प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द गर्नुपर्ने कारणको खोजी गरेका छन्।
प्रतिनिधिसभाको आइतवार बसेको बैठकमा समय लिएर बोल्दै ज्ञवालीले सत्तापक्षकै दलका प्रमुख सचेतकले प्रधानमन्त्रीको भ्रमण हुन नहुने तर्क के कारणले गरेको हो? भन्दै प्रश्न गरेका हुन्।
‘दुईदिन अघि सत्ता गठबन्धनको एक घटकका प्रमुख सचेतकले प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणको विषयलाई लिएर गम्भीर विषय उठाउनुभएको छ,’ ज्ञवालीले भने, ‘संसदीय व्यवस्थामा सत्ता पक्षका प्रमुख सचेतकको आवाजलाई आधिकारिक मानिन्छ। सत्तापक्षकै एउटा घटकका प्रमुख सचेतकले प्रधानमन्त्रीको भ्रमण रद्द गरियोस् भन्ने तहसम्म प्रश्न उठाउने विषय भनेको सामान्य विषय हो जस्तो लाग्दैन।’
सत्ता गठबन्धनमा रहेको आन्तरिक विवाद र असमझदारीलाई संसदमा राखेको हो कि? भन्दै प्रश्न गरे।
‘यो विषयलाई सत्ता गठबन्धनको आन्तरिक विवाद वा असमझदारी मात्रै हो कि? या यो भ्रमणसँग जोडिएका महत्वपूर्ण विषय छन्। जसबारे सत्ता घटकबीच चलिरहेको छ। त्यस विषय उठाउनुपर्छ भन्नेमा प्रमुख सचेतक रहनुभयो,’ उनले भने, ‘प्रधानमन्त्रीको तर्फबाट यो विषयमा अविलम्ब जानकारी गराउन आवश्यक छ।’
दुईदिन अघि संसदमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रधानसेनापति र प्रधानमन्त्रीको अमेरिका भ्रमण आवश्यक नभएको बताएका थिए।
‘प्रधानसेनापति र प्रधानमन्त्रीको भ्रमण आवश्यक छैन,’ उनले भनेका थिए, ‘राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर भिजिट स्थगित गर्न आग्रह गर्दछु।’
उनले भ्रमण स्थगित गर्न आग्रह गर्दै भनेका थिए, ‘पहिलो कुरा भिजिट गर्नै हुँदैन। भिजिट भयो भने पनि स्टेट स्ट्राटेजी पार्टनरसिप (एसपीपी) लगायत कुनै सम्झौता हुनुहुँदैन।’
Shares

प्रतिक्रिया