प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले पूर्वपश्चिम विद्युतीय रेल मार्ग अन्तर्गतको काँकडभिट्टा–इनरुवा खण्डको लागि आवश्यक भन्दा बढी जग्गा रोक्का गरिएको बताएका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका लिङ्देनले रोक्का गरिएको जग्गामा काम पनि अगाडि नबढाइएकाले फुकुवा गर्नुपर्ने बताएका छन्।
उनले उक्त रेलमार्ग अन्तर्गतका जग्गालाई मुआब्जा दिन २५ अर्ब लाग्ने अवस्थामा अहिले एक अर्ब मात्रै छुट्याइएकाले बन्नेमै शंका व्यक्त गरे।
‘पूर्वपश्चिम विद्युतिय रेल मार्ग अन्तर्गतको काँकडभिट्टा–इनरुवा खण्डको लागि आवश्यक पर्ने ६०५ हेक्टर जमिनका लागि ६०५ हेक्टर मात्रै होइन, सम्बन्धित कित्ताका सबै जग्गा रोक्का गरिएको छ', उनले भने, 'तर कुनै पनि काम बढेको छैन।'
लिङ्देनले मुआब्जा बाँड्ने २५ वर्ष लागेपछि रेल बन्ने कुरा परको हुने पनि बताए।
'मुआब्जाका लागि मात्रै २५ अर्ब आवश्यकता पर्ने भनिन्छ। तर अहिले रकम १ अर्ब व्यवस्था गरिएको छ', उनले थपे, 'यही हिसाबले मुआब्जा दिँदै २५ वर्ष लाग्ने रहेछ। यसरी कति वर्षमा बन्ला रेलमार्ग? त्यसकारण नहुने कामको लागि जग्गा रोक्का राख्नु भएन। फुक्का गरिदिनुपर्यो।’
Shares

प्रतिक्रिया