यूएन डिसइन्गेजमेन्ट अब्जर्भर फोर्स (अन्डोफ) मिसन, सिरियाको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति प्रभुराम शर्माले अन्डोफ मिसन अन्तर्गतका सुरक्षा पोष्टहरुको भ्रमण गरेका छन्।
प्रधानसेनापतिको टोली लेबनानस्थित युनिफिल मिसनको औपचारिक भ्रमण सम्पन्न गरी सिरिया पुगेका हुन्।
भ्रमणको क्रममा, उक्त भ्रमण टोलीले माउण्ट हर्मन कम्प्लेक्सस्थित फोर्स हेड क्वाटर ईन्फेन्ट्री सपोर्ट युनिट (शान्ति सेना) दशौं डफ्फाको भ्रमण गरी उक्त ईलाकाको वस्तुस्थिती लगायत विविध पक्षहरुका बारेमा समेत जानकारी लिएका थिए।
सो अवसरमा प्रधान सेनापति शर्माले उक्त शान्तिसेना युनिटमा उल्लेखनीय कार्य गर्ने चार जना नेपाली शान्ति सैनिकलाई ‘प्रधान सेनापति प्रशंसा निशान’ प्रदान गरे।
सोही क्रममा, प्रधान सेनापति शर्माले फोर्स हेड क्वाटर ईन्फेन्ट्री सपोर्ट युनिटका सकलदर्जालाई सम्बोधन गर्दै भौगोलिक, सामरिक तथा सुरक्षात्मक दृष्टिकोणले समेत अति महत्वपूर्ण स्थानको रुपमा रहेको माउण्ट हर्मन ईलाकामा तैनाथ रहेर शान्ति स्थापनार्थ आफ्नो योगदान दिई नेपाल, नेपाली सेना र संयुक्त राष्ट्र संघको विश्वसनियता बढाएकोमा धन्यवाद दिए।
साथै, माउण्ट हर्मन कम्प्लेक्सको निरीक्षण भ्रमण पश्चात उनीहरुले दमास्कसमा सिनियर सिरिया अरब डेलिगेसनका सैनिक अधिकृत तथा परराष्ट्र मन्त्रीसँग शिष्टाचार भेटघाट गरी ‘वल्ड दमासकस क्यास्टल’को अवलोकन गर्ने योजना रहेको नेपाली सेनाले जनाएको छ।
Shares
प्रतिक्रिया