ad ad

राजनीति


माधव नेपालको निष्कर्ष : अमेरिकाले रुस र चीनलाई शत्रुराष्ट्र ठान्दा युद्धको खतरा बढ्यो

प्रतिवेदन भन्छ : तिब्बत र ताइवान चीनका अभिन्न अंग
माधव नेपालको निष्कर्ष : अमेरिकाले रुस र चीनलाई शत्रुराष्ट्र ठान्दा युद्धको खतरा बढ्यो

नेपालखबर
असार १४, २०७९ मंगलबार १५:१६, काठमाडौँ

सत्तारुढ नेकपा एकीकृत समाजवादीले रुस, चीन र उत्तर कोरियालाई अमेरिकाले शत्रु राष्ट्रका ठान्दा विश्व शान्ति खलबलिँदै गएको जनाएको छ। 

केन्द्रीय परिषद्को प्रथम  बैठकमा अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत ‘राजनीतिक तथा सांगठनिक प्रतिवेदन’मा अमेरिकाले रुस, चीन र उत्तर कोरियालाई शत्रु राष्ट्रका रुपमा व्यवहार गर्दा विश्व शान्ति खलबलिँदै गएको विश्लेषण गरिएको छ। 

अमेरिकाले हिन्द प्रशान्त रणनीतिअनुसार ती तीन राष्ट्रलाई प्रहारको केन्द्र बनाउँदा विश्वलाई युद्धको दिशामा धकेल्दै लगेको पनि प्रतिवेदनमा उल्लेख छ। 

‘हिन्द प्रशान्त रणनीतिअनुसार अमेरिकाले रुस, चीन र उत्तर कोरियालाई आफ्ना शत्रु राष्ट्रको रुपमा व्यवहार गर्ने र प्रहारको केन्द्र बनाउने कार्यले विश्व शान्ति खल्बल्याउँदै छ,’ अध्यक्ष नेपालको प्रतिवेदनमा भनिएको छ, ‘विश्वलाई चर्को द्वन्द्व, टकराव र युद्धको दिशामा धकेल्दै छ।’

एकीकृत समाजवादीका नजरमा तिब्बत र ताइवानसम्बन्धी नीतिका कारण चीन र अमेरिकाबीच नयाँ टकराव पैदा गर्ने खतरा उत्पन्न भएको छ। 

‘चीनको अभिन्न अंगको रुपमा रहेको तिब्बत र ताइवानसम्बन्धी अमेरिकी नीतिले चीन र अमेरिकाबीच नयाँ टकराव पैदा गर्ने खतरा उत्पन्न भएको छ,’ प्रतिवेदनमा उल्लेख छ।

एकीकृत समाजवादीले अफगानिस्तान, इराक, सिरियालगायतका मध्यपूर्वी देशमा एकपछि अर्को धक्का ब्यहोरे पनि आफ्नो हस्तक्षेपकारी कदम कायम राख्न अमेरिका र उसका सहयोगी देशहरु उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) विस्तारको प्रयत्नमा रहेका पनि आरोप लगाएको छ। 

‘त्यसले गर्दा विश्व शान्तिमा खलल पर्न गएको छ। हालै युक्रेनमाथि भएको रुसी आक्रमण पनि क्षेत्रीय प्रभुत्व कायम गर्ने पश्चिमी राष्ट्रहरुको प्रयत्न र रुसी सुरक्षा स्वार्थबीचको टकराव हो,’ प्रतिवेदनमा भनिएको छ। 

युक्रेनमाथि भएको रुसी आक्रमणका कारण विश्व शान्तिमा गम्भीर असर पर्नुका साथै मानवीय संकट, आर्थिक मन्दी, मूल्यवृद्धि, खाद्यान्न संकटको स्थिति सिर्जना भएको पनि प्रतिवेदनमा भनिएको छ। 

वर्तमान अन्तराष्ट्रिय परिस्थितिको व्याख्या गर्दै एकीकृत समाजवादीले कुनै पनि सैनिक गठबन्धन, प्रतिरक्षा रणनीति र सुरक्षा योजनामा संलग्न हुन नसकिने पनि प्रष्ट पारेको छ। 

‘हामी पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्र संघको बडापत्रको आधारमा छिमेकी तथा मित्र राष्ट्रहरुसँग आपसी हितमा आधारित सुमधुर सुरक्षा सम्बन्ध राख्न चाहन्छौँ,’ उसले प्रतिवेदनमार्फत भनेको छ, ‘हामी कुनै पनि सैनिक गठबन्धन, प्रतिरक्षा रणनीति र सुरक्षा योजनामा संलग्न हुन सक्दैनौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .