राजनीति


सेनाले भन्यो : विष्फोटक पदार्थमा हामी आत्मनिर्भर भयौँ

सेनाले भन्यो : विष्फोटक पदार्थमा हामी आत्मनिर्भर भयौँ

विष्णु नेपाल
मंसिर १२, २०७६ बिहिबार ४:५५,

नेपाल विष्फोटक पदार्थ (इमल्सन) उत्पादनमा आत्मनिर्भर बनेको छ।

विकासका ठूला परियोजना जस्तै सुरुङमार्ग, सडक जस्ता परियोजना निर्माणमा विष्फोटक पदार्थ अत्यावश्यक पर्छ। चट्टानका भिर फोर्ने काममा विष्फोटक पदार्थ नभइ हुँदैन।

नेपाली सेना र नेपाल सरकारको संयुक्त सहकार्यमा मकवानपुरस्थित सुनचरीमा स्थापित नेपालको पहिलो इमल्सन प्लान्टले आफ्नो उत्पादन क्षमतालाई दोब्बर वृद्धि गरेसँगै नेपाल विष्फोटक पदार्थ उत्पादनमा आत्मनिर्भर बन्ने अवस्था सिर्जना भएको हो।

सैनिक सामग्री उत्पादन तथा यान्त्रिक सेवा निर्देशनालयका प्रमुख प्राविधिक उपरथी अजितवरसिंह थापाले सुनचरीमा थप नयाँ इमल्सन प्लान्ट स्थापना भएको र यसले उत्पादनसमेत शुरुआत गरेको जानकारी दिए।

‘अब देशका लागि आवश्यक पर्ने विष्फोटन पदार्थ सोही प्लान्टले पूरा गर्ने विश्वास हामीले लिएका छौँ,’ थापाले भने।

५० करोडको लागतमा स्थापना भएको प्लान्टले दुई÷चार सय मेट्रिक टन इमल्सन उत्पादन गरिसकेको नेपाली सेनाको मुख्यालयमा बुधबार आयोजित कार्यक्रममा जानकारी दिइयो।

गत आवमा प्लान्टबाट विभिन्न जलविद्युत र सडक आयोजनाले ७९ मेट्रिक टन विष्फोटक पदार्थ खरिद गरेका छन्।

प्लान्टमा उत्पादन भएको इमल्सन प्रतिकेजी एक सय ९८ मा बिक्री वितरण गरिएको सेनाले जनाएको छ । उत्पादन लागतको ७७ प्रतिशत कच्चा पदार्थ आयातमा खर्च गर्नुपरेकाले उत्पादन लागत बढेको सेनाले जनाएको छ।

विसं २०६० मा स्थापना भएको पुरानो प्लान्टबाट वार्षिक एक हजार दुईसय मेट्रिक टन विष्फोटक पदार्थ उत्पादन हुँदै आएको थियो। यो उत्पादन ‘सिङ्गलबेस प्रोपेलेन्ट प्लान्ट’ बाट मात्र हो।

प्लान्टको उत्पादन क्षमतामा वृद्धि गर्न नयाँ ‘डबलबेस प्रोपेलेन्ट प्लान्ट’ स्थापना भएपछि विष्फोटक पदार्थमा मुलुक आत्मनिर्भर हुने अवस्था सिर्जना भएको हो।
हाल नेपालमा पाँच हजार मेट्रिक टन विष्फोटन पदार्थ आवश्यक पर्ने एक अध्ययनले देखाएको छ।

नेपाली सेनाका इञ्जिनीयरिङ विभागका प्रमुख प्राविधिक सहायक रथी रामधर सिंहका अनुसार विष्फोटन पदार्थ विकास निर्माणका लागि अति आवश्यक पदार्थ हो। यसलाई ‘सिभिल एक्सप्लोसिभ’ पनि भनिन्छ।

सेनाले आफूले जिम्मा लिएका कठिन सडक निर्माणमा चट्टान फोर्न विष्फोटन पदार्थको पनि सहायता लिँदै आएको छ।

सेनाले हालसम्म २७ सडक निर्माणका आयोजनामार्फत एक हजार ६६ किलोमिटर सडक निर्माण गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ।

हाल राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेश जोड्ने द्रुतमार्गसहित अन्य पाँच आयोजना गरी कूल पाँच सय ३६ किलोमिटर सडक निर्माण तीव्रगतिमा अगाडि बढाइरहेको छ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको टनेल निर्माणका क्रममा यही प्लान्टबाट उत्पादन भएको विष्फोटन पदार्थको उपयोग गरिएको थियो।

हाल यो आयोजनाको ९३ प्रतिशत काम सम्पन्न भइसकेको छ। स्वदेशभित्र हाल २०० किलोमिटर टनेलिङ सडक निर्माण सम्पन्न भएका छन्। सोही मात्रामा नयाँ निर्माण भइराखेको टनेल इञ्जिनीयर रामहरि शर्माले जानकारी दिए।

निजी क्षेत्रका निर्माण कम्पनीलाई इमल्सनको आवश्यकता र औचित्य पुष्टि भएपछि रक्षा, गृह मन्त्रालय तथा सेनाको स्वीकृति लिएर मात्र विष्फोटक पदार्थ दिइने सेनाले जनाएको छ।

निगरानी गर्न सेनाका दक्ष प्राविधिक आफैँ परिचालन हुँदै आएका छन्। प्लान्टमा हाल ३० दक्ष प्राविधिक कार्यरत रहेका बलाध्यक्षरथी गौरव तण्डुलले जानकारी दिए।

कार्यक्रममा सहभागी जलविद्युत् व्यवसायी भीम घिमिरेले नेपाली सेनाले उत्पादन गरेको विष्फोटन पदार्थ महङ्गो तथा कम गुणस्तरसमेत भएको बताए।

स्वतन्त्र ऊर्जा उत्पादक सङ्घका उपाध्यक्ष कुमार पाण्डेले नेपाली सेनाको विष्फोटन पदार्थ खरीद गर्न झन्झटिलो प्रक्रिया रहेको हुँदा सहजीकरण गर्न माग गरे।

यसरी बन्छ इमल्सन
आल्मोनियम र सोडियम नाइट्रेटको समिश्रणबाट विष्फोटक पदार्थ बनाउने गरिन्छ । प्राविधि सहायक रथी थापाका अनुसार इमल्सनको निर्माण गर्ने प्रक्रिया ‘वाटर मिक्स’ र ‘वोइल मिक्स’ गरी दुई तहमा हुने गर्दछ।

पहिलो तहमा आल्मोनियम र सोडियम नाइट्रेटलाई पानीमा घोलिन्छ। दोस्रो तहमा ‘वाक्स भ्यास्लिन’ लगायतका वस्तुको समिश्रण हुन्छ, त्यसपछि ‘सेन्सोडाइज’ गरेर ‘सेमी लिक्विड’ बनाइन्छ।

सेमी लिक्विडलाई प्याकेजिङ गरिन्छ। यो नै विष्फोटक पदार्थ हो। विश्वमा यही प्रविधिबाट विष्फोटन पदार्थको उत्पादन हुने गर्दछ । हाइड्रोलिकमा राखेर यसलाई प्याकिङ गर्ने गरिन्छ।

एउटा बक्समा २५ किलो विष्फोटक पदार्थ राखिन्छ । त्यसमा १९० विष्फोटक पदार्थ हुन्छ । ड्रिल गरेर डेटोरनेटरसँग राखेपछि मात्रै विष्फोटक पदार्थ विस्फोट हुने गर्दछ।

हाल प्लान्टमा २५ एमएम र ३२ एमएमका गरी दुई किसिमको इमल्सन विष्फोटक पदार्थ उत्पादन हुँदै आएको छ । यसको क्षमताको आधारमा वर्गीकरण गरिएको छ।

इमल्सनका लागि आवश्यक कच्चा पदार्थ चीन तथा भारतबाट आयत हुने गर्दछ। विष्फोटन पदार्थ बिक्री वितरणमा सहजता ल्याउन सेनाले बजार व्यवस्थापन समितिसमेत खडा गरेको छ।

नीति तथा योजना निर्देशनालयअन्तर्गत रहेको सो समितिले विष्फोटन पदार्थ प्राप्ति र वितरणमा सहजता ल्याउने तयारी गरिएको सेनाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad