ad ad

राजनीति


काठमाडौंको नीति तथा कार्यक्रम : बालेन्द्रको ‘भिजन’मा तीनदलको घोषणापत्र ‘फ्युजन’

यस्तो बन्दैछ काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम
काठमाडौंको नीति तथा कार्यक्रम : बालेन्द्रको ‘भिजन’मा तीनदलको घोषणापत्र ‘फ्युजन’

वसन्त अर्याल
जेठ २६, २०७९ बिहिबार २०:४५, काठमाडौँ

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्नका लागि तीन सदस्यीय समिति बनाएको छ। समितिले बालेन्द्र शाहको भिजन र उपमेयर सुनिता डंगोलको आठ खम्बे विकास मोडेललाई नीति तथा कार्यक्रममा ढाल्दैछ।

महानगरमा १९ जना वडाध्यक्ष नेपाली कांग्रेस, १२ जना वडाध्यक्ष जितेको नेकपा एमाले र एउटा वडाध्यक्ष जितेको एकीकृत समाजवादीका घोषणापत्रलाई पनि नीति कार्यक्रममा समेटिने भएको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको भिजन अनुसार असार ५ गतेभित्र नीति तथा कार्यक्रममा आउने महानगर स्रोतले बतायो। शाहले उम्मेदवारीका क्रममा सार्वजनिक गरेको प्रतिवद्धता अनुसार नै नीति तथा कार्यक्रम बनिरहेको महानगरका कर्मचारी बताउँछन्।

असारको पहिलो हप्ता महानगर प्रमुख बालेन्द्रका तर्फबाट नीति तथा कार्यक्रम लाइभ हुनेछ। दिनभरिको छलफलपछि सोही दिन नीति तथा कार्यक्रम पारित गर्ने महानगरको तयारी छ।

शाहले प्रस्तुत गरेको सोही नीति तथा कार्यक्रमअनुसार असार १० गते उपमेयर सुनिता डंगोलले बजेट प्रस्तुत गर्नेछिन्।

बजेट प्रस्तुत भइसकेपछि ५ दिनजति जनप्रतिनिधिहरुलाई अध्ययन गर्न दिइनेछ। त्यसपछि आर्थिक विधेयक, विनियोजन विधेयकहरुमाथि छलफल भई पारित गरिनेछ। बजेट प्रस्तुत भएको दुई साताभित्र पारित भइसक्ने स्रोतले जानकारी दियो।

बालेन्द्रको भिजन


महानगरको नीति तथा कार्यक्रम बनाउनका लागि गठित समितिका एक सदस्यका अनुसार बालेन्द्रको राजनीतिक प्रतिवद्धतालाई नीति तथा कार्यक्रममा समेट्ने गृहकार्य भइरहेको छ।

महानगर प्रमुख शाहको प्रतिवद्धता ठूला कार्यक्रमभन्दा नीतिगत सुधारतर्फ उन्मुख छ। फोहोर व्यवस्थापन  र यातायात क्षेत्रलाई व्यवस्थित गर्ने उनको मुख्य प्राथमिकता छ। महानगरले अघि सारेका राम्रा नीति तथा कार्यक्रमलाई यो पटक पनि समावेश गरिनेछ।

शिक्षामा महानगरभित्रका कक्षा ८ सम्मका पाठ्यक्रम परिमार्जन हुने गरी नीति तथा कार्यक्रम आउने भएको छ,  जसमा प्रारम्भिक बाल्यकाल शिक्षा देखी सूचना प्रविधि शिक्षाको परिचय दिने गरी पाठ्यक्रम विकास हुनेछ।

त्यस्तै सामुदायिक विद्यालयको पूर्वाधार गुणस्तर र प्राविधिक शिक्षामा जोड दिने गरी नीति तथा कार्यक्रम आउँदै छ। निजी विद्यालयमा शुल्क बमोजिम गुणस्तरीय शिक्षा छ वा छैन महानगरबाट अडिट गरिनेछ।

नेपाल भाषा, रञ्जना लिपि र नेपाल सम्वतको प्रवर्द्धन गर्दै कक्षा १ देखि ८ सम्मका पाठ्यक्रममा परिचय समावेश गरिने कार्यक्रम आउँदैछ।

तीन दलको घोषणापत्र पनि समेटिने
एमालेबाट निर्वाचित उपमेयर र वडाध्यक्षहरुको घोषणापत्रमा उठाइएका विषयलाई पनि नीति कार्यक्रममा समेटिने स्रोतले बतायो। सामुदायिक विद्यालयहरुमा स्थानीय विषयको पठनपाठन का साथै महानगरभित्रका ११ वटा सामुदायिक विद्यालयहरुमा सञ्चालन गरिएको प्राविधिक विषयको पढाइ सबै वडामा विस्तार गर्ने एमालेको नीति छ।

एमाले सरकारका पालामा अघि सारिएको ‘एक नर्स एक विद्यालय कार्यक्रम’ पनि नीति तथा कार्यक्रममा समावेश हुन सक्ने स्रोतले नेपालखबरलाई बतायो।

त्यस्तै, कांग्रेसको संकल्पमा उल्लेख रहेको शिक्षा र सिकाइको गुणस्तरमा वृद्धि गर्दै सुलभ र सबैको पहुँचयुक्त बनाउने साझा एजेन्डाको रुपमा रहेको छ।

एकीकृत समाजवादीले पनि वडा नम्बर १५ मा जितेको हुनाले सो दलको घोषणापत्रमा उठाइएका एजेण्डालाई पनि नीति तथा कार्यक्रममा समेट्ने महानगरको तयारी छ।

नीति तथा कार्यक्रममा समेटिने विषयहरु यस्ता छन् –

वडामै दीर्घकालीन स्वास्थ्य परीक्षण
प्रत्येक वडामा नियमित स्वास्थ्य जाँचका लागि डायग्नोस्टिक ल्याब सहितको स्वास्थ क्लिनिक सुरुवात गरिने शाहले चुनावअघि प्रतिवद्धता जनाएका थिए।

अस्पतालको पूर्वाधार र स्वास्थ्यकर्मीको सेवा सुविधामा वृद्धि हुने र महानगरको स्वामित्वमा पूर्ण सुविधायुक्त एम्बुलेन्स सेवाहरु सुचारु हुने बालेनको भिजनमा उल्लेख छ। त्यस्तै, एमालेको घोषणापत्रमा पनि निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने उल्लेख थियो।

७० वर्ष माथिका वृद्धको निःशुल्क स्वास्थ्य परीक्षण घरघरमै गरिने बालेन्द्र र एमाले दुवैको घोषणापत्रको भाव रहेकाले नगरबासीको स्वास्थ्य अवस्था पहिचानका लागि हेल्थ कार्ड सिस्टम अवलम्बन गरिने नीति आगामी आर्थिक वर्षको महानगरको कार्यक्रममा समावेश हुने स्रोतले बतायो। 

कांग्रेसको संकल्पमा पनि स्वास्थ्य प्रणालीको विकास गर्दै सबै वडाहरुमा  रोकथाम, परीक्षण, उपचार र पुनर्स्थापना गर्ने विषय नीति तथा कार्यक्रममा स्थान पाउने महानगर स्रोतले बतायो।

बिहानैदेखि सरकारी काम
महानगरभित्रका सरकारी काम विहानैबाट हुनेगरी नीति तथा कार्यक्रम ल्याइँदै छ। सरकारी कार्यालयमा सीसीटीभी जडान, सरकारी प्रक्रियाको अनुगमन र फिल्टर गर्न स्थानीय जनतासँग मेयरको मासिक वडा बैठकको व्यवस्था गरिने बालेन्द्रको भिजन छ।

बालेन्द्रले विहानदेखि राति १० बजेसम्म सरकारी कार्यलय खोली ट्राफिक व्यवस्थापन गर्ने बताउँदै आएका छन्। रातिको समयमा सरकारी कामसँगै व्यापार व्यवसाय सुचारु राख्दा काठमाडौंमा सुरक्षाका लागि प्रारम्भिक चरणमा १० हजार सीसीटीभी जडान गरिने बालेन्द्रको भिजनलाई नीति तथा कार्यक्रममा कसरी समावेश गर्ने भन्नेबारे समितिले काम गरिरहेको स्रोतले बतायो।

काम अनलाइनबाट, प्रमापणपत्र होम डेलिभरी
महानगरले वडा र नगरपालिका स्तरहरुमा अनलाइन भुक्तानी प्रणाली सुरुवात गर्न छ। जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता प्रमाणपत्र जस्ता फारमहरुको लागि सबै अनलाइनबाटै आवेदन दिन सक्ने कार्यक्रम ल्याइँदैछ। जग्गा कर, घरबाहाल कर, कम्पनी कर लगायत सबै अनलाइनबाट हुनेछन्। अनलाइनबाट भएका कामको प्रमाणपत्र होम डेलिभरी गर्ने कार्यक्रम समावेश हुनेछन्।

यातायात तथा  पूर्वाधार
मेयर बालेन्द्र शाहले घोषणापत्र बमोजिम कल सेन्टर स्थापना गरिसकेका छन्। अब कल सेन्टर मार्फत भौतिक पूर्वाधार एम्बुलेन्सद्वारा सडक, ढल जस्ता पूर्वाधारको मर्मत गर्ने कार्यक्रम आउँदैछ। सम्पदाको निर्माण तथा पुननिर्माण उपभोक्ता समिति मार्फत हुनेछन्।

त्यस्तै, एमालेको घोषणापत्रमा भएको सडक, ढल, फुटपाथ, सडक बत्ति आदिजस्ता नियमित मर्मत तथा व्यवस्थापन गर्न ¥यापिड एक्सन टिम परिचालन गर्ने नीति समावेश हुने छन्।

सबै वडा र टोल स्तरमा सार्वजनिक शौचालय, बस स्टपमा फल्चा स्थापना गर्ने कार्यक्रम आउँदैछन्। फायर ब्रिगेड पुग्न नसक्ने साँघुरो गल्लीमा ओभर हेड ट्यांकी र फायर हाइड्रन्टहरु स्थापना गर्ने बालेन्द्रको भिजनलाई पनि कार्यक्रमका रुपमा ल्याउने महानगरको तयारी छ।

महानगरभित्र चल्ने सबै यातायात कम्पनीलाई एउटै छाटा संगठनमा ल्याउने महत्वाकांक्षी योजना समावेश हुँदैछ। यातायाततर्फ काठमाडौंको ट्राफिक चाप कम गर्न कार्यालय समयको विभाजन गरिनेछ। महानगरभित्र अब विद्युतीय सार्वजनिक यातायात मात्रै सञ्चालन गरिने, सार्वजनिक यातायातमा जीपीएस र सीसीटीभी जडान अनिवार्य हुने गरी कार्यक्रम सार्वजनिक ल्याइँदैछ।

महानगरभित्र अव्यवस्थित पार्किङकालागि भवनहरु भाडा लिएर बहुतले पार्किङमा परिणत गर्ने बालेन्द्रको योजना  छ। महानगरले आफ्नै ट्याक्सी एप,   सार्वजनिक यातायात एप र मासिक प्रिपेड कार्डको सुरुवात गर्दै छ।

त्यस्तै एमालेको घोषणा पत्रमा भएको पैदलयात्रु मैत्री, रानीपोखरी देखी दसरथ रंगशालासम्मको गुरुयोजना कार्यन्वयन, स्मार्ट स्ट्रिट लाइट लगायत योजना नीति तथा कार्यक्रम समावेश गर्ने बताएका छन्। कांग्रेसले पनि सडक पूर्वधार पैदलयात्री मैत्री बनाउने रहेको छ।

पानीको दीर्घकालीन समाधानका लागि ‘रिचार्ज काठमाडौं’

बालेन्द्रको घोषणापत्र अनुसार काठमाडौंको ठूलो समस्यामध्ये एक खानेपानी व्यवस्थापनका लागि रिभर्स बोरिङ अनिवार्य गरिँदैछ।

ढुंगेधारा पुनःजाग्रित गराउन पुराना स्रोतहरुलाई पुनर्जीवित गराइने, इनार, बोरिङ र नदीको पानीको सतहमाथि ल्याउनका निम्ति बर्खाको पानी संचय गर्ने व्यवस्था गरिँदैछ।

पानीको दीर्घकालीन समाधानका लागि सरकारी कार्यालयहरुमा स–साना जमिन पुनर्भरण पोखरी निर्माण गरिने बालेन्द्रले भिजन अगाडि सारेका छन्।

त्यस्तै, एमालेको घोषणापत्रमा रहेको नगरका नदीहरुको पुनर्जीवन दिन, सरसफाई, नदि किनारामा हरियालीययुक्त बनाउने विषय समेटिने छन्। रिचार्ज काठामाडौं र रेन सेन्टर नेपाल स्थापना गर्ने प्रतिवद्धता रहेको थियो। 

कांग्रेसले घोषणापत्रमा हिटी, इनार, पोखरी, बहा, फल्चाको संरक्षण र पुनस्थापना गर्ने बताएको थियो, जुन बालेन्द्रका नीतिसँग मेल खान्छन्।

फोहोर व्यवस्थापन र प्रदूषण नियन्त्रण
फोहार व्यवस्थापनकालागि अर्गानिक, प्लास्टिक र सिसाजन्य फोहोरलाई छुट्टा छुट्टै संकलन गर्नेगरी कार्यक्रम आउँदैछ।

नकुहिने फोहोर जलाउनका लागि इन्सिनरेटर जडानगर्ने, अर्गानिक फोहोरलाई प्राङ्गारिक मलमा परिणतगरी विक्री गर्ने योजना समेटिदै छन्। एमालेको घोषणापत्रमापनि घरधुरी स्तरमा नै फोहरमैला वर्गिकरण गर्ने कुरा उल्लेख रहेको छ।

महानगरभित्रको सडकमा कालोपत्रे गर्दा प्लाष्टिकजन्य फोहोरसँग आस्फल्ट मिसाएर गरिने कार्यक्रम रहेको छ। यसमा सिर्जना सिंहको संकल्प महानगरलाई ‘जिरो वेष्ट’ बनाउने विषय पनि नीति तथा कार्यक्रममा समावेश हुँदैछ।

खुल्ला ठाउँ र हरियाली
खुल्ला ठाउँहरुलाई खेलकुद र व्यायाम बाहेक पानी रिचार्जका लागि प्रयोग गर्ने महानगरको तयारी छ। सडकको हरियाली सुधार गर्न वरिपरि वृक्षरोपण गर्ने कार्यक्रमलाई पनि नीति कार्यक्रममा समेट्ने बताइएको छ।

विद्यालय, अस्पताल, सरकारी कार्यालय, मल र पार्क जस्ता सार्वजनिक स्थानमा हरियाली क्षेत्र तोकेर हरियाली प्रवद्र्धन गरिने कार्यक्रममा समावेश हुँदैछ। एक घर एक रुख र नदी करिडोरमा वृक्षारोपण गरिनेछ। एमाले र कांग्रेसको प्रतिवद्धतामा पनि खुल्ला ठाउँ र हरियाली प्रवद्र्धन गरिने विषय समेटिने छन्।

बजार तथा उद्यमशीलता
आइडिया बैंक स्थापना गरी सिड मनी र तालिम प्रदान गरी स्थानीय उत्पादन, साना तथा मझौला उद्योगलाई प्रवर्धन गर्ने नीति समावेश हुनेछ। महानगरभित्रका प्रत्येक मार्टमा स्थानीय उत्पादनका लागि २० प्रतिशत ठाउँ विनियोजन गर्ने व्यवस्था गरिदैँछ।

एमालेको घोषणापत्रमा रहेको मेड इन काठमाडौं अभियान समावेश हुँदैछ।

संस्कृतिलाई पर्यटकसँग जोड्ने
ग्रेटर नेपाः को अवधारण अनुसार काठमाडौं उपत्यकाका सबै नगरपालिकालाई एउटै चिनारी नेपाः उपत्यकाको रुपमा प्रवर्धन गरिनेछ।

स्थानीय संस्कृति प्रवद्र्धन गर्दै कुकुर तिहार र म्ह पूजालाई अन्तराष्ट्रिय स्तरमा ब्रन्डिङ गर्ने तयारी छ। पुराना मन्दिर, स्तूपा, गुम्बालाई पुराना वैज्ञानिक प्राविधिहरु जस्तै लिच्छवी वा मल्लकाल अनुसार पुननिर्माण गरिने महानगरका कर्मचारी बताउँछन्। गुठी, बाजा खल, मन्दिर, गुम्बा लगायत संस्कृति प्रवद्र्धन गर्न अनुदान दिने नीति ल्याउन लागिएको ती कर्मचारीकाे भनाइ छ।

वडामा खेलकुद मैदान
वडा तहमा खेलकुद मैदान र खेलकुद केन्द्र निर्माण गरिने बालेन्द्रको घोषणापत्रलाई नीति तथा कार्यक्रम मार्फत ल्याइँदैछ। स्थानीय खेलाडीलाई विद्यालयदेखि वडा तहमा तालिम दिन राष्ट्रिय खेलाडीहरुलाई तलब स्केल उपलब्ध गराइने बालेन्द्रको भिजनमा उल्लेख छ। साथै, अन्तराष्ट्रिय खेलकुद क्लबहरुसँगको सहकार्यमा युवा लिगहरु आयोजना गरिने उल्लेख  छ।

एमालेले घोषणापत्रमा उल्लेख गरेको उपत्यकाका नगरपालिकासँग सहकार्य गरी बहुउद्देश्यीय कभर्ड हल, योगेन्द्र र खेलकुद मैदान निर्माण गरिने विषय नीति तथा कार्यक्रममा समावेश हुनेछन्।

एमालेको घोषणापत्र

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .