राजनीति


रामकुमारीलाई सुदेशको प्रश्न : हिजो स्टाइल मार्दै मुखको टेप फ्याँकेको एकथान मन्त्रीकै लागि हो?

रामकुमारीलाई सुदेशको प्रश्न : हिजो स्टाइल मार्दै मुखको टेप फ्याँकेको एकथान मन्त्रीकै लागि हो?

नेपालखबर
असार १०, २०७९ शुक्रबार ११:१५, काठमाडौँ

गत जेठ १७ गते संघीय सरकारका चारजना मन्त्री फिर्ता लिने नेकपा एकीकृत समाजवादीको निर्णयबाट सुरु विवाद अझै थामिने अवस्था छैन। 

समाजवादीको सचिवालय बैठकले पर्यटनमन्त्री प्रेम आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, श्रम मन्त्री कृष्णकुमार श्रेष्ठमा र स्वास्थ्य मन्त्री विरोध खतिवडालाई फिर्ता गर्ने निर्णय लिएको थियो। 

त्यसैगरी स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई बढुवा गर्ने निर्णय लिएको थियो। त्यसलाई लिएर समाजवादीभित्र चर्किएको विवादले उग्र रुप लिइरहँदा बिहीबार हटाउन लागिएका मन्त्री र अध्यक्ष माधव नेपालबीच कोटेश्वरमा भनाभन भएको थियो।

सहरी विकास मन्त्री झाँक्रीसहितले आफूले राम्रो काम गरिरहेको अवस्थामा हटाउने निर्णय गरेर गलत गरेको गुनासो नेपालसमक्ष राखेकी थिइन्।

उनै झाँक्रीले बिहीबार साँझ नै पार्टीको विवाद चर्किरहेका बेला महिला मात्रै संलग्न हुने पार्टीको परिकल्पना सामाजिक सञ्जालमा पेश गरेकी थिइन्।

यस्तोमा मन्त्री पद छाड्न तयार नभएको आरोपसहित झाँक्रीसहितको आलोचना भइरहेको छ। केही कार्यकर्ताहरूले बिँडले ताप्के चलाउन थालेको भन्दै मन्त्रीहरूमाथि कटाक्ष गरेका छन्। 

समाजवादीको विवादले उग्ररूप लिइरहँदा त्यो अहिले सामाजिक सञ्जालमा पनि छताछुल्ल हुन थालेको छ। यसअघि अमेरिकी परियोजना एमसिसीविरुद्ध उठेको आफ्नै पार्टीको आन्दोलनबारे आलोचना गरेपछि झाँक्री विवादमा परेकी थिइन्। 

झाँक्रीको यो अभिव्यक्तिको पार्टीमा चर्को आलोचना भएको थियो। त्यसबेला एमसीसीविरुद्ध आन्दोलनको अग्रमोर्चामा थिए अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली।

माधव नेपालसँग बिहीबार कोटेश्वरमा विवाद गरेको कुरा बाहिरिएपछि उनैले शुक्रबार झाँक्रीमाथि कडा प्रहार गरेका छन्। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछिको आन्दोलनका क्रममा रत्नपार्कमा भएको सभामा मुखमा बाँधेको टेप स्टाइलिस शैलीमा फ्याँक्दै भनेकी थिइन्, 'बोल्न पाइन्छ।'

त्यही प्रसङ्गलाई जोडेर सुदेशले रामकुमारीमाथि निशाना साँधेका हुन्। रामकुमारीमाथि सुदेशको आक्रोशको कारण हो, पार्टी निर्णय भइसक्दा पनि मन्त्री पद नत्यागेर अटेरी गरिरहनु।

'म नै राज्य  हुँ' भन्ने भनाइ इतिहासमा फ्रान्सेली राजा लुई चौधौँ को सुनिन्थ्यो। तर, आजभोलि 'म नै मन्त्री, मन्त्री नै म'  भन्ने भनाइ पनि सुनिन थालियो', उनले झाँक्री र प्रेम आलेसहितलाई कटाक्ष गर्दै भनेका छन्, 'म के का लागि जन्मेको हो भने मन्त्री बन्नका लागि मात्रै, त्यो बाहेक मेरो केही छैन। मेरो अन्तिम ध्येय मन्त्री नै हो। मन्त्री बनेपछि गर्ने भनेको माफिया दलालको सेटिङमा काम गर्ने कमाउनेबाहेक अरु नसोच्ने, यस्तो उद्देश्य केवल मेरा लागि भन्ने भावना भएकाहरूबाट क्रान्ति समाजवाद भन्ने त कल्पना मात्र हो।'

उनले रामकुमारीले ओलीविरुद्धको आन्दोलनमा स्टाइल मारेर मुखको टेप फ्याँकेको पनि त्यही एक थान मन्त्रीका लागि रहेछ भन्दै कटाक्ष गरेका छन्। 

'अनि हिजो  मुखमा लगाएको टेप खोली खोली स्टन्ट मारी मारी गरेको भाषण त केवल खोक्रो आदर्शबाहेक के हुन सक्छ त कमरेड!', उनले सोधेका छन्, 'मन्त्रीबाहेक पनि जीवन जगत छ भन्ने बुझ्ने हो कि? एक थान मन्त्री त तपाईँले हिजो बोकेको मूल्य मान्यता रहे बाँचेमा कति हो कति, धेरै पटक मन्त्री, त्यो भन्दा माथि प्रधानमन्त्री बन्ने अवसर नै आउँछ। तर तपाईंले बोकेको मूल्य, मान्यता र सिद्धान्त मरेमा वा सकिएमा इतिहासमा गोरेबहादुर खपाङ्गी, बद्री मण्डल, टंक ढकाल पनि मन्त्री नै थिए हेक्का होला नि?'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad