ad ad

राजनीति


ओली सरकार ढलेको एक वर्षपछि झलनाथको गुनासो : दुईतिहाइले काम नगर्दा जनता निराश

ओली सरकार ढलेको एक वर्षपछि झलनाथको गुनासो : दुईतिहाइले काम नगर्दा जनता निराश

नेपालखबर
असार १६, २०७९ बिहिबार १५:५५, काठमाडौँ

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले दुई तिहाई बहुमत प्राप्त केपी ओली नेतृत्वको सरकारले अपेक्षा अनुसार काम गर्न नसक्दा जनतामा निराशा छाएको दावी गरेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका सम्मानित नेता खनालले मुलुकलाई समृद्ध बनाउन समाजवादी नीति तथा कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि गहन छलफल चलाई दिन पूर्व सांसद मञ्च, नेपाललाई आग्रह समेत गरे। 

संविधानले समाजवादी बाटोतिर जान निर्देश गरेपनि सरकार र राजनीतिक दलहरुले सोही अनुसारको नीति तथा कार्यक्रम ल्याउन नसकेको उनको निष्कर्ष थियो। 

६४ औं संसद दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ओली नेतृत्वको तत्कालीन नेकपाको सरकारले समृद्धिको खोक्रो नारा लगाएपनि त्यसका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउन नसकेको बताए। 

खनालले भने, ‘दुई तिहाई बहुमतको सरकार बन्यो नि। नेकपाले दुई तिहाई बहुमत ल्यायो। तर त्यो दुई तिहाई बहुमतको सरकारबाट जे अपेक्षा गरिएको थियो। यो देशमा अब भूमि सुधारको कार्यक्रम लागू होला। यो देशमा अब कृषि क्रान्ति लागू होला। कृषिको आधुनिकीकरण होला। वा यान्त्रिकीकरण गरिएला। प्रत्येक किसानलाई मल, बीउ, प्राविधिक सेवा, अनुसन्धान सेवा उपलब्ध होलान्। त्यतातिर सरकारको ध्यान जाला। त्यसैगरी राष्ट्रिय औद्योगिकीकरणको कुरा आउला। हाम्रो आफ्नै देशमा आधारित उद्योगधन्दाहरु होलान्। पानी उद्योगहरु हामीले व्यापक बनाउन सक्छौं। त्यस्तै वनजन्य उद्योग। जडिबुटीजन्य उद्योगहरु। कृषिजन्य उद्योगहरु। हाम्रो जति सुन्दर देश कुन छ? हामी पर्यटनजन्य उद्योगहरु, यी हाम्रा राष्ट्रिय उद्योगहरु हुन्। हाम्रो देशको विशेषतामा आधारित उद्योगहरु हुन्। ती उद्योगहरु हामी स्थापना गर्न सक्थ्यौं। अब यो दुई तिहाइको सरकारले गर्ला भन्ने आम जनताले आशा गरे। माछो-माछो भ्यागुतो भयो। केही पनि भएन। एउटा उद्योग पनि बनेन। अगाडि बढेन। अनि, जनतामा अहिले निराशा छाउन थाल्यो।’

उनले थपे, ‘गरिबी उन्मूलन होला भन्ने आशा थियो। त्यो पनि खास केही भएन। निरक्षरता उन्मूलन गर्ने काम ह्वात्तै अघि बढ्ला भन्ने थियो। त्यो पनि राम्ररी भएन। त्यसो हुनाले जनताले एउटा निराशाको लहर छ। त्यो लहरले तपाईले देखि हाल्नु भयो–यो स्थानीय तहको निर्वाचन भयो। निर्वाचनका परिणामहरु अहिले सबै दलले पढ्नुपर्ने एउटा ग्रन्थको रुपमा हाम्रो सामू आएका छन्। त्यसको अनुभवहरु के हुन? शिक्षाहरु के हुन? अनि हामीले अघि बढ्नुपर्र्ने हुन्छ हेर्नुस्। आगामी निर्वाचन पनि आउँदैछ। त्यो निर्वाचनमा पनि सोचौं। हामीले यो देशमा जनवादी क्रान्ति सम्पन्न गर्यौं, अव संविधानले भनेजस्तो समाजवादतर्फ जाने हो भने त समाजवादी कार्यक्रम चाहिएन? समाजवादी नीति चाहिएन? त्यो समाजवादी नीति तथा कार्यक्रम कस्तो हुन्छ त? अब नेपालमा। त्यसबारेमा हामीले गहन ढंगले छलफल गर्दै भविष्यको नेपालको परिकल्पना गरेर अगाडि बढ्नुपर्ने हुन्छ।’

सम्मानित नेता खनालले नयाँ संविधान निर्माण भएपछि बनेका सरकारहरुले आफ्नै भूगोल अनुरुपको एउटा पनि उद्योगधन्दा स्थापना गर्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .