कारोबार


अग्रिम तलब नेपालमै दिएर केन्या पुर्‍याइन्छन् नेपाली युवती

अग्रिम तलब नेपालमै दिएर केन्या पुर्‍याइन्छन् नेपाली युवती

मोहम्मद अहमद/ब्रायन ओकारो
असार ८, २०७६ आइतबार १०:८,

गत वर्षको नोभेम्बरको अन्त्यतिर २० वर्षीया असली बाई नेपालमा रहेका आफ्ना परिवारलाई केही मद्दत गर्न सकिन्छ कि भनेर केन्या आइन्। परिवारले विद्यालयको फि तिर्न नसकेर सानैमा विद्यालय छाडेकी उनी जब यहाँ आइपुगिन्, एक यौनदासी बन्न पुगिन्। असली परिवारमा सात सन्तानमध्ये पहिलो सन्तान हुन्।

विद्यालय छोडेपछि पैसा कमाउन उनी डान्सर बनिन्। सोही सिलसिलामा उनको भेट विशाल नाम गरेका एक एजेन्टसँग भयो। उनले विशाललाई आफ्नो समस्या सुनाइन्। त्यसपछि एजेन्टले केन्यामा काम पाइने भन्दै उनलाई आग्रह गर्यो।

‘उसले मलाई एक कलाकारको खोजी गरिरहेको मान्छेबारे बतायो, त्यसपछि मैले पनि भेट्न चाहेँ’, उनी भन्छिन्, ‘त्यसपछि मलाई मिस्टर आसिफसँग भेटाइयो ।’ त्यसको केही हप्तामै बाईले केन्याको मोम्बासा जान पासपोर्ट र हवाइ टिकट पाइन्। यसको व्यवस्था तिनै आसिफले मिलाएका थिए।

सन् २०१८ नोभेम्बर १२ मा उनी मोइ इन्टरनेशनल एयरपोर्ट आइपुगिन्। उनलाई लिन आसिफ आएका थिए। बाम्बुरीमा रहेको एउटा अपार्टमेन्टमा आसिफले उनलाई लगे। त्यहाँ उनी एक दिन बसिन्। त्यसपछि नयाँ कामका लागि कुरा भयो। जुन काम न्यालीमा रहेको न्यु रंगिला बार नामको एक रेष्टुरेन्टमा डान्स गर्नुपर्ने थियो। उनले ‘मुज्रा’ नामको डान्सको अभ्यास गर्न थालिन्। त्यसपछि आसिफले बाईको पासपोर्ट खोसेर राखे।

असली चार युवतीमध्येकी एक हुन्, जसले आफ्नो वास्तविकताबारे केन्यामा अन्तर्राष्ट्रिय मानवतस्करीबारे अनुसन्धान गरिरहेको प्रहरीलाई बताएका थिए। यसबाटै प्रष्ट हुन्छ एकपटक यौनदासी र बाल मजदुरको ट्रान्जिट पोइन्ट भइसकेको केन्या अहिले गन्तव्य नै बनेको छ।

को हुन् आसिफ (जेठा)?
अहिले यहाँको प्रहरीले द न्यु रंगिला क्लबमा आफ्नो अनुसन्धान केन्द्रित गरेको छ। यो मोम्बासाका टाइकुन असिफ अमिराली अलिभाइ जेठा अर्थात् तिनै ‘आसिफ’को हो, जसले बाईलाई केन्या ल्याएका थिए। उद्योग व्यवसायका धनाढ्यलाई ‘टाइकुन’ भन्ने गरिन्छ। उनले २०१४ देखि उक्त क्लब सञ्चालन गरिरहेको बताइएको छ। उनीसँग क्यानडा र बेलायतको पासपोर्ट छ। उनको फेसबुक प्रोफाइल हेर्ने हो भने क्यानडा वाइड मिडियासँग समेत काम गरेको देखिन्छ। जुन एक स्वतन्त्र म्यागजिन प्रकाशक र डिजिटल मिडिया कम्पनी हो।

उनी एक विवाहित पुरुष हुन्। जसले क्यानडाको ब्रिटिश कोलम्बियामा रहेको साइमन फ्रेजर युनिभर्सिटी र बर्नबी सेन्ट्रल सेकन्डरी स्कुलमा अध्ययन गरेका थिए। केन्याको सामुद्री तटीय क्षेत्रका केही परिचित व्यवसायसँग जोडिएका व्यक्ति पनि हुन्। उनको सम्बन्ध सुरक्षा क्षेत्रका केही व्यक्तिसँग पनि जोडिएको बताइन्छ। जसले गर्दा उनलाई पक्रिन समस्या हुने गरेको छ। उनीमाथि अहिले तीन आरोपमा

छानबिन र अनुसन्धान भइरहेको छ। युवतीहरुको कागजात नियन्त्रणमा राखेको, मानव तस्करीलाई प्रश्रय दिएको र तस्करी गर्ने गरेको आरोप लगाइएको छ। उनीमाथि आफ्नो रंगिला बारलाई तस्करी प्रयोजनमा लगाएको आरोप पनि लागेको छ। ‘उक्त क्लबमा सबैलाई जाने अनुमति दिइँदैन, जसले टिप्स फि दिन्छन्, बढी मूल्यमा प्रवेश शुल्क तिर्छन् उनीहरुलाई मात्र क्लबमा जान दिइन्छ। उक्त क्लबको ढोका सधैँ बन्द हुने गर्छ’, क्लबमा गइसकेका एक अनुभवी व्यक्तिले नाम नलेख्ने शर्तमा भने।

‘मुज्रा’ युवतीले गर्ने कामुक दक्षिण एसियाली नृत्य हो। नृत्यांगना (नाच्ने युवती)लाई त्यहाँ भएका व्यक्तिले टिप्स थमाउँछन्। उनीहरुले ती युवतीसँग गोप्य रुपमा समेत भेट्न पाउने गरेको क्लब गएका एक जनाले बताए। त्यहाँ काम गर्ने युवतीलाई छुट्टै छद्म नाम दिइन्छ र हरेक रात पैसा कमाउन प्रयोग गरिन्छ। उनीहरुलाई मासिक रुपमा ५० हजारदेखि ८० हजारसम्म केन्याको शिलिङ (मुद्रा) तलब दर राखिएको छ। जुन १ रुपैयाँबराबर नेपाली १ रुपैयाँ ९ पैसाको हाराहारीमा विनिमय दर रहेको छ। तर युवतीहरुले १० देखि १५ हजार शिलिङ मात्रै सोझै पाउँछन्।

युवतीहरुका अनुसार उनीहरु न्यालीको एउटा अपार्टमेन्टमा सँगै बस्छन्। बाहिर जान रातमा बाहेक अरु बेला दिइँदैन। क्लबभन्दा अन्त जान रोक लगाइन्छ र महिनाको एकचोटि मात्रै क्लबको कुनै कर्मचारीसँग बाहिर जान दिइन्छ।

२६ वर्षीया सञ्जिता आले पनि उक्त अपार्टमेन्टमा करिब १० महिना बसिन्। त्यहाँ उनीसँगै अरु १० जना नेपाली महिला थिए। त्यतिबेला उनी न्यु रंगिला क्लबमा लैजाँदा ९÷१० बजे राति मात्रै अपार्टमेन्टबाट बाहिरिन्थिन्। त्यसपछि बिहान ३ बजे क्लब बन्द भइसकेपछि फर्किन्थिन्। आफ्नो वरपरबारे सञ्जितालाई निकै थोरैमात्र थाहा छ। उनी आफू बस्ने बाम्बुरी अपार्टमेन्ट समेत पहिल्याउन सक्दिनन्। ‘हामीलाई काममा जाँदाबाहेक अरु बेला घर छोड्नै दिइँदैन’, उनी भन्छिन्, ‘महिनामा एकपटक मात्रै बाहिर जान दिइन्छ, तर बोस हामीसँगै हुन्छ।’ यी महिलालाई मोबाइल प्रयोग गर्न समेत ३ बजे र ६ बजेको समयमा बाहेक अरु बेला नदिने गरेको उनी बताउँछिन्।

सञ्जिताको स्टेज नाम ‘आशिको’ राखिएको थियो। उनलाई मासिक रुपमा ८० हजार शिलिङ तलबको महिनावारी लक्ष्य ४ लाख शिलिङ दिइएको थियो। स्टेजमा हुँदा कस्टुमरले उनीहरुलाई टिप्स दिन्छन्, त्यस्तो टिप्स एउटा बाल्टिनमा राखिन्छ। सबै नृत्यांगनाको नाममा बाल्टिन राखिएको हुन्छ। हरेक महिना तिनै आसिफका कामदारहरुले ६० देखि ७० हजार सिलिङ उनका परिवारलाई पठाइदिने गरेको सञ्जिताको भनाइ छ।

यस्तै कथा छ रञ्जिता बिकको पनि। उनले पनि सानैमा आर्थिक समस्याले पढाइ छोडिन्। अहिले ३० वर्ष उमेरकी रञ्जिताले पढाइ छोडेर डान्स गर्न थालिन्। केन्यामा डान्सरलाई राम्रो अवसर रहेको उनले पनि सुनिन्। ‘आसिफलाई चिन्ने मेरो एक जना साथीले मलाई फोनमार्फत अन्तर्वार्ता गराए’ उनी भन्छिन्, ‘मैले ऊसँग १ महिनाको तलब अग्रिम रुपमा दिन भनेँ, उसले मेरा लागि प्लेन टिकट खरिद गरिदियो र ८० हजार शिलिङ मेरो बैंकको ऋण तिर्न र कपडा किन्न पठाइदियो।’

त्यसपछि उनी गत वर्ष अगष्टमा केन्या उडिन्। उनलाई पनि बाईलाई जस्तै जेठाले मोई अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिसिभ’ गरे। त्यसपछि सिधै अपार्टमेन्टमा लगियो। उनको पासपोर्ट खोसियो। अपार्टमेन्टमा रञ्जिताको भेट अन्य ८ जना नेपाली महिलासँग भयो। सोही राति ९ बजे उनीहरु सबैलाई एउटा गाडीमा राखेर क्लबमा पुर्याइयो।

प्रहरीको ‘रेड’
सबै खर्च बोसले व्यहोरेका थिए। एक जना ‘म्यारी’ नामकी महिलाले उनीहरुको फोन धेरैजसो समय नियन्त्रणमा राख्थिन्। खासगरी रातको समयमा काममा छँदा सबैको नाममा एउटा एउटा बाल्टिन हुन्थ्यो। वेइटरले ती बाल्टिन ग्राहकसम्म पुर्याउँथे। ग्राहकको आफ्नै रोजाइका युवती हुन्थे। ‘मेरोचाहिँ ४ लाख शिलिङ थियो’, उनी भन्छिन्। कहिलेकाहीँ उनीहरुले सिधै कस्टुमरबाट पैसा पाउँथे तर अधिकांश समय बाल्टिनमै पैसा जम्मा हुन्थ्यो।

मासिक तलब ८० हजार सिलिङ भए पनि रञ्जिताले १० देखि १५ हजार मात्रै पाउँथिन्। बाँकी सबै उनको नेपालमा रहेका परिवारलाई पठाइन्थ्यो।

यो वर्षको अप्रिल १३ सम्म सबै कुरा राम्ररी भइरहेको थियो तर एक राति बिहान ३ बजेट प्रहरीले क्लबमा छापा हान्यो। ‘प्रहरीहरु म डान्स गरिरहेको समयमा क्लबमा आए र आफ्नो परिचय दिए’, उनी सम्झिन्छिन्, ‘त्यसपछि हामीलाई तल बस्न भने, केही फोटोहरु खिचे र प्रहरी स्टेसनमा लगे, जहाँ मलाई आफ्ना कुराहरु रेकर्ड गर्न भनियो।’

त्यस्तै अर्की महिला सञ्जु गुरुङ जो विवाहित हुन्। उनलाई एकपटक काम गरिसकेकी आफ्नै साथीले डान्सको काम पाउनेबारे बताएकी थिइन्। ‘गरिबीले पढ्नबाट वञ्चित गरेको हुँदा मैले पनि एकपटक काम गर्ने निर्णय गरेँ’, उनी भन्छिन्, ‘पढाइ छुट्नासाथ विवाह भएको थियो। श्रीमान् ज्यामी काम गर्नुहुन्छ, राम्रो भविष्यका लागि पैसा कमाउनुपर्ने भएर यहाँ आएको हुँ।’

उनी पनि तिनै जेठा (आसिफ)सँग टेलिफोन अन्तर्वार्ता दिएर काम गर्न आइपुगेकी हुन्। उनलाई पनि जेठाले ६० हजार शिलिङ अग्रिम तलबको रुपमा नेपाल पठाइदिएका थिए। अरुलाई जस्तै उनको पनि पासपोर्ट खोसियो र ११ जना अन्य नेपाली महिलासँगै बाम्बुरी अपार्टमेन्टमा राखियो। अरु सबैलाई जस्तो उनलाई पनि उही प्रक्रियामा राखेर काम गराइन्थ्यो।

यौन शोषण
उनका अनुसार सञ्जुको ६० हजार तलबबाट ५० देखि ५५ हजार शिलिङ नेपालमा उनका श्रीमानलाई पठाइदिने बोसले बताएका थिए। हरेक महिना उनले ५ देखि १० हजारसम्म शिलिङमात्रै पाउँथिन्। बोसले बाँकी रकम आफ्नो खाताबाट नेपालमा उनका श्रीमानलाई पठाउँथे। उक्त अप्रिलको रातमा १२ मध्ये उक्त ४ जना पक्राउ परेका थिए। पक्राउ परेका चारै जनालाई यही महिनाको अन्त्यतिर नेपाल पठाउने बताइएको छ।

सन् २०१८को ह्युमन ट्राफिकिङसम्बन्धी संयुक्त राष्ट्रसंघको एउटा विश्वव्यापी रिपोर्टअनुसार यौन शोषण र श्रम शोषण ह्युमन ट्राफिकिङको मुख्य कारण रहेको छ। मानव तस्करीमा परेकामध्ये ५० प्रतिशतको यौन शोषण हुने गरेको छ। त्यसमा पनि अधिकांश महिला तथा बालबालिका हुने गरेका छन्। हाल मानव तस्करी बढिरहेको पनि रिपोर्टमा बताइएको छ। एसिया, अमेरिका, अफ्रिका र मध्यपूर्वमा मानव तस्करविरुद्ध कारबाही बढिडरहेको पनि रिपोर्टमा उल्लेख छ। केन्याले काउन्टर ट्राफिकिङ इन पर्सन्स एक्ट सन् २०१० मै पारित गरेको छ। सन् २०१८ को एउटा अमेरिकी स्टेट डिपार्टमेन्ट रिपोर्टअनुसार केन्याले अझै पनि पूर्ण रुपले मानव तस्करी रोक्ने न्यूनतम स्तर भेट्न सकेको छैन।

विज्ञहरुका अनुसार केन्या र दक्षिण अफ्रिका मानव तस्करीको मुख्य विन्दु (ट्रान्जिट पोइन्ट) राष्ट्रहरु हुन्। अहिले जेठालाई पक्राउ गरिएको छ। अवैधानिक रुपमा विदेशी कामदारलाई काम लगाएको, अनुमतिविना व्यवसाय सञ्चालन गरेको जस्ता आरोप उनीमाथि लगाइएका छन्। त्यस्तै १२ विदेशी महिला डान्सरलाई आवश्यक काम अनुमतिविनै काम लगाएको आरोप पनि लगाइएको छ। उनले भने ती सबै आरोप अस्वीकार गरेका छन्। जनवरी १ देखि मार्च २४ सम्म उनको न्याली क्लबमा भएका भनेर लगाइएका सबै आरोपहरु अस्वीकार गरेको बताइएको छ।

मानव तस्करीजस्तो अपराधबाट आर्जित १ हजार ३ सय ८२ डलर र ६९ हजार ५० शिलिङसहित जेठालाई पक्राउ गरिएको उनलाई लगाइएको अभियोगपत्रमा उल्लेख छ। यसबाहेक करछलीमा पनि उनीविरुद्ध मुद्दा लगाइएको छ। केन्याको नेशन अनलाइनबाट।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad