ad ad

राजनीति


कांग्रेसलाई उपसमितिको सुझाव : राम्रो उम्मेदवार छान्ने, मीठाे गीत बनाउने

कांग्रेसलाई उपसमितिको सुझाव : राम्रो उम्मेदवार छान्ने, मीठाे गीत बनाउने

केशव सावद
जेठ २८, २०७९ शनिबार १४:५८, काठमाडौँ

नेपाली कांग्रेसको अनुगमन, मूल्यांकन तथा सुपरीवेक्षण उपसमितिले आगामी निर्वाचनमा सत्ता साझेदार दलसँग चुनावी तालमेल हुने अवस्थामा स्थानीय तहमा देखिएको समन्वय अभाव र उम्मेदवार चयनमा देखिएको कमजोरी सच्याउनुपर्ने सुझाव दिएको छ।

स्थानीय तह निर्वाचनपछि केन्द्रीय कार्यालयलाई बुझाइएको उपसमितिको प्रतिवेदनमा तालमेल हुने अवस्थामा स्थानीय तहमा देखिएको समन्वय अभाव र उम्मेदवार चयनमा देखिएको कमजोरी सच्याउनुपर्ने सुझाव दिइएको छ। 

‘निर्वाचन रणनीति अन्तर्गत गठबन्धन अपनाएको अवस्थामा नेपाली कांग्रेसले गरिआएको समन्वयकारी भूमिका आगामी दिनमा अझ व्यवस्थित र योजनाबद्ध ढंगले कायम राख्दै गठबन्धन हुने अवस्थामा जिल्ला तथा स्थानीय तहमा देखिएको समन्वय अभाव र उम्मेदवार चयनका सन्दर्भमा देखिएको कमजोरी सच्याउनुपर्ने,’ सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको प्रतिवेदनमा भनिएको छ। 
उपसमितिले आसन्न संघीय र प्रादेशिक निर्वाचनमा चुनावी तालमेल गर्दा कांग्रेसले अधिकतम संख्या लिने गरी वातावरण बनाउनुका साथै तालमेल स्वाभाविक देखिने गरी उम्मेदवारी बाँडफाँट गर्नुपर्ने पनि सुझाएको छ। 

स्थानीय तह निर्वाचनमा देखिएको उत्साहजनक नतिजालाई आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि कायम राख्न प्रचार–प्रसार शैलीमा आधुनिक प्रविधिको प्रयोग गर्दै पार्टीको पक्षमा माहोल सिर्जना गरेर अझ उपलब्धिमूलक बनाउन प्रयत्न गर्नुपर्ने पनि उपसमितिको निष्कर्ष छ। 

केन्द्रीय सदस्य प्रदीप पौडेल संयोजकत्वको उपसमितिले आगामी निर्वाचनमा पार्टीको पक्षमा मतदाता आकर्षित गर्नका लागि अपनाउनुपर्ने चुनावी प्रचार शैलीको उपाय पनि सुझाएको छ। 

चुनाव प्रचार–प्रसारका लागि रणनीति तयार गर्दा प्राविधिक ज्ञान भएका र डिजिटल दुनियाँसँग सापेक्ष हुँदै आम मानिसमा पुग्न पार्टीले गरेका राम्रा कामलाई व्यवस्थितरुपमा लोकभाका र अन्य विभिन्न भाषामा कर्णप्रिय गीत, डकुमेन्ट्री र भिडिओ कन्टेन्टका रुपमा तयार गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। 

ती प्रचार सामग्रीहरुलाई कार्यकर्तामार्फत् प्रचार गर्नुपर्ने, आम सञ्चारमाध्यमबाट सकारात्मक सन्देश दिने गरी आक्रामक शैली अपनाउनुपर्ने सुपरीवेक्षण उपसमितिको सुझाव छ। 

३४ बुँदे सुझावमा उपसमितिले निर्वाचनको प्रचारका क्रममा पर्टीको सवै तहका नेताले पाटीलाई क्षति नहुने गरी अभिव्यक्ति दिनुपर्नेमा जोड दिइएको छ। साथै चुनाव प्रचारका क्रममा फरक परिवेशमा गएर अभिव्यक्ति दिँदा स्थानीय नेता–कार्यकर्ताको परामर्शमा मात्रै दिन पनि सुझाइएको छ। 

‘नेपाली कांग्रेसका जुनसुकै तहका नेताले पनि निर्वाचन प्रचारका क्रममा ज्यादै सोच विचार गरेर पार्टीलाई लाभ हुने (कुनै पनि पक्षबाट क्षति नहुने) अभिव्यक्ति दिनुपर्ने,’ प्रतिवेदनमा भनिएको छ, ‘आफ्नो परिवेशभन्दा बाहिर गएर अभिव्यक्ति दिँदा त्यहाँको परिवेश बुझ्ने, स्थानीय साथीहरुसँग परामर्श लिएरमात्रै अभिव्यक्ति दिनुपर्ने।’

स्थानीय तह निर्वाचनको नतिजा अपेक्षाकृत हुन नसक्नुका पछाडि १७ कारण रहेको पनि उपसमितिको ठम्याइ छ। गठबन्धन दलका नेता–कार्यकर्ताले आफ्नो कर्तव्य, जिम्मेवारी, उत्तरदायित्व पूर्णरुपमा पूरा गरेर गठबन्धनको औचित्यता बुझाउन नसकेको उपसमितिको प्रतिवेदनमा उल्लेख छ। 

‘गठबन्धनमा आवद्ध भएका दलमा रहेका असन्तुष्ट नेता तथा कार्यकर्तालाई केन्द्रीय नेताले समन्वय गर्न नसकेको,’ प्रतिवेदनमा भनिएको छ, ‘गठबन्धनमा आबद्ध दलहरुको प्रचार–प्रसार परिणाममुखीभन्दा पनि प्रचारमुखी रहेको।’

उपसमितिले आसन्न निर्वाचनका लागि राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल मर्म आत्मसात गर्दै चुनावी रणनीति पूर्णरुपमा परिवर्तन गर्नुपर्नेमा समेत जोड दिएको छ। 

आगामी निर्वाचनमा जित हासिल गर्नका लागि उपसमितिले पाँचबुँदे चुनावी रणनीति पनि पार्टीलाई सुझाव स्वरुप प्रतिवेदनमार्फत बुझाएको छ। पाँचबुँदे चुनावी रणनीतिमा उम्मेदवार छनोट, घोषणापत्र, प्रचार–प्रसार, मतदाता शिक्षा र व्यवस्थापकीय कार्य समेटिएको छ।  
 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .