राजनीति


संसदमै सांसदहरु बंग्याउँछन् नेताका नाम

संसदमै सांसदहरु बंग्याउँछन् नेताका नाम

नेपालखबर
असार ८, २०७६ आइतबार १०:३६,

संसदमा शिष्ट र मर्यादित भाषा मात्रै बोल्न पाइन्छ। कुनै सांसदले अमर्यादित र अशिष्ट भाषा, शब्द प्रयोग गरे संसदको रेकर्डबाटै हटाइन्छ। तर, संसदमै कतिपय सांसदहरु अमर्यादित भाषा बोल्छन्। जान्दा जान्दै पनि अन्य दलका नेताहरुको मान मर्दन गर्न यस्ता शब्दको प्रयोग गर्दछन्।

प्रतिनिधिसभाको आईतबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। त्यस क्रममा कतिपय सांसदहरु शब्द चयनमा चुकेका छन्।

सांसद झपट बहादुर रावलले प्रतिपक्षी दलका सांसदले प्रधानमन्त्रीलाई ‘झुट प्रसाद र कर प्रसाद ओली’ भनेको भन्दै रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण नै गराउनु पर्यो। जनप्रतिनिधिले बोल्ने भाषा शैली शिष्ट, सभ्य र सुसंस्कृत हुनुपर्ने भन्दै उनले संसदीय मर्यादा कायम गराउने तर्फ पनि सभामुखको ध्यानाकर्षण गराएका हुन्।

उनले भने, ‘प्रतिपक्षी दलका माननीयज्युले सम्माननीय प्रधानमन्त्रीज्यूको नाम बंग्याएर कर प्रसाद र झुट प्रसाद भन्नुभएको छ। यसैगरी हामीले पनि प्रतिपक्षी दलका नेताज्यू पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा लगायतका अन्य नेताहरुलाई, शेर बहादुर देउवा नभनेर छेरबहादुर देउवा भन्न हामी बाध्य भयौं भनेदेखी के हुन्छ? अमर्यादित र असभ्य भाषा रेकर्डबाट हटाईयोस्।’

प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले सरकारको प्रतिवद्धता अनुसार काम नभएको र सर्वत्र कर बढाउने काम भएको भन्दै प्रधानमन्त्री ओलीलाई करप्रसाद र झुट प्रसादको उपनाम राखिदिनुपर्ने अभिव्यक्ति दिएका थिए।

सांसद चौधरीले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको र हरेक क्षेत्रमा असफल बन्दै गईरहेको आरोप लगाएका थिए। भ्रष्टाचार र काण्डै काण्डमा फसेको सरकार सर्वत्र असफल बन्दै गएको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई झुट प्रसाद को उपनाम दिनुपर्ने तर्क गरे। उनले भने, ‘सिण्डिकेट अन्त्य होइन त्यसलाई प्रोत्साहन गर्ने काम गरेर यो सरकार झुट सावित भएको छ। जथाभावी कर लगाएर कर प्रसाद ओली उपनाम पाएका सम्माननीय प्रधानमन्त्री ज्यूको सरकारको कामकारावाही हेर्दा उहाँले सधै झुटको आश्वासन दिने, झुटको खेती गर्ने भएकोले अब उहाँको नाम झुट प्रसाद ओली उपनाम दिँदैमा केही फरक पर्ने वाला छैन।’

त्यसपछि सभामुख कृष्ण बहादुर महराले विषयवस्तुलाई गम्भीरता पुर्वक लिएको उल्लेख गर्दै त्यसबारे पछि निर्णय गर्ने बताएका थिए।

 बैठकमा सांसदहरुले रेशम चौधरीलाई नेल लगाएर उपचार गराईएको, सरकारको काम कारवाही असफल बन्दै गएको र खेतीपातीको समयमा रासायनिक मल अभाव भएको भन्दै सहज मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका थिए।

सांसद चन्दा चौधरीले रेशम चौधरीलाई विरामीको उपचार गराउँदै २४ केजीको सिक्री लगाएर उपचार गराउने काम भएको भन्दै त्यसबारे गृहमन्त्रीको ध्यानाकर्षण गराइन्। सिक्री लगाएर उपचार गराउने काममा संलग्नलाई प्रधानमन्त्रीले कारवाही गर्न दिएको निर्देशन कार्यान्वयन भएको प्रगती बारे जानकारी गराउन पनि उनले गृहमन्त्रीसँग माग गरिन्। दश वर्षे जनविद्रोह, गौर हत्याकाण्डका योजनाकारहरु सरकारमा रहेको र टिकापुर घटना पनि राजनीतिक जनविद्रोह भएको भन्दै उनले सरकारले विभेदको नीति लिएको आरोप लगाइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad