नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य दीनानाथ शर्माले नेकपा (एकीकृत समाजवादी) को मन्त्री फिर्ता गर्ने निर्णय अपरिपक्व भएको बताएका छन्।
मंगलवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य शर्माले यस्तो भनेका हुन्।
उनले ४/५ महिनामा कुनै पनि मन्त्रीले कामको परिणाम दिन नसक्ने भन्दै एउटा निश्चित अवधि काम गर्न पाउने अधिकार मन्त्रीलाई दिनुपर्ने बताए।
सदस्य शर्माले ३/४ महिनामा पालो पुर्याउन मात्रै मन्त्री बनाउने काम नगरी देश र जनताको विकासका लागि काम गर्न आवश्यक रहेको बताए।
उनले पालो पुर्याउन मात्रै मन्त्री बनाउने संस्कृतिलाई दुरुत्साहित गर्न आवश्यक रहेको बताए।
शर्माले समाजवादीले मन्त्री फेर्ने निर्णय जनतालेसमेत नस्वीकारे पनि त्यो अधिकार पार्टीलाई भएको बताएका छन्। उनले नेकपा (माओवादी केन्द्र) मा मन्त्री हेरफेरसम्बन्धी कुनै छलफल नभएको बताए।
‘अहिलेको राष्ट्रिय राजनीतिमा मन्त्रीहरु फिर्ता बोलाउने, नयाँ मन्त्री पठाउने तरंग छ । एकीकृत समाजवादीले आफ्ना केही मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरु पठाएको छ । त्यो उसको पार्टीको निर्णय हो । भरसक यस्तो नगरेको भए हुन्थ्यो । छिटोछिटो मन्त्री फेर्नु त्यति राम्रो होइन । जनताले त्यसलाई राम्रो मानेका छैनन्', उनले भने, 'मन्त्री ३/६ महिनामा पालो पुर्याएर चलाउने पद्धतिलाई प्रोत्साहन गर्नु हुँदैन। यसलाई निरुत्साहित गर्नुपर्छ । उसलाई राम्रोसँग एउटा कार्यकाल चलाउन दिनुपर्छ । ७ महिनामा कुनै मन्त्रीले केही परिणाम दिन सक्दैन। यसले देशको विकास गर्दैन।'
उनले माओवादीमा मन्त्री फेर्नेबारे कुनै कुरा नै नभएको पनि बताएका छन्।
'हाम्रो पार्टीले अहिले हामीले पठाएका मन्त्रीहरु फेर्ने कुरा गरेका छैनौँ । हाम्रो त्यसबारे छलफलको एजेण्डा नै बनेको छैन', उनले भने, 'मन्त्रीलाई छिटो फिर्ता गर्नुले गलत परम्पराको विकास हुन्छ । हामीले के पाउने के नपाउने भन्दा पनि राज्यसत्ता सञ्चालनका लागि परिपक्व निर्णय गर्न आवश्यक छ।’
शर्माले आगामी निर्वाचनसम्म अहिलेको गठबन्धन निर्धक्क जाने दाबी गर्दै त्यसलाई व्यवस्थित र सुदृढ गर्न आफूहरु लागिपरेको स्पष्ट पारे।
Shares

प्रतिक्रिया