नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउँदको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने शुक्लाफाँटा नगरपालिकामा नेकपा एमालेले ०७४ को नतिजा उल्ट्याएको छ।
शुक्लाफाँटा नगरपालिकामा नेकपा एमालेले मेयरमा बाजी मारेको छ। एमालेका रणबहादुर महरा दोस्रो प्रयासमा मेयर बन्न सफल भएका छन्।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार महरा ६ हजार ७७३ मत सहित मेयरमा निर्वाचित भए।
उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसका दिलबहादुर ऐरसँग १ हजार ३ मतले पराजित भएका थिए।
यसपटक दोस्रो प्रयासमा कांग्रेसका चिन्तामणि भट्टलाई ५०९ मतान्तरले उछिन्दै महरा शुक्लाफाँटाको मेयरमा निर्वाचित भएका हुन्।
महराका प्रतिस्पर्धी कांग्रेसका भट्टले ६ हजार २६४ मत ल्याए।
यस्तै, माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट मेयरका उम्मेदवार बनेका माओवादीका नवराज ऐर ५ हजार २२५ मतमा रोकिए।
शुक्लाफाँटा नगरपालिकामा ०७४ को नजिता उल्टिएको छ। ०७४ मा कांग्रेसले मेयर र एमालेले उपमेयर जितेको थियो।
यसपटक मेयरमा एमालेले बाजी मार्यो भने उपमेयरमा कांग्रेसले जित हासिल गरेको छ।
उपमेयरमा कांग्रेसकी कल्पना जोशी ६ हजार ५१९ मत सहित विजयी भइन्।
उनका प्रतिस्पर्धी माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट उम्मेदवार बनेका समाजवादीका माधवप्रसाद पन्तले ५ हजार ३६० मत ल्याए। यस्तै, एमालेकी मोनिका भट्ट ५ हजार २३६ मत सहित तेस्रो स्थानमा रहिन्।
वडामा पनि ०७४ नतिजा उल्टिएको छ। त्यसबेला उपमेयर जितेको एमालेले शुक्लाफाँटामा १२ वडामध्ये ५ वडामा जित निकालेको थियो। मेयर जितेको कांग्रेसले ३ वडा मात्रै जितेको थियो।
यसपटक मेयर गुमाएको छ भने वडामा वर्चश्व बढाएको छ। कांग्रेसले १२ मध्ये ६ वडामा बाजी मारेको छ।
यस्तै, नेकपा एमालेले यसपटक ३ वडामा मात्रै जित निकाल्न सकेको छ। मेयर जिते पनि एमालेले २ वडा गुमाएको छ। एमालेले यसपटक ३ वडामा जित निकालेको छ।
यस्तै, माओवादीको वर्चश्व झनै घटेको छ। ०७४ सालमा ४ वडामा जित निकालेको माओवादी यसपटक २ वडामा खुम्चिएको छ। शुक्लाफाँटामा एकीकृत समाजवादीले एक वडामा जित निकालेको छ।
Shares

प्रतिक्रिया