ad ad

राजनीति


घरदैलोमा निस्किइन् दुईपटक हारेकी रजनी थापा

घरदैलोमा निस्किइन् दुईपटक हारेकी रजनी थापा

रुपक चौलागाईं
जेठ १७, २०७९ मंगलबार १०:२०, काठमाडौँ

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेन्द्र शाहले शहरमा विजय जुलुस निकालिरहँदा उता टोखा नगरपालिकाका अर्कै दृश्य देखियो ।

टोखाको मेयरमा ३० वर्षीया रजनी थापा उठेकी थिइन् । युवा पुस्ताले उम्मेदवारी दिएको भन्दै चुनावअघि रजनीको खुब चर्चा भयो । तर, उनले चुनाव हारिन् ।

यता काठमाडौंको मेयरमा निर्वाचित बालेन्द्र शाहले विजय जुलुस निकाले । उता टोखामा पनि पराजित रजनी आफ्नै पालिकाभित्र घरदैलोमा निस्किइन् ।

चुनावमा पराजय व्यहोरेका उम्मेदवार चुनाव सकिएलगत्तै जनताको घरदैलोमा पुग्ने गरेको विरलै सुनिन्छ। तर, रजनी भने पराजित भएपछि पनि मतदातालाई भेट्न घरदैलोमा निस्किन्।

रजनी थापा मेयरमा १७४ मतको झिनो मतान्तरले पराजित भएकी हुन्। एमालेबाट निर्वाचित प्रकाश अधिकारीले १० हजार ३४० मत पाउँदा नेपाली कांग्रेसकी थापाले १० हजार १६६ मत पाइन्।

यसअघि निर्वाचित भएका धेरै जनप्रतिनिधिहरु यो पटक पराजित भएका छन्। ३० वर्षीय युवा जोश बोकेकी थापा यसअघि ०७४ सालमा भएको स्थानिय निर्वाचनमा पनि सोही नगरको उपप्रमुख पदको उम्मेदवार बनेकी थिइन्। त्यतिबेला पनि उनी ५१ मतको झिनो मतान्तरले पराजित भएकी थिइन्।

यसपटक भने उनलाई पार्टीले मेयरको टिकट दियो। देशभर माओवादी केन्द्र र नेपाली कांग्रेसको तालमेल हुँदा टोखामा भने कांग्रेस एक्लै चुनावी मैदानमा उत्रियो। उपप्रमुखका उम्मेदवार मुरारी तामाङले जित निकाल्दा मेयरमा थापा भने पराजित भएकी हुन्।

निर्वाचित मेयरलाई बधाई र घरदैलो
टोखाको मेयरमा पराजित भएपछि थापाले निर्वाचित मेयर अधिकारीलाई बधाई र शुभकामना दिइन्। घर फर्कनेबित्तिकै थापालाई मत हालेका मतदाताको सम्झना आयो।

अंकगणितमा केही कम मत आएर पराजित भए पनि मतदाताको भरपुर माया पाएको अनुभूति उनलाई भयो। ‘पराजित भएर घरमा आउनेबित्तिकै मलाई कस्तो फिलिङ्स आयो भने कमसेकम मलाई त्यत्रो मत दिएर विश्वास र माया त भरपुर भएको हो, त्यो मतका लागि म आफैं मेयर हुँ भन्ने भयो,’ आफ्नो भावनाबारे अनुभव सेयर गर्दै थापाले भनिन्, ‘त्यसपछि म एकदिन पनि रोकिनहुँदैन भन्ने भावना जागृत भयो।’

जित्नैपर्ने दबावका साथ थापाले लामै संघर्ष गरेकी थिइन्। नेपालखबरसँग आफ्नो भावना सुनाउँदै उनले भनिन्, ‘त्यो मतले मलाई विभिन्न फरक पार्टी, स्वतन्त्र व्यक्तिलाई धन्यवाद दिनु मेरो कर्तव्य हो भन्ने लाग्यो। सोही सिलसिलामा मैले हिजोबाट घरदैलो सुरुवात गरेको छु।’

नगरपालिकाका ११ वटै वडामा पुगेर मतदातालाई धन्यवाद दिने योजना रहेको उनले सुनाइन्।

परिवारमा जसरी संस्कारको कुरा गरिन्छ, त्यसैगरी राजनीतिमा पनि संस्कार विकास हुनपर्ने उनको बुझाइ छ। ‘म आफैं पनि नयाँ विचारले राजनीतिमा आएको मान्छे हुँ। हिजोको ‘ट्रेन्ड’ राम्रो भएन र नयाँ हुनुपर्छ भनेर आएको हुँ,’ उनले भनिन्, ‘मुख्य कुरा म आफैं पनि पारिवारिक संस्कार चाहिन्छ भनिरहँदा राजनीतिक संस्कारको पनि विकास हुनुपर्छ भन्ने मान्यता राख्छु।’

‘रोएका मतदाताले थप बल पुर्‍याए’
चुनावी अभियानमा व्यस्त रहँदा थापालाई नगरभित्रकै एक वृद्धले ल्यान्डलाइनबाट फोन गरेका थिए। हिँड्न नसक्ने अवस्था हुँदा पनि थापालाई फोन गर्न उनी लौरो लिएर नजिकैको टेलिफोन बुथमा पुगेका रहेछन्।  पराजित भएपछि मतदाता भेट्दै हिँड्दा उनले ती वृद्धलाई पनि भेटिन्। ‘फिल्डमा नै भेटेपछि अँगालो मारेर धेरैबेर रुनुभयो’ थापाले सुनाइन्।

ती वृद्धजस्तै अन्य धेरै मतदाताको आँखामा देखेको आँशुले उनलाई थप बलियो बनेर उभिन सघाएको छ। चुनावमा पराजित हुँदा आफूलाई परेकोभन्दा दोब्बर पीडा मतदातालाई परेको महसुस उनले गरेकी छिन्। ‘ चुनाव हारेपछि पनि मलाई हुने पीडाभन्दा बढी मलाई भोट हाल्नुभएका मतदातालाई दोब्बर पीडा भएको रहेछ भन्ने मैले घरदैलोमा महसुस गरेँ। मैले एकपटक चुनाव हारे पनि उहाँहरुले बारम्बार हार्नुभएको छ’ थापा भन्छिन्।

निर्वाचनपछि उम्मेदवारको अनुहार देख्नै नपाइने भएपनि थापाको अनुहार दुईपटक देख्न पाएको भन्दै स्थानीयहरु खुसी भएको उनले सुनाइन्। ‘ प्रायः चुनाव जितेपछि पनि घरमा फर्कँदैनन्, तर तपाई चुनाव हारेपछि पनि आउनुभयो। तपाईंको अनुहार एकै चुनावमा दुईपटक हेर्न पाइयो भन्नुभयो।’ उनले भनिन्।

‘मेयरको कुर्सी पाइनँ, मनको कुर्सी पाएँ’
०७४ को निर्वाचनमा पनि उनी कांग्रेसका तर्फबाट टोखा नगरकै उपप्रमुखमा उम्मेदवार थिइन्। त्यतिबेला पनि झिनो मतान्तरले उनी पराजित भएकी थिइन्।

निर्वाचनमा पराजित भएर घरदैलोमा पुग्दा पनि आफूलाई हारको अनुभूति नभएको थापा बताउँछिन्। ‘म घरदैलोमा जाँदै गर्दा हारेको जस्तो महसुस केहीबेर पनि भएन,’ उनले भनिन्, ‘किनभने मेयरको कुर्सीमा बस्न धेरै सजिलो हो तर मनको कुर्सीमा बस्ने भनेको गाह्रो काम हो। सायद जसले हिजो मेयर जित्नुभयो, उहाँको लागि रुने मान्छे निकै कम हुनुहुन्छ।’

केही कानुनी वा अन्य सेवाका समस्याहरु भएको खण्डमा कुर्सीमा नबसेपनि काम गर्नका लागि म तयार भएको उनले बताइन्। ‘आज जसले जित्नुभयो उहाँका लागि रुने मान्छेहरु निकै कम हुनुहुन्छ, तर मैले हार्दा पनि मेरा लागि रुने मान्छेहरु धेरै पाएँ’, उनले भनिन्।

नगरपालिकालाई गलत गरेको कुरामा गलत भयो र सही भएको खण्डमा सही भयो भन्ने काम गर्न नछाड्ने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .