ad ad

राजनीति


अमेरिकी सक्रियता बढेका बेला विश्व बैंकका दुई उच्च अधिकारी नेपाल आउँदै

अमेरिकी सक्रियता बढेका बेला विश्व बैंकका दुई उच्च अधिकारी नेपाल आउँदै

सन्तोष घिमिरे
जेठ ३०, २०७९ सोमबार २२:१०, काठमाडौँ

विश्व बैंकका दुई उच्च अधिकारी अर्को साता नेपाल भ्रमणमा आउने भएका छन्। अन्तर्राष्ट्रिय वित्तीय संस्था विश्वका बैंक अन्र्तगत विकास नीति तथा साझेदारी हेर्ने प्रबन्ध निर्देशक मारी पङ्गेस्तु र बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष हार्टविग सेफर असार ५ गते नेपाल आउने भएका हुन्। विश्व बैंक मुख्यालयले दुई उच्च अधिकारीको नेपाल भ्रमणबारे हालै जानकारी गराएको हो। 

अर्थ र परराष्ट्र मन्त्रालयले विश्व बैंकका उच्च अधिकारीको भ्रमणमा उठ्नसक्ने सम्भावित एजेन्डाबारे छलफल गरिरहेका छन्। 

अर्थ मन्त्रालयका एक अधिकारीका अनुुसार भ्रमणमा विश्व बैंकको सहयोगमा सञ्चालित विभिन्न परियोजना कार्यान्वयन अवस्था, नेपालको सुशासन र कोरोना महामारीपछिको नेपाली अर्थतन्त्रलगायत विषयमा छलफल हुनेछ। विश्व बैंकका भावी नेपाल नीतिबारे समेत ती अधिकारीले छलफल गर्ने भएका छन्। 

एक साता नेपालमा रहँदा विश्व बैंकका यी दुई वरिष्ठ अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्री पम्फा भुसाल लगायतसँग भेटवार्ता गर्ने भएका छन्। उनीहरु विश्व बैंकद्वारा काठमाडौ बाहिर सञ्चालित परियोजनाको अवलोकन भ्रमणमा समेत जानेछन्।

अमेरिकाको वासिङ्टनमा मुख्यालय रहेको विश्व बैंक नेपालको एक प्रमुख विदेशी दातृ निकाय हो। 

डेढ साताअघि मात्रै विश्व बैंक सञ्चालक समितिले नेपालका लागि ८ करोड अमेरिकी डलर बराबरको ऋण सहायता अनुमोदन गरेको थियो। उक्त रकम कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा खानेपानी तथा सरसफाइमा सुधार ल्याउन तथा एकीकृत पानीको स्रोत व्यवस्थापनमा खर्च गर्ने लक्ष्य राखिएको विश्व बैंकले जनाएको छ। 

नेपालको शिक्षा, गरिबी निवारण, शुशासन, जनशक्ति विकास, संघीयता कार्यान्वयन, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी र भूकम्पपछिको पुनर्निर्माणका क्षेत्रमा विश्व बैंकले ऋण सहायता प्रदान गर्दै आएको छ। 

को हुन् पङ्गेस्तु र सेफर? 
मारी एल्का पङ्गेस्तु सन् २०२० मार्च १ यता विश्व बैंकको महत्वपूर्ण ओहदामा छिन्। विकास नीति तथा साझेदारी हेर्ने प्रबन्ध निर्देशकको जिम्मेवारीमा रहेकी उनको यो पहिलो नेपाल भ्रमण हुनेछ। 

पङ्गेस्तु एसियाली मुलुक इन्डोनेसियाकी पूर्व व्यापार तथा पर्यटन मन्त्री हुन्। प्राज्ञिक क्षेत्रमा ३० बर्ष बिताएकी उनी अन्तर्राष्ट्रिय अर्थतन्त्र विज्ञका रुपमा परिचित छिन्। 

पङ्गेस्तुसँगै नेपाल आउन लागेका सेफर सन् २०१८ जुलाई १ मा विश्व बैंकको दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्षमा नियुक्त भएका थिए। उनलाई दक्षिण एसियाको गरिबी अन्त्य गर्ने तथा साझा समृद्धिका लागि विश्व बैंकका तर्फबाट भूमिका खेल्ने जिम्मा छ। उनी विगत ३० वर्षयता विश्व बैंकमा आबद्ध छन्।  

अमेरिकी सक्रियता बढेका बेला हुँदैछ भ्रमण 
पछिल्लो समय अमेरिकासहित पश्चिमा मुलुकको नेपालमा चासो र सक्रियता बढिरहेकै बेला विश्व बैंकका दुई उच्च अधिकारीको भ्रमण हुन लागेको हो। विश्व बैंक अमेरिकी दबादबा रहेको अन्तर्राष्ट्रिय वित्तीय संस्था हो। लामो समयदेखि विश्व बैंक नेपालमा सक्रिय छ। यस अन्तर्गतका धेरैजसो परियोजनामा अमेरिकाका सामरिक तथा रणनीतिक स्वार्थ गाँसिएको आरोप लाग्ने गरेको छ।  

देउवा नेतृत्वको सरकारले परराष्ट्र सम्बन्ध सञ्चालनमा लिएको तरिकाप्रति अमेरिका र अन्य पश्चिमा विकास साझेदार मुलुक उत्साहित देखिन्छन्। 

गत फेब्रुअरी अन्तिम साता नेपालको संसदबाट अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदन भएपछि पश्चिमा दातृ निकाय उत्साहित भएको देखिन्छ। अमेरिका र उसले अघि बढाएका नीतिप्रति ‘फ्रेन्डली एप्रोच’ लिएका कारण देउवा सरकारप्रति अमेरिकाले अन्तर्क्रिया बढाइरहेको विश्लेषण भएको छ।  

वैशाख अन्तिम साता अमेरिकी विकास नियोग यूएसएआईडीले नेपाललाई झन्डै ८० अर्ब रुपैयाँ बराबरको अनुदान सहायता पाँच वर्षमा दिने घोषणा गरेको थियो। पश्चिमा दातृ निकाय नेपालको अहिलेको सरकारप्रति सकारात्मक हुनुमा भूराजनीतिक स्वार्थ पनि मिसिएका छन्। 

रुस र युक्रेनबीचको द्वन्द्वबारे राष्ट्रसंघीय मञ्चमा भएका मतदानमा नेपालले युक्रेनका पक्षमा दिएको समर्थन, एमसीसीसँगको सम्झौता अनुमोदन र चीनले अघि सारेको बेल्ट एन्ड रोड अवधारणा अन्तर्गतका विकास परियोजना अघि बढाउन देउवा सरकारले देखाएको हिच्किचाहटलाई पश्चिमा मुलुकले नेपालमा आफ्नो पक्षमा रणनीतिक माहौल बनिरहेको बताउने गरेका छन्। 

एमसीसी अनुमोदनपछि अमेरिकाबाट निरन्तर भ्रमण भइरहेका छन्। पछिल्लोपटक आइतबार मात्रै अमेरिकी सेनाका जर्नेल चार्ल्स ए फ्लिन नेपाल भ्रमण सकेर फर्के। एक महिनाअघि अमेरिकाकी तिब्बत मामिला हेर्ने विशेष संयोजक उज्रा जियाको नेपाल भ्रमण भएको थियो। त्यसको लगभग एक महिनाअघि अमेरिकाका पाँच प्रभावशाली सांसद यहाँ आएका थिए। अमेरिकी सांसदको भ्रमणको अघि अप्रिल महिनामा अमेरिकी सेनाको युटा नेसनल गार्डका मेजर जनरल माइकल जे टर्ली नेपाल भ्रमणमा थिए। 

अमेरिकाका तर्फबाट राजनीतिक तथा सैनिक अधिकारीको तारन्तारको भ्रमणपछि अब अमेरिकी दबदबा रहेको वित्तीय संस्था विश्व बैंकका अधिकारीको भ्रमण हुन लागेको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .