ad ad

राजनीति


प्रतिनिधिसभा निर्वाचनमा रौतहट फर्केलान् माधव नेपाल?

काठमाडौंको कमजोर जनमतले चुनौती
प्रतिनिधिसभा निर्वाचनमा रौतहट फर्केलान् माधव नेपाल?

फाइल फोटो


रुपक चौलागाईं
जेठ १०, २०७९ मंगलबार १८:१७, काठमाडौँ

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला हो, रौतहट। उनी ०७० को संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट काठमाडौं–२ र रौतहट–१ बाट निर्वाचित भएका थिए। 
संवैधानिक व्यवस्थाअनुसार निर्वाचित दुईमध्ये एक छाड्दा उनी काठमाडौं छाडेर रौतहट–१ मै बसे। 

०७० देखि ०७४ को स्थानिय निर्वाचनसम्म आइपुग्दा रौतहटमा एमालेले ठूलो संख्यामा ‘जनमत’ गुमाउन पुग्यो। 

०७४ को स्थानीय तह निर्वाचनमा नेपालको गृहनगर गौरसहित सबै स्थानीय तहमा एमालेले पराजय ब्यहोर्‍यो। 

एमालेले ब्यहोरेको त्यो हारले झस्किएका नेपालले ०७० मा छाडेको निर्वाचन क्षेत्र काठमाडौं–२ रोजे। त्यतिबेला उनी रौतहट–१ सहित काठमाडौं–२, १ र ४ बाट उम्मेदवारमा सिफारिस भएका थिए।

०७४ मा काठमाडौं–२ बाट २७ हजार ३ सय ३६ मतसहित नेपाल निर्वाचित भए। शंखरापुर नगरपालिकासहित महानगरका ९ र ३२ नम्बर वडाका साथै कागेश्वरी–मनोहरी नगरपालिकाका वडा नम्बर ४ देखि ९ सम्म नेपालकै निर्वाचन क्षेत्रमा पर्छन्।

एमालेका तत्कालीन महासचिव मदन भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) ड्राफ्ट गर्दा  बसोबास गरेको स्थानका रुपमा पनि यो क्षेत्रलाई लिइन्छ। 

नेपालको निजी निवास रहेको वडा भने काठमाडौं महानगरको ३२ नम्बर वडामा नै पर्छ। यो क्षेत्रलाई नेपालले बलियो ‘आधार क्षेत्र’ का रुपमा लिँदै आएका थिए। 

तर, यो स्थानीय तह निर्वाचनमा नेपालकै ‘पकड’ रहेको क्षेत्रमा स्वतन्त्र उम्मेदवार बालेन साहले ल्याएको मतले भने एमालेलाई मात्र नभई एकीकृत समाजवादीका नेताहरुलाई पनि झस्काएको छ।

फर्किएलान् रौतहट?
गत ३० वैशाखमा स्थानीय तह निर्वाचन चलिरहँदा रौतहट पुगेका नेपाललाई स्थानीयले ‘गो ब्याक माधव नेपाल’ भन्दै लखेटे। गृहपालिका समेत रहेको गौर–२ को रामजानकी कन्या प्राविमा मत खसालेर गौरीशंकर क्याम्पसको बुथमा छिर्न खोजेका नेपाललाई त्यहाँबाट नाराबाजी गर्दै स्थानीयले लखेटेका थिए। 

सामाजिक सञ्जालमा उक्त भिडियो बाहिरिएपछि गृहजिल्ला छाडेका नेपालको ‘जनलहर’ बिग्रिएको भन्दै टिकाटिप्पणी हुन थालेका छन्।

नेपाललाई जसरी गौर–२ का स्थानीयले लखेटे, निर्वाचन परिणामले भने त्यसरी लखेटेको देखिँदैन। जुन वडाका स्थानीयले नेपाललाई ‘गो ब्याक’ भन्दै नाराबाजी गरेका थिए सोही वडामा पनि एकीकृत समाजवादीका उम्मेदवार फराकिलो मतान्तरसहित विजयी भएका छन्। 

माधव नेपालनिकट एकजना नेताका अनुसार ०७४ कै निर्वाचनमा पनि माधव नेपाललाई रौतहटबाटै चुनाव लड्न नेपाललाई दबाब थियो। तर, उनी निर्वाचन परिणामको ‘सुरक्षा’ खोज्दै काठमाडौं–२ छिरेपछि भने त्यहाँका स्थानीयसँगको माहोल बिगार्न विपक्षीहरु लागेको ती नेता बताउँछन्।

स्थानीय तह निर्वाचनको मत परिणाम आइ नसक्दै प्रतिनिधिसभामा कहाँबाट उठ्ने भन्नेबारे चर्चा भइनसकेको भएपनि रौतहटबाट अहिले पनि नेपाललाई निर्वाचन लड्न दबाब सिर्जना भइरहेको छ। 

रौतहटका ४ पालिकामा जित
०७४ को निर्वाचनमा नेपाल नेतृत्वको पार्टी थियो, नेकपा एमाले। नेपालकै गृहजिल्ला समेत रहेको रौतहटमा एमालेले त्यतिबेला एउटा पालिकामा पनि जित निकाल्न सकेन।

यो पटक एमालेले रौतहटको देवाही गोनाही र मौलापुर नगरपालिकामा जित निकालिसकेको छ। एमालेबाट विभाजित माधव नेपालको पार्टी एकीकृत समाजवादीले भने ४ वटा पालिकासहित सानदार जित निकालेको छ। 

गौर, बौधीमाई, बृन्दाबन र राजदेवी नगरपालिकामा एकीकृत समाजवादीका उम्मेदवारहरू विजयी भएका छन्। देशभरको परिणामले उत्साहित हुन नसकेको एकीकृत समाजवादी रौतहटमा भने १८ मध्ये ४ पालिकामा विजयी भएको छ। 

काठमाडौंमा कमजोर मत
माधव नेपालको निर्वाचन क्षेत्रमा पर्ने काठमाडौंको शंखरापुर नगरपालिका भने एकीकृत समाजवादीले गुमाएको छ। शंखरापुरमा राप्रपाले प्रभाव देखाएको छ। इतिहासमा नै पहिलो पटक काठमाडौंको नगर प्रमुखमा जित निकालेको राप्रपाका कारण नेपाललाई रौतहट फर्कन सहयोग हुनसक्छ। 

राप्रपाका उम्मेदवार रमेश नापितले ४७ सय मत ल्याउँदा एकीकृत समाजवादीका लक्ष्मी प्रसाद श्रेष्ठले भने ४२०२ मत ल्याएका छन्। यस नगरपालिकाका ९ वटा वडामध्ये कुनैमा पनि एकीकृत समाजवादीले वडाध्यक्ष पद जित्न सकेको छैन।

यता, नेपालको निर्वाचन क्षेत्र पर्ने कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं ४, ५, ६, ७, ८ र ९ मध्ये ४ वटामा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। वडा नं. ४ मा एमालेले र ६ मा एकीकृत समाजवादीले जित निकालेको छ। ५, ७, ८ र ९ मा भने कांग्रेस विजयी भएको हो।

गठबन्धन हुँदा पनि महानगरका उपप्रमुख उम्मेदवारको मतले पनि नेपाललाई काठमाडौंमा ‘असुरक्षित’ हुनसक्छ भन्ने बुझाई एकीकृत समाजवादीभित्र छ। 

‘कतिपयलाई चाँही अध्यक्ष रौतहट गइदिए हुन्थ्यो, त्यसो हुँदा हामीले यता टिकट पाउँथ्यौँ भन्ने पनि छ,’ एकीकृत समाजवादीका ती नेताले आगामी निर्वाचनको दृश्यबारे थप चर्चा गर्दै भने, ‘तर, यसबारे अहिले नै निर्णय लिनेगरी छलफल भने पार्टीभित्र भइसकेको छैन।’

स्थानीय निर्वाचनले प्रतिनिधिसभाको निर्वाचनमा असर नगर्ने ती नेता बताउँछन्। तर, ग्राउन्डको मतलाई ध्यानमा राख्दै रौतहट र काठमाडौंमा उत्तिकै सुरक्षित हुने ती नेता दाबी गर्छन। 
‘यहाँको साथीहरुको जोड पनि हामी जित्छौँ भन्ने नै छ। अहिलेको मतपरिणामले माथिको चुनावमा त्यति असर गर्दैन।’ ती नेताले बताए।

काठमाडौंको वडा नं. ९ र ३२ 
काठमाडौं महानगरको ९ नम्बर वडाको मतगणना हुन बाँकी छ। गौशाला, बत्तीसपुतली क्षेत्रमा अघिल्लो चुनावको तथ्यांक हेर्दा यो वडा एमालेले जितेको ठाउँ हो। ०७४ को चुनावमा यहाँ एमालेका रामकृष्ण जयखु श्रेष्ठ २५१७ मतका साथ वडाध्यक्ष चुनिएका थिए। यहाँ कांग्रेसको मत २१५६ थियो। 

३२ मा भने सुरुदेखि नै मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह र उपमेयरमा एमालेकी सुनिता डंगोलको मत धेरै छ। यहाँ गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार रामेश्वर खनालले डंगोलको भन्दा निकै कम मत पाएका छन्।

काठमाडौंको अन्तिम वडा कोटेश्वर एवं नरेफाँट क्षेत्र हो। यही वडामा नेपालको नीजि निवास पनि पर्छ। यो क्षेत्र पनि विगतमा एमालेकै गढ हो। 

०७४ को चुनावमा यहाँबाट एमालेका नवराज पराजुली ५८७९ मतका साथ वडाध्यक्ष चुनिएका थिए। काँग्रेसले त्यतिबेला ४०१९ मत पाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .