राजनीति


बाध्यताले दुईचोटि मेयर बनेका एक यायावर

‘२० वर्ष शहर पसेको मान्छे को फर्कन्छ हौ गाउँमा?’
बाध्यताले दुईचोटि मेयर बनेका एक यायावर

अरुण बराल
जेठ २१ , काठमाडौँ

मानिस भगवान होइन तर उसले चाह्यो भने चमत्कार गर्न सक्दोरहेछ। मान्छे एउटा भौतिक पिण्ड हो, तर ऊ आफ्नो उदरस्थ आकांक्षाभन्दा धेरै परसम्म पुग्न सक्दोरहेछ। एकचोटि तेह्रथुमको लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबुहाङलाई पढौँ।

नेपाली कांग्रेसका तर्फबाट लालीगुराँस नगरपालिकाको मेयरमा दोस्रोपटक निर्वाचित युवा लेखक अर्जुनको पृष्ठकथामा प्रवेश गर्नुपूर्व तेह्रथुमको बसन्तपुरमा सजिएको चोत्लुङ पार्कको चर्चा गरेर ‘श्रीगणेशायः नमः’ गर्नु सान्दर्भिक होला।

धरान–धनकुटा–हिले–सिँधुवा हुँदै तेह्रथुमको प्रवेशद्वार मानिने बसन्तपुर बजार पुग्न सकिन्छ। ०७४ साल अघिसम्म बसन्तपुर बजारको पहिचान रंगीचंगी गुराँससँग मात्र जोडिएको थियो। ३२ प्रजातिका गुराँसका फूल पाइने तीनजुरे, मिल्के र जलजले क्षेत्रमा जाने प्रवेशद्वार हो बसन्तपुर बजार। यही आधारमा यस ठाउँको पालिकाको नाम नै लालीगुराँस नगरपालिका रहेको हो।

संखुवासभा, धनकुटा र तेह्रथुमको सन्धीस्थलमा रहेको बसन्तपुरमा अहिले गुराँसबाहेक अर्को सांस्कृतिक पहिचान पनि थपिएको छ– चोत्लुङ पार्क र त्यहाँभित्र रहेको युमा संग्रहालय।

चोत्लुङ पार्कभित्र रहेको तीनधुरे घर लिम्बुजातिको इतिहास झल्काउने संग्रहालय हो। यो घरको बाहिरी स्वरुपले नै लिम्बुजातिको परम्परागत घर कस्तो हुन्छ भन्ने देखाउँछ।

घरभित्र लिम्बुका सांस्कृतिक बाजागाजा र भाँडाकुँडा मात्रै होइन, लिम्बुवानको इतिहास झल्काउने सामग्रीहरु पनि विभिन्न जिल्लाबाट संकलन गरेर राखिएका छन्। बाहिर ढुंगा छापिएको पार्क छ। बसन्तपुर घुम्न आउने पर्यटकहरु यो पार्कमा अनिवार्यरुपमा जान्छन्, तस्बिर खिच्छन् अनि आफ्नो इतिहास सम्झेर पुलकित हुन्छन्। 

पहिलो स्थानीय निर्वाचन अघिसम्म यो चोत्लुङ पार्कको कुनै अस्तित्व थिएन। यो एउटा नांगो खर्क थियो, जहाँ बाख्रा, भेडाहरु चर्थे। अहिले यो हराभरा र सुन्दर सांस्कृतिक धरोहर बन्न पुगेको छ। ४/५ वर्षकै बीचमा यति ठूलो परिवर्तन सम्भव भएको छ नाङ्गो डाँडामा। 

लिम्बुभाषमा चोत्लुङ भनेको सिद्धिकार्य हो। युमा भनेको लिम्बु जातिकी इष्टदेवी हुन्। युमा घर भनेको माङ (देवी) को घर हो। यही आधारमा यस संग्रहालयको नाम युमा संग्रहालय रहेको हो।

यो पार्क र संग्रहालयको सम्पूर्ण विशेषता लिम्बुजातिको धर्मग्रन्थ मुन्धुममा आधारित छ। यो मुन्धुमी पार्क हो। यहाँ बिच्छ्याइएका ढुंगाहरु मुम्धुममा वर्णन गरिएको विधिलाई प्रयोग गरेर राखिएका छन्। युमा तान बुनेको बिम्बदेखि लिएर ढुंगामा मान्छे र कुखुराका पाइलाहरु पनि कुँदिएका छन्। वरिपरि मुन्धुममा वर्णन गरिएका वनस्पति पनि रोपिएका छन्।

यहाँ मानिसहरुको आकर्षण यति धेरै बढेको छ कि प्रधानसेनापतिको परिवारले समेत भ्रमण गरिसकेको छ। हजारौं मानिसहरु बसन्तपुरको डाँडामा उक्लिने गरेका छन्। यसले गर्दा बसन्तपुर बजारको आर्थिक क्रियाकलाप पनि बढेको छ। 

एउटा उजाड पाखोलाई यस्तो सांस्कृतिक धरोहरका रुपमा विकास गर्ने स्वप्नद्रष्टा एवं मुख्य परिकल्पनाकार हुन् लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबुहाङ। पहिलो कार्यकालमा चोत्लुङ पार्क निर्माण गरेका माबुहाङ अहिले फेरि मेयरमा निर्वाचित भएका छन्।

आखिर एउटा मान्छेले गरे के हुँदैन रहेछ? दुर्गम पहाडलाई हराभरा बनाएर अर्जुनले एक–दुई कार्यकालको मात्र होइन, एक–दुई पुस्ताकै लागि सम्झनयोग्य काम गरेका छन्। 

अर्जुनबाबु माबुहाङलाई जीवनमा यसरी राजनीतिमा लागेर जनताका दैनिक समस्यासँग झुत्ती खेलौँला भन्ने थिएन। तर, क्यान्सरपीडित बाबुको बचन हार्न नसकेर उनी बाध्यताले राजनीतिमा छिरे। बाध्यतामै धरान छाडेर गाउँ फर्किए।  

मेयरको पहिलो कार्यकाल सकेर तमोरको गड्तिरमा डुली हिँडौँला भन्ने सोच बनाएका यी यायावर वैशाख ३० पछि फेरि पाँचवर्षका लागि जनतासँग अनुबन्धित भए। 

इतिहासका अध्येता, लेखक एवं लालीगुराँसका मेयर अर्जुनबाबु माबुहाङको मनमा चलेको आँधीबेहेरीबारे अब उनैसँगको अन्तरसम्वाद सुनौं–

तपाईं ०७४ साल अघिसम्म धरानमा पढ्दै हुनुहुन्थ्यो। सँगै, महेन्द्र बहुमुखी क्याम्पसमा जागिर पनि खाइरहनुभएको थियो। पेसा र रुचिको हिसाबले तपाई देशले नै चिनिसकेको लेखक एवं अनुसन्धानकर्ता हो। केही  ऐतिहासिक पुस्तक लेखिसक्नुभएको छ। त्यसरी शहरमा बसेर लेखन–पढनमा लागेको मान्छे गाउँमा पाँच वर्षसम्म मेयर भएर बस्दा दिक्क लागेन? अहिले फेरि पाँच वर्षको भारी थपियो नि? 
एउटा पीडा थियो क्या। नोस्टालजिक पीडा।

कस्तो नोस्टालजिक पीडा? 
हुन त हाम्रो बजार (बसन्तपुर) मा पनि घर थियो। माथि भञ्ज्याङमा हाम्रो किपट थियो। तर, हामी तल (मुसाङखेल) गाउँमै हुर्कियौँ, बढ्यौं। त्यहाँबाट स्कुल आउँदा लगातार दुई घण्टा हिँड्नुपर्ने उकालो। हत्तेरिका! तल गाउँबाट। 

राजनीति गर्ने त मेरो मुड थिएन। तर, बाबु (डम्बर माबुहाङ) बिचरा दुईचोटि प्रधानपञ्च हुनुभयो। दुईचोटि गाविस अध्यक्ष हुनुभयो। उहाँमा एउटा भोक थियो। विकासे भोक। राजनीतिक भोक। राजनीतिमा प्रधानपञ्चदेखि माथि जान नसकेको। विकासमा आफ्नो गाउँ बनाउन नसकेको। 

खालि भन्नुहुन्थ्यो, यो बाटोमा गाडी चलाएर मोटरसाइकलमा हिँड्न पाए त्यो दिन कस्तो हुन्थ्यो होला। पर्तिर एउटा तिम्बुङ खोला छ। त्यहाँ भीरैभीर छ। त्यहाँबाट कुलो ल्याउन सके हुन्थ्यो भन्नुहुन्थ्यो। 

क्यान्सर लागेर बित्ने त निश्चित भइसकेको थियो। हामी दुईजना छोराहरु। मेरो भाइ सिंगापुरको रिकुटे (लाहुरे) छ। बिचरा बुबाले मर्न आँट्दा मलाई भन्नुभयो– म त मर्ने भएँ, अब तँ के गर्छस्? गाउँ जा। बसन्तपुर वारिपारि सोल्मा, सुङनाम, दाङपा, फुलेकमा मेरा साथीभाइ छन्। मैले धेरै साथीहरुको काम गरेको छु। धेरै काम अधुरो पनि छ। अब त नगरपालिका बन्यो, गणतन्त्र पनि आयो। राज्यले बजेट पनि धेरै दिन्छ। तँ गाउँमै गएर केही काम गर्। 

म त १९–२० वर्ष भएको थियो धरान बसेको। महेन्द्र क्याम्पसमा मेरो जागिर पनि थियो। कसरी जानु भन्नु न। २० वर्ष शहर पसेको मान्छे को फर्कन्छ हौ गाउँमा? म बोलिनँ। 

दुई–तीनदिन पछाडि चाहिँ मैले म गाउँ जान्छु भनेँ। अनि मात्रै बुढोको प्राण निस्कियो हाऊ! क्यान्सरचाहिँ कस्तो भने हड्डी सड्डी सप्पै गलाउँछ। छिनछिनमा इन्जेक्सन दिइरहनुपर्थ्यो।

​मैले बाउको पीडा हेरेँ। बाउको सपना हेरेँ।  अनि मैले पेन्सन हुन ५ महिना बाँकी रहेको जागिर छाडेँ। परीक्षा पनि थियो। हिस्ट्री र सोसियोलोजीमा डिग्रीको परीक्षा लेख्दै थिएँ। यी सबै–सबै त्यागेर, बाउले भनेर म माथि (तेह्रथुम) गएँ। 

बुवा नेपाली कांग्रेसको तेह्रथुम जिल्ला उपसभापति हुनुहुन्थ्यो। बुबाका मलामी ५–७ हजार मान्छे आए। धुरुधुरु रोए। बाउका ती साथीभाइले भने– ‘हिजो हामी तेरो बाउको पछाडि लाग्यौं। हरेक पार्टीमा इगो छ, अब हाम्रो संरक्षण कसले गर्छ? तेरो बाउ त मर्यो।’ 

त्यस्तो अवस्थामा म गाउँ फर्किएँ।  

तपाईं नेपाली काँग्रेसमा सक्रिय हुनुअघि केही समय नेकपा माओवादीमा पनि लाग्नुभयो हैन?
एउटा निहुँ के पनि भयो भने बुवालाई कांग्रेसले टिकट नदिएको। कांग्रेसले, तुल्सी सुब्बा दाइहरुले गुटगत गरे भन्ने पनि भयो। पछि तुल्सी दाइ (तुलसी सुब्बा)लाई हराउन लागेँ म।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल लिम्बु संघको केन्द्रीय अध्यक्ष थिएँ, तुल्सीलाई हराउनलाई म माओवादी पार्टीमा लागेँ। माओवादीमा लागेर तुल्सी दाइलाई पनि हराएँ।

फेरि कांग्रेसमै फर्किनुभयो?
त्यहाँबाट कस्तो वातावरण भयो भने जिल्लाका कांग्रेसले मलाई बोलाउँदै नबोलाउने। यहाँ केन्द्रीय सदस्य सीता गुरुङ हुनुहुथ्थ्यो। यहाँ (काठमाडौं) उहाँले सांसद र पार्टीका केन्द्रीय सदस्यहरु बटुलेर टीको लाइदिनुभो।

लु तैंले त गाउँमा गएर राजनीति गर्नुपर्छ भन्नुभो। यता टीको लाइदिनुभो, उता जिल्लामा ‘माओवादीमा लागेर हामीलाई हराएको मान्छे’ भने। यस्तो अन्तर्द्वन्द्वमा परेँ क्या म। 

तैपनि काम गर्दै गएँ। पछि ०७४ मा मेयरको टिकट पनि लिएँ। त्यसअघि सीता गुरुङले नगर विकासको अध्यक्ष बनाइदिनुभयो। त्यहाँबाट त बाँधिएँ म। त्यही नगरविकास समितिको डीपीआर गराउने लगायतको जुन काम थालियो, पछि त्यही नै भयो चुनाव लड्ने आधार। 

पालिकाको राजनीतिक अवस्था कस्तो थियो? 
पाँचवटा गाविस मिलेर बनेको हो हाम्रो लालीगुराँस नगरपालिका।  एउटा बसन्तपुर गाविसमा मात्रै ०४९ सालमा बाउले राप्रपा हुँदा अध्यक्ष जितेको। पछि ०५४ मा तुल्सी दाइहरुसँगै कांग्रेस प्रवेश गरेर फेरि जित्नुभएको थियो।

तर, चारवटा गाविस सबै एमालेले जितेको थियो। गाउँमा सबै एमाले। चारवटा गाविस सबै एमाले। एनजीओ सप्पै एमाले। मास्टर सप्पै एमाले। काममा जाँदा बस्ने ठाउँ आफन्तको घर देखाइदिन्थे त्यहाँका मान्छेले। 

यता, आफ्नो गाविसमा पनि बाउले छाडेपछि पार्टी अफिसको भाडा पनि तिरेको रहेनछ। १३ हजार रुपैयाँ त मैले भाडा तिरेर काम सुरु गरेको। 

त्यही भएर एउटा ठूलो पीडा थियो, बाल्यकालमा उकालो हिँड्दाको। दाउरा घाँस गर्दाको। यही पीडाले गर्दा राजनीतिमा लाग्नुपर्छ भनेर लागेँ। अहिले बाटोहरु बनाइयो। हाम्रोमा बजेट धेरै छैन, जम्मा १० करोड रुपैयाँ त चलाउन पाउँछौँ हामी। 

तपाईले यसपालि गठबन्धनबाट चुनाव जित्नुभयो कि एक्लै?
तेह्रथुमका ६ पालिकामध्ये ५ वटामा माओवादी, कांग्रेस र एकीकृत समाजवादीबीच गठबन्धन भयो। तर, लालीगुराँसमा चाहिँ एमाले, माओवादी र नेकपा एकीकृत एकातिर भए, कांग्रेस एकतातिर भयो। यहाँ मेरोविरुद्ध गठबन्धन भयो। 

०७४ चुनावमा एमालेले तेह्रथुम जिल्लामै क्लिन स्वीप गर्न लाग्दा काँग्रेसले तपाईको नेतृत्वमा लालीगुराँस नगरपालिका मात्रै जितेर बीउ जोगायो । त्यसपछि म्याङ्लुङतिरका कांग्रेस नेताहरुसँग तपाईको सम्बन्ध सुध्रियो कि?
कहिल्यै राम्रो भएन पार्टीसँग। पार्टीमा नेताहरु बढी खेल्ने हुँदा अहिले कांग्रेसले म्यागलुङ पनि हारेको छ। सँगैको छथर गाउँपालिका पनि हारेको छ। नेताहरुले बढी खेलेर बिग्रिएको हो म्याङलुङ। अहिले पनि चुनावमा शेरबहादुर देउवा पक्षको म मात्रै हुँ। महाधिवेशन प्रतिनिधि म एउटा त हो।

हाम्रो शुरुकै प्रश्न के थियो भने तपाई त लेखपढ गर्न रुचाउने, किताब लेख्ने मान्छे। पाँच वर्ष मेयर बनेर दैनिकरुपमा राजनीतिमा सक्रिय हुँदा मनमा अन्तरद्वन्द्व भयो कि भएन? यो तनाव छाडेर लेखपढतिरै लागौं जस्तो भएन?  
अन्तरद्वन्द्व त विशाल भयो नि। यो दोस्रो स्थानीय चुनावमा मेरो उठ्ने ईच्छा नै थिएन। कस्तो पीडा भयो भने गाउँमा जाँदा हामीले के सोचेका थियौं भने जनताको काम धेरै गरिएको छ, जनताले हामीलाई राम्रै ठान्छन् होला। तर, निर्वाचनका बेला नेताहरु गाउँ जाँदा जनताले के सोच्दारहेछन् भने यिनीहरुसँग पैसा छ, हाम्रो दोकानमा भएको जति सप्पै यिनीहरुलाई किनाऔं। भुन्टे बियर, बाख्रा, खसी जम्मै।

पब्लिकले नेता पनि कहिल्यै चिन्दैन, नेताले चाहिँ पब्लिकलाई चिनेका छन्। अब खुवाउनुपर्यो, नेताले गोजीको पैसाले त कहाँ खुवाउन सक्छ त? यसका लागि भ्रष्टाचार गर्नुपर्यो। यसो भएको हुनाले थोरबहुत त जनता नै पनि भ्रष्टाचारी हुन् जस्तो लाग्छ मलाई। सिस्टम नै यस्तो छ। 

फेरि दोस्रोचोटि पनि भाउँतो आइलाग्यो हैन?
यो दोस्रोचोटिको चुनावमा म उभिनाको कारणचाहिँ  मैले सबै छोडेको हो। अहिले पनि म इमान्दारीपूर्वक भन्छु– मलाई मेयरमा चुनाव जित्दाखेरि जति हर्ष लाग्छ नि, त्योभन्दा बढी हर्ष एउटा पत्रिकामा आर्टिकल छापियो भने लाग्छ। अझै पनि मलाई पत्रकारिता, लेखन मनपर्छ। 

मैले के सोचेको थिएँ भने यो पाँच वर्षमा मेरो उमेर पनि जान्छ। अहिले ४६, ४७ वर्ष पुगियो। मेरो ग्यास्ट्रिक पनि नराम्ररी बिग्रिएको छ। बाहिर केही खान्नँ। पछि स्वास्थ्यले पनि धेरै काम गर्न दिँदैन। त्यसैले तमोर खोलातिर जाने, उतै दुई–तीन महिना बस्ने, मुन्धुम लेख्ने,  फोटो भिडियो खिच्ने भन्ने नै मेरो सोच थियो।

तर, सबै साथीहरुले हैन योचोटि तैंले लड् भने। तैंले तेरो उत्तराधिकारी पनि बनाइनस् भने। र, म योचोटि पनि मेयरमा बसेँ। एक किसिमले यो पालिकामा केही अपूरा कामहरु छन्, ती पूरा हुन्छन्। 

पहिलो कार्यकालमा चोत्लुङ पार्क बनाउनुभयो। नगरपालिका आफ्नै नै डोजर किनेर गाउँमा बाटो बनायो।  अब दोस्रो कार्यकालमा तपाईंका एजेण्डा के छन्? 
मैले पहिले काम अलिकति गरेको छु। जस्तो– हामी हिउँद बर्खा नै गाडी चल्ने बाटो बनाउँदैथ्यौँ। त्यसका लागि हामीले चेनवाला डोजर किनेका थियौँ। ब्रेकर, टायरवाला डोजर पनि किनेका थियौँ। बाटो सोलिङ गराउन थोरै बाँकी थियो। ढुंगा लगाउन बाँकी थियो। त्यो करिब एक, दुई वर्षमा सकिन्छ। 

अर्को शिक्षा। शिक्षामा हामीले जे सोच बनाएका थियौँ, तर, त्यसरी शिक्षामा काम गर्न सकेका थिएनौँ। योचोटि चाहिँ शिक्षाको गुणस्तर पनि बढाउने योजना छ।

गाउँमा कस्तो छ भने विद्यार्थीहरु तल र माथि बिरालोले बच्चा ओसारेजस्तो गरिँदै आएको छ। हिजो कुनै पूर्वाधार मापन नगरी स्कुलहरु बनेका छन्। सबै स्कुलमा सरकारले दक्ष जनशक्ति राख्न सकेको पनि छैन। 

हामी अहिले के गर्दैछौं भने अहिले आयोग पास गरेर आउनेहरु प्रायः स्नातकोत्तर गरेकाहरु छन्। पहिले चाहिँ  १० कक्षा पास गरेको, पार्टीमा लाग्दा–लाग्दा गरेर स्थायी भएका शिक्षकहरु थिए। त्यस्ताहरुचाहिँ अब क्रमशः विस्थापित हुँदै छन्।  

हामीले के गर्दै छौं भने पढाउनका लागि प्राविधिकरुपमा एकदम दक्ष, अंग्रेजीमा पठनपाठन गर्न सक्ने, पावर पोइन्ट, कम्प्युटर चलाउन सक्ने मान्छेहरु कम्तीमा एक वर्षलाई हायर गरेर लिने। यस्ता ५–७ जना मान्छेहरु पालिकाले एक वर्षका लागि हायर गरेर लिने। ती मान्छेले शिक्षकलाई पनि पढाउने, विद्यार्थीलाई पनि पढाउने। यसका लागि हामी दुई–चारवटा नमूना स्कुल पनि हेर्छौँ। प्ले ग्रुपदेखि नै राम्रो वातावरण बनाउँछौँ।

अहिले पावर पोइन्टबाट पढाइ हुन थालेको छ। बाघका बारेमा कसैलाई निबन्ध लेख भन्यो भने यसअघि बाघका यस्ता दाह्री–जुँगा हुन्छन्, यस्ता नंग्रा हुन्छन्, जंगलमा बस्छ आदि–इत्यादि भनेर पढाइन्थ्यो। अब अहिले त एलसीडीमा ङ्यारर्र गरेको बाघ देखिन्छ क्या। जंगलमै देखिन्छ। एलसीडीमा देखेपछि त्यसको न्यारेसन त्यहीँ अंग्रेजीमा बन्छ। शिक्षकको कामचाहिँ त्यो एलसीडीमा देखिएको शब्दको उच्चारण प्रष्टसँग विद्यार्थीलाई गराउनुपर्यो। विद्यार्थीलाई हिज्जे लेखाउनुपर्यो। हामी गाउँमा शिक्षालाई यसरी लाँदै छौँ। 

काठमाडौंका ठूला सरकारी स्कुल, ठुल्ठूला निजी स्कुलमा जसरी विद्यार्थीले शिक्षा भेट्छन्, त्यसरी नै हामी अगाडि बढ्ने प्रयासमा छौं। यो वर्ष केही नसक्दा पनि वडाको ९ वटा स्कुलमा त्यस्तो गराउने। त्यसमा पनि जनजाति, पिछडिएका ठाउँ, दलितको बस्तीलाई छनोट गर्ने। 

मैले लालीगुराँस नगरपालिकाको वायोडाइभर्सिटी (जैविक विविधता) को रिसर्च गराएको छु। त्यहाँका बोट विरुवा, जन्तु, पशुपंक्षी, आदिवासीको ज्ञानसीप, बाहुन क्षेत्रीहरुका परम्परा, संस्कृति सबै प्रेसमा छाप्न दिन लागेको छु। यसलाई पनि कोर्षमा हाल्ने विचार छ। अर्को हो– कृषि र सहकारी। यिनै कुराहरुलाई मैले अहिले चासो दिएको छु।

बाटोमा उपभोक्ता समितिहरुले ठूलो भ्रष्टाचार गर्थे। मैले कोर्समा कतिसम्म राख्न खोज्दैछु भने बाटोको विषय पनि राख्ने। हामी गाउँमा जुन बाटोहरु बनाउँछौं, तुरुन्तै भत्किन्छ, त्यो बाटोको पनि सम्भार कसरी गर्नुपर्छ भनेर त्यसमा सबैको भूमिकासम्म जोडेर कोर्स नै बनाउँदैछु। इञ्जिनियर, ओभरसियरको भूमिका के हुन्छ, उपभोक्ता, सर्वसाधारणको भूमिका के हुन्छ, त्यो सबै उल्लेख गरेर कोर्समा राख्ने गरी छाप्दै छौं।

तपाईले मेयर हुँदाहुँदै यो पाँच वर्षमा किताब पनि लेख्नुभएछ। ‘सिरिजंगा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ शीर्षकको किताब बेलायत निवासी अमित थेबेसँगको सहलेखनमा तयार गर्नुभएछ नि? 
हो। अर्को १० लिम्बुवान १७ थुम नीति भन्ने किताब पनि तयार भएको छ, बाबुराम भट्टराईबाट विमोचन हुँदै छ। यसमा लक्ष्मण लावती मेरो जोडी (सहलेखक) छन्। 

अबको दोस्रो कार्यकालमा पालिकाभित्रका केही अधुरा कामहरु पूरा गर्छु र बढी लेखनतिरै जान्छु।  र, किरात र लिम्बुको बहसतिर जान्छु। यो अहिले जुन सिरिजंगा लिपिको नाम परिवर्तन गरेर किरात बनाइएको छ, यसमा मुद्दा हाल्न खोज्दै छु। 

तपाईं लिम्बु संस्कृति र इतिहासका ज्ञातासमेत भएको नाताले अब अलिकति सांस्कृतिक विषयमा कुरा गरौँ। लिम्बुवानमा खासगरी सत्यहाङमा समुदाय र परम्परा मान्ने लिम्बु समुदायबीच बेलाबखत अन्तरविरोध किन देखिएको होला? लिम्बुजातिका पुरातात्विक सम्पदा भएका ठाउँमा ‘बाहुनका देउता’ को प्रतिमा स्थापना गर्न लागिएको गुनासो पनि बेलाबखत सुनिन्छ। यो त देउता–देउताको लडाइँ जस्तो पो भयो कि?
मलाई लिम्बुहरु क्रिश्चियन भएकोमा, हिन्दु भएकोमा आपत्ति छैन। धर्म निरपेक्ष राज्यमा जो, जे पनि हुन सक्छ। तर, सत्यहाङमासँग विशेष गरी बहस भएको चाहिँ उसले हाम्रो मुन्धुमै नामेट गर्यो क्या। 

अहिले म पशुपति जाँदाखेरि हिन्दूधर्मको मान्यता अनुसार छिर्नुपर्यो र सोही अनुसारको संस्कार गरेर निस्कनुपर्यो नि त। एउटा बाहुन पनि हाम्रो चोत्लुङमा आउँछ। साम्निङमा गर्छ। जस्तो– हाम्रो प्रधानसेनापतिको रानीसाहेबहरु पनि लालीगुराँस नगरपालिकाको चोत्लुङमा आउनुभएको थियो। हामीले रीत पनि गरिदियौं। यसमा मलाई आपत्ति होइन। 

मलाई आपत्ति भनेको के हो भन्दाखेरि सत्यहाङमाले मुन्धुमै सकिदियो क्या लिम्बुको। जस्तो– लिम्बुको मुन्धुममा लिम्बुको पुर्खाको नाम हुन्छ। लिम्बुको भूगोलको नाम हुन्छ। खोलानाला, चरा चुरुङ्गी, बोटविरुवा सबै–सबैको नाम हुन्छ। यी कुनै पनि कुरा पाइँदैन क्या सत्यहाङमाको मुन्धुममा।

​हामीले त मुन्धुम पढ्दा दुई–अढाई सय त देउताको नाम भन्नुपर्छ। तर, उसले लिम्बुको देउता तागेरा नुमाफुमाङदेखि बाहेक फाल्गुनन्दलाई मात्रै जोडेर ल्याउँछ। यसो गर्दाखेरि हाम्रो सबै ज्ञान पनि गयो, चराचुरुङ्गीको नाम पनि गयो। खोलानालाको नाम पनि गयो। भूगोलको नाम पनि गयो। पुस्ताको नाम पनि बिर्सियो। ठाउँ पनि गयो। फाल्गुनन्द मुन्धुम सत्यहाङमाले ठाउँहरुको नामै लेख्दैन। यसमा आपत्ति हो। यस्तो नगर, कम्तीमा हाम्रो उभिने एउटा भूगोल त चाहियो भन्ने कुरा हो। यो हिन्दूकृत भएको आदि–इत्यादि त सतही बहस हुन् क्या।

भित्री कुराचाहिँ फाल्गुनन्दका पालामा बद्रीनन्द तुम्बापो र रनध्वोज नेम्वाङले मुन्धुम त कत्ति लेखेको रहेछ, रहेछ। त्योचाहिँ मैले भेटेँ। त्यो त कसैले पढेको छैन। त्यो सबै उल्था मैले यो किताब (सिरिजङगा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट) मा गरेको छु। अहिलेसम्म लिम्बुका बारेमा सिरिजङगाले के लेखे? फाल्गुनन्दले के गरे, के लेख्न लगाए? र इमानसिंह चेम्जोङले के लेखे? ती सबै कुरा यो किताबमा उल्था छ र त्यसको पनि व्याख्या छ। 

त्यसर्थ, एउटा लिम्बुले बाहुनको संस्कार गर्यो भन्ने मेरो आपत्ति होइन। एउटा लिम्बु पशुपति छिर्यो भन्नेमा मेरो आपत्ति होइन। यो धर्म निरपेक्ष राज्य हो, जे पनि गर्न पाइन्छ। तर, अरुको इतिहास, वंश, पुर्खा नामेट गर्न त पाइन्छ र? त्यो त पाइँदैन नि। 

तपाई आफैं अध्येता हो, फाल्गुनन्दलाई त्यतिबेलाको सन्दर्भमा लिम्बु समुदायका समाज सुधारक त भन्न मिल्छ होला नि? 
हो। समाज सुधारक हुन्। तर, फाल्गुनन्दसँग पाँचथरका दुईजना मान्छे थिए त्यतिबेला। एउटा बद्रीनन्द तुम्बापो, अर्को रनध्वोज नेम्वाङ। उनीहरुले मुन्धुम लेख्दाखेरि फाल्नुनन्दलाई देवत्वकरण गरेर लेखे क्या। उनलाई देवत्वकरण गरेर लेख्दाखेरि हाम्रा सबै कुरा बिर्सिए। बाटोघाटो, खालानाला, आफ्नो ठाउँ, चराचुरुङ्गी, हाम्रो पहिलेको ज्ञान यी सबै–सबै कुराहरु बिर्सिएर लेखे र त्यही मुन्धुमलाई अनुशरण गरेर उनीहरु लागे। 

फाल्गुनन्दमा चाहिँ हिन्दूधर्मको जोसमनी पन्थको प्रभाव परेको जस्तो लाग्छ। जस्तो–अहिले योगा सिकेजस्तै लिम्बुले पनि त स्वस्थानी पूजा लगाउँछन् नि। त्यस्तो गर्दै हिँडेका चाहिँ हुन्। उनले राम्रा कामहरु पनि गरे। जाँडपानी खानुहुँदैन भने। त्यतिबेला बढी खर्च यही जाँडपानी र काटमारमै भयो भनेर उनले सुधारका कुराहरु चाहिँ ल्याएका हुन्। तर, अहिले आपत्ति मेरो के हो भने यिनीहरुले त सिभिलाइजेन नै सक्ने भए क्या। सभ्यता नै सक्ने भए हेर्नु न। केही पनि छैन। 

जस्तो– हामी लिम्बुले आफ्नो पुर्खालाई दिनुपर्छ सातो। आफ्नो पितृलाई भेट्नुपर्छ। तर, यिनले नामै एउटा मात्रै राखे स्वयंभु हाङ। तागेरा निमाफुमाङलाई स्वयंभू भने। त्यही स्वयंभूलाई अहिले शम्भुहाङ भन्छ सत्यहाङमाले सातो बुझाउँदाखेरि।  सातो बुझाउन जाँदाखेरि जलचर थलचर आकाश धर्ती सबै उठाएर फेदाङबा साम्बा पूजारी लानुपर्छ। सप्पैको नामाकरण हुन्छ। यो सकिदिएपछि त भाषा मर्यो। सभ्यता मर्यो। पुर्खा मर्यो। 

अन्त्यमा, अहिलेको स्थानीय चुनावमा स्वतन्त्रबाट हर्कराज साम्पाङ र बालेन्द्र शाहहरुले पनि जितेर आए। उनीहरुका बारेमा तपाईको टिप्पणी के छ?
अहिलेको जुन स्थानीय सरकार छ, यो एउटा लोकतान्त्रिक सरकार हो। यसमा बहुमतले सबै कुरा निर्धारण गर्छ। आफ्नै तलब खान पनि बहुमत चाहिन्छ। तलब खानका लागि त सबैले सही गर्लान् तर एउटा सियोदेखि काइँयो किन्न पनि बहुमत चाहिन्छ। स्वतन्त्रबाट जसरी आएका छन्, टाउको स्वतन्त्र देखिए पनि तल त कांग्रेस–एमाले नै छन्। एमाले र कांग्रेसले रेस्पोन्स कसरी गर्छन्, उनीहरुको सफलता, असफलता त्यसैमा भर पर्छ।    

जेठ २१, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad