राजनीति


चुनावी सभाका लागि बुटवल–११ नै किन रोज्छन् दल?

चुनावी सभाका लागि बुटवल–११ नै किन रोज्छन् दल?

सुदीप भण्डारी
बैशाख २५, २०७९ आइतबार ८:३९, बुटवल

बुटवलमा प्रायःजसो ट्राफिकचोकको सडकमा खुला सभा हुने गर्थे। ट्राफिकचोक, पुष्पलालपार्कलगायत ठाउँ यतिबेला अस्तव्यस्त र धुलाम्मे छ। सडकमा खाल्डाखुल्डीले यात्रुलाई सास्ती हुने गरेको छ। 

सडक विस्तार सुरु भए पनि काम अघि नबढ्दा यस्तो अवस्था आएको हो। त्यसैले ट्राफिकचोकमा सभा, सम्मेलन गर्ने वातावरण छैन। त्यसबाहेक केही सभा दीपनगरको सिद्धेश्वर मैदानमा पनि हुने गर्थे। अलि भित्री भाग हुँदा अन्य समयमा कार्यक्रम भए पनि चुनावको बेला खासै कार्यक्रम हुँदैनन्। केही खुला र सहज ठाउँ खोज्ने क्रममा चुनावी कार्यक्रमका लागि दलहरुको रोजाइ बुटवल ११ मा बनेको छ।

कांग्रेससहितको सत्ता गठबन्धनले शनिबार यही वडाको लुम्बिनी बाणिज्य क्याम्पस अगाडिको चौरमा चुनावी सभा गर्याे। सभामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, बालकृष्ण खाँण, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, नेकपा माओवादी केन्द्रका नेता चक्रपाणि खनाल बलदेवलगायतले सम्बोधन गरे। 

आइतबार नेकपा एमालेको पनि बुटवल ११ मै चुनावी सभा हुँदै छ।

सुरुमा एमालेले देवीनगरको एन्फा एकेडेमीनजिक खुला मैदानमा चुनावी सभा गर्ने तयारी गरेको थियो। मञ्च पनि बनाउँदै थियो ।  तर पछि ठाउं परिवर्तन गरि शनिबार पाँच दलीय गठबन्धनले गरेकै ठाउँमा आइतबार एमालेले चुनावी सभा गर्न लागेको हो। सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेललगायतले सम्बोधन गर्ने कार्यक्रम छ। 

ठाउँको सहजताले मात्र होइन, ठूलो वडा र बाक्लो सुकुम्बासी बस्तीका कारण पनि गठबन्धन र एमालेले चुनावी सभा गर्न बुटवल ११ नै रोजेका हुन्। यो वडामा १६ हजारजति मतदाता छन्। उपमहानगरका अन्य वडामा मतदाता संख्या यहाँको भन्दा धेरै कम छ। 

बुटवल ११ मा ठूलो मात्रामा सुकुम्बासी बस्ती छ। हरेक चुनावमा सुकुम्बासी समस्या बुटवलको मुख्य एजेन्डा बन्ने गरेको छ।​

उम्मेदवारहरुले स्थानीयलाई लालपुर्जा दिने आश्वासन दिएर भोट माग्ने गरेका छन्। तर उनीहरुको हातमा लालपुर्जा भने कहिले पर्ने हो, टुंगो छैन। बुटवलमा चुनावको जितहारमा सुकुम्बासीको मत निर्णायक हुन्छ भनिन्छ। लालपुर्जा वितरणको मुद्दा जसले जोडतोडले उठाउँछ, सुकुम्बासी र अव्यवस्थित बसोबासीको मत उतै ढल्किने गरेको छ।

त्यसैले चुनावको मुखमा दल र नेताहरुको ध्यान बुटवल ११ मा रहेको सुकुम्बासी क्षेत्रतिर केन्द्रित छ। खुला सभामा भाषण र घरदैलोमा समेत समस्या समाधान गर्ने प्रतिबद्धता जनाइरहेका छन्। यसबाहेक उनीहरुले सुकुम्बासीलाई भोज खुवाएर, रकम बाँडेर समेत आफूतिर मत तान्न खोजेको चर्चा हुने गर्छ। 

यो पटकको चुनावमा एमाले र कांग्रेससहितका गठबन्धनले सुकुम्बासीहरुलाई आआफ्नै तरिकाले फकाइरहेका छन्। एमालेले लालपुर्जा दिन नसकेको दोष कांग्रेसलाई लगाउने गरेको छ। 

आफूहरुले लालपुर्जा वितरणका लागि जग्गा नापजाँचसहित प्रक्रिया सुरु गरे पनि कांग्रेस नेतृत्वको सरकार आएर आयोग खारेज भएपछि अलपत्र भएको एमालेको आरोप छ। 

यता कांग्रेसले एमालेले ५ वर्ष उपमहानगर र साढे ३ वर्ष देश चलाउँदा पनि सुकुम्बासी समस्या समाधान गर्न नसकेको टिप्पणी गर्ने गरेको छ। कांग्रेसका नेताले आफ्नो पार्टीले जितेमा लालपुर्जाको समस्या सदाका लागि हल गर्ने दाबी गर्ने गरेका छन्। 

यसअघि दलहरुले चुनावी अभियान पनि बुटवल ११ बाटै सुरु गरेका थिए। कांग्रेस र एमाले दुवै दलले पहिलोपटक यही वडाको देवीनगर चौपारीनजिक चुनावी प्रचार कार्यालय खोेले। अरु वडामा अलि पछि मात्र प्रचार कार्यालय खोलियो। 

अहिले बुटवल ११ मा वडाध्यक्ष पदमा एमालेबाट रामचन्द्र क्षेत्री दोहोरिने प्रयासमा छन् भने कांग्रेसबाट जितबहादुर मल्ल उम्मेदवार बनेका छन्। ठूलो भूगोल र बढी जनसंख्या भएको वडा भएकाले बुटवल ११ मा जसले चुनाव जित्छ, उसको खटाइ र व्यस्तता अरु वडाध्यक्षको भन्दा बढी हुने गर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .