहको चुनावमा नेकपा एमालेले नराम्रोसँग हार बेहोर्नु परेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .