ad ad

राजनीति


एसपीपीबारे आरोप पुष्टि गर्न नसके प्रचण्डले माफी मागुन् : ईश्वर पोखरेल

एसपीपी सुशील कोइरालाको पालामा अघि बढेको दाबी
एसपीपीबारे आरोप पुष्टि गर्न नसके प्रचण्डले माफी मागुन् : ईश्वर पोखरेल

नेपालखबर
असार २, २०७९ बिहिबार १५:२३, काठमाडौँ

नेकपा(एमाले)का सांसद ईश्वर पोखरेलले अमेरिकाद्वारा प्रश्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता केपी ओली नेतृत्वको सरकारका पालामा अघि नबढाइएको बताएका छन्। 

बिहीवारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद ईश्वर पोखरेले एसपीपी सम्झौता केपी ओली नेतृत्वको सरकारको पालामा अघि बढाइएको भनेर गलत कुरा सम्प्रेषण गरिएको बताए। 

उनले गठबन्धनले तथ्य विपरित र पुर्वाग्रहपूर्ण कुरा गरेको बताए। उनले एसपीपी प्रस्ताव नेपाल आउँदा नेपाली कांग्रेस नेतृत्वको सरकार रहेको उल्लेख गरे।

पूर्व उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका सांसद पोखरेलले आफू मन्त्री रहँदा त्यसबारे कुनै सकारात्मक कुरा गरेको लिखत, वक्तव्य, माइन्युट भए संसदमा प्रस्तुत गर्न चुनौती दिँदै त्यसको पूर्ण जवाफदेही लिन तयार रहेको बताए। 

त्यतिखेर यो प्रस्तावको विषयमा कुरा आएको र आफूहरुले कार्यदल बनाएको स्मरण गर्दै उनले कार्यदलले सम्झौता अगाडि बढाउनु हुँदैन भन्ने निस्कर्ष निकालेपछि आफूहरुले कुनै प्रक्रिया अगाडी नबढाएको उनले स्पष्ट पारे। 

‘गठबन्धनका नेताहरु आज गलत ढंगले झुटो कुरा बोलिरहनुभएको छ । गठबन्धनलाई नेतृत्व गर्ने नेताहरु सरासर झुटो कुरा बोलिरहनुभएको छ ।  एमालेप्रति आक्षेप लगाउने काम गर्नुभएको छ', उनले भने, '२०१५ मा प्रधानमन्त्री सुशील कोइराला हुनुहुन्थ्यो, रक्षा पनि। २०१७ मा प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्थ्यो। त्यसबेला सकारात्मक प्रस्ताव पठाउनेहरू अहिले गलत कुराहरु जो बोलिरहनुभएको छ।'

प्रचण्डले एमालेप्रति संकेत गर्दै लगाएको आक्षेपको उनले निन्दा गरे। 'प्रचण्डको भनाइको म भर्त्सना गर्न चाहन्छु । म चुनौती साथ भन्न चाहन्छु , गठबन्धनका नेताले भन्नुभएछ हालसालै यो केपी ओलीको पालामा भयो', उनले भने, 'म केपी ओलीले नेतृत्वको सरकारको बेलामा उपप्रधान तथा रक्षा मन्त्री थिएँ । यस विषयमा म पूर्ण जिम्मेवारीका साथ भन्न चाहन्छु, यदि त्यसबेला कुनैपनि सकारात्मक कुरा, त्यसका केही लिखतहरु, वक्तव्यहरू, माइन्युटहरु केही कुराहरु छन् भने यो संसद समक्ष प्रस्तुत गरियोस्। त्यसको पूर्ण जवाफदेही लिन हामी तयार छौँ।'

उनले आफूहरुको सरकारका पालामा एसपीपी इन्डो प्यासिफिकको अंग बनेर आएपछि गम्भीर रुपमा लिएको बताए। 

विहीबार पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले ओली सरकारका पालामा एसपीपी अघि बढेको ऐतिहासिक तथ्य रहेको बताएका थिए । 

प्रचण्ड भन्छन् : एसपीपीको सम्झौता ओलीकै पालामा भएको हो, अहिलेको प्रचार झुटो

'जब केपी ओलीले नेतृत्व गरेको बेलामा त्यो विषय उठ्यो, एसपपीलाई इण्डोप्यासिफिक ट्राटेजीको अंग बनाएर कुराहरु आइसकेपछि हामीले गम्भीर रुपमा लिनुपर्छ', उनले भने, 'यो हाम्रो असंलग्न परराष्ट्र नीति, कुनै सैनिक गठबन्धनमा सामेल नहुने हाम्रो अडान यसलाई कमजोर पार्ने हिसावले जुन कुरा आएको छ। यसबारे हामीले जवाफ दिनुपर्छ भनेर त्यसबेला एउटा कार्यदल निर्माण गर्‍यौँ।'

उनले कार्यदलमा परराष्ट्र सचिवसहित रहेको पनि बताए। 'परराष्ट्र सचिवको संयोजकत्वमा, रक्षा सचिव, गृह सचिव र नेपाली सेनाका प्रतिनिधिसहित कार्यदल बन्यो। जसले एसपीपीको नाममा आएको यो चिजलाई अगाडि बढाउनु उचित हुँदैन भनेर निस्कर्षहरु निकालेको छ', उनले भने, 'यो तथ्य हुँदाहुँदै लाज पचाएर गलत ढंगले जुन ढंगले कुराहरु अहिले उछालिँदैछ। म यसप्रति खेद व्यक्त गर्न चाहन्छु।’ 

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतिर लक्षित गर्दै गठबन्धनका नेताहरुले ओली नेतृत्वको सरकारलाई आरोप लगाएको उल्लेख गरे। पोखरेलले एमालेमाथि लगाएको आरोपको प्रमाण पेस गर्न पनि दाहाललाई चुनौती दिए। 'प्रमाण पेस गर्न नसके गैरजिम्मेवार अभिव्यक्तिको लागि क्षमा माग्नुपर्छ', उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .