ad ad

राजनीति


समाजवादीको बटमलाइन : प्रदेश १ र बागमती सरकार नछाड्ने, चुनावसम्मै लैजाने

विकल्प खोजिए सबै प्रदेशको सत्ता फेरिनुपर्ने अडान
समाजवादीको बटमलाइन : प्रदेश १ र बागमती सरकार नछाड्ने, चुनावसम्मै लैजाने

फाइल फोटो


रुपक चौलागाईं
असार १८, २०७९ शनिबार २१:४३, काठमाडौँ

बागमती प्रदेशको मुख्यमन्त्री हेरफेरको विषयले केही दिनयता सत्तारुढ दल तरंगित भएका छन्। 

गत असोजमा सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच भएको सहमतिपत्र बाहिरिएपछि राजेन्द्रप्रसाद पाण्डेमाथि राजीनामा दबाब बढेको छ। 

कांग्रेस र समाजवादीबीच गत असोजमा बाँकी कार्यकाल आधा आधा प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। 

त्यही सहमतिअनुसार एमाले फुटेर बनेको समाजवादी बागमती संसदीय दलका नेता पाण्डेलाई सुरुमा मुख्यमन्त्री बनाउन तीन दल एक ठाउँमा उभिएका थिए।

अब बागमती प्रदेशको कार्यकाल करिब ५ महिना बाँकी छ। पाण्डेले लगभग ८ महिना सरकारको बागडोर सम्हालिसकेका छन्।

आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएपछि पाण्डेलाई सरकार छाड्न दबाब परेको थियो। 

तर केन्द्रको निर्णय मान्ने भन्दै उनले सत्ता नछाडेपछि कांग्रेसले माओवादीसँग मिलेर हस्ताक्षर बटुलेको थियो। अर्कातिर गठबन्धनबीचको खटपटको फाइदा लिन प्रमुख प्रतिपक्षी एमालेले पाण्डेलाई साथ दिने संकेत पनि गरिसकेको छ।

कांग्रेसले माओवादीको साथ लिएर हस्ताक्षर अभियान थाले पनि यसबारे नेताहरु मुख खोल्न तयार छैनन्। 

यसबारे आफूहरुलाई जानकारी नभएको बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला मन्त्री कृष्ण खनालले केन्द्रको निर्णय कुरिरहेको स्पष्टीकरण दिएका छन्। नेपालसहित दल बैठक

यसैबीच शनिबार समाजवादी अध्यक्ष माधवकुमार नेपालको पनि उपस्थितिमा बागमती प्रदेश दलको बैठक बसेको छ। 

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले तत्काल मुख्यमन्त्री परिवर्तन आवश्यक नरहेको निष्कर्ष निकालेको छ।

बागमतीको मुख्यमन्त्री फेरिने चर्चा चलिरहँदा नेपालसहितको यो बैठकलाई अर्थपूर्ण मानिएको थियो।

‘नियमित प्रक्रियाभित्रकै बैठक हो। तर यो बैठकमा अलिक धेरै चासो रह्यो। किन भयो मलाई नै अचम्म लागेको थियो,’ मन्त्री खनालले बैठकपछि भने, ‘यो  बैठकमा बजेटबारे सांसदहरुले योजना छुटेको कुरा राख्नु भयो। त्यसैगरी अबको गन्तव्यबारे पनि छलफल भएको छ।’

सत्ता साझेदारले नै हस्ताक्षर बटुलेर दबाब बढाइरहेकोबारे बैठकमा कुनै कुरा नउठेको उनले बताए। 

‘केन्द्रको निर्णयबाटै सरकार बनेकाले त्यहीँबाट जे फैसला हुन्छ, कार्यान्वय गर्छौँ,’ उनले भने। 

बागमतीका मुख्यमन्त्री र अन्य अधिकांश सांसद काठमाडौंमै भएकाले दल बैठक केन्द्रीय कार्यालयमा गरिएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। 

‘मुख्मन्त्री पनि काठमाडौं भएका बेला समसामयिक राजनीतिबारे समीक्षा गर्न उहाँहरु बैठक बस्नुभएको हो,’ उनले भने। 

निर्वाचनसम्मै सरकार यथावत
प्रदेश सरकार बनेको १ वर्षमै फेर्ने भन्दा गठबन्धनभित्र सहमति जुटाउनेगरी तयारी भइरहेको समाजवादीका नेताहरु बताउँछन्।

सरकार बनाउँदा र अहिलेको अवस्था फेरिएकाले केन्द्रबाटै निष्कर्ष निकाल्नुपर्ने समाजवादी नेता सामेप्रसाद पाण्डे बताउँछन्।

‘बागमती फेरिँदा अन्त पनि फेरिन्छ। हिजो एउटा समझदारी थियो, अहिले अवस्था फरक छ,’ पाण्डेले नेपालखबरसँग भने, ‘परिस्थिति अर्कै बनेको छ। गठबन्धन टुट्दैन, समझदारी बनाउने प्रयास हुन्छ।’

अर्का एकजना केन्द्रीय सदस्य भने सचिवालय बैठकको स्पष्ट नीति नै अहिलेका प्रदेश सरकार नचलाई निर्वाचनसम्म लैजाने बताउँछन्। 

‘कांग्रेसका साथीहरुबाटे हल्ला चलाउन खोजिएको हो,’ उनले भने, ‘छलफलमै जाने कुरा क्लियर छ। सचिवालयको स्पिरिट अब अर्को सरकार बन्न नदिने भन्ने हो।’

सबै प्रदेशमा मिलाऊँ
मधेशबाहेक ६ वटा प्रदेशमा एकैपटक सरकार हेरफेर भएको भन्दै एकीकृत समाजवादीले अन्य प्रदेशमा पनि यसबारे छलफल हुनुपर्ने सर्त राखेको छ।

निर्वाचननजिक आइसकेको भन्दै सबै दल मिलेर प्रदेश सरकारबारे केन्द्रबाट प्याकेजमै निर्णय हुनुपर्ने एकीकृत समाजवादीको तर्क छ। 

प्रचार विभाग प्रमुख खतिवडाका अनुसार मुख्यमन्त्री फेर्ने विषयमा प्रदेश सांसदले तनाव लिनु जरुरी  छैन। 

‘हरेक सांसदले तनाव लिनुपर्दैन,’ उनले भने, ‘फलानोलाई हटाउन वा नयाँ बनाउन भन्ने तनावबाट उनीहरु मुक्त हनुपर्छ। र, हामी आरामसाथ चुनावी तयारी गर्न पाउँछौं।’

गठबन्धनको बुझाइअनुसार निर्णय कार्यान्वयन गर्न आफ्नो पार्टी तयार रहेको खतिवडाले बताए। 

‘समझदारीअनुसार काम गर्न पार्टी प्रतिवद्ध छ। चुनावको मुखमा छौँ। सबै प्रदेश सरकारबारे कहीँ न कहीँ आवाज उठेको छ,’ उनले भने, ‘यसकारण गठबन्धन दलहरु मिलेर एकैपटक सेटल गर्नेगरी काम गर्दा उपयुक्त हुन्छ।’

बागमती प्रदेशको मात्रै चर्चा बढी भएको भन्दै उनले त्यो छाडेपछि आफूहरुले कुन पाउने भन्नप्रश्न पनि उठ्ने बताए। 

‘गठबन्धनभित्र राम्रोसँग छलफल गरेर प्रदेशको धारणा बनाएर अघि बढौं भन्ने हाम्रो साझा धारणा हो,’ खतिवडाले भने, ‘माग्ने भन्ने छैन, हाम्रो सरकार हो। बागमती नभए अर्को ठाउँमा होला।’

अहिले बागमती र प्रदेश १ मा समाजवादीको नेतृत्वाम सरकार भएको भन्दै खतिवडाले त्यहाँ छाड्दा अर्को २ ठाउँ कहाँ पाउने भन्नेसमेत गठबन्धनमा छलफल हुनुपर्ने बताए। 

कांग्रेसले पनि कार्यकर्ता व्यवस्थापनका लागि यसबारे बुझेर अघि बढ्नुपर्ने उनको तर्क  छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .