ad ad

राजनीति


सल्यानमा माओवादी–एकीकृत समाजवादी तालमेल, कांग्रेस एक्लै

सल्यानमा माओवादी–एकीकृत समाजवादी तालमेल, कांग्रेस एक्लै

फाइल तस्बिर


मीना खड्का
बैशाख १४, २०७९ बुधबार १७:४३, काठमाडौँ

सल्यानमा सत्ता ‘गठबन्धन’ भत्किएको छ। कांग्रेससँग भागबन्डामा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्र  एकीकृत समाजवादीले मात्रै तालमेल गरेका हुन्।

यहाँ नेपाली कांग्रेस एक्लै चुनावमा जाने तयारीमा छ। 

उम्मेदवारी दर्ताका क्रममा नेकपा माओवादी केन्द्रले सल्यानका ३ पालिकामा एकल उम्मेदवारी दर्ता गरेको छ। 

दलहरुबीच प्रदेशमा गठबन्धनबारे छलफल चलिरहेका बेला माओवादीले गठबन्धन तोड्दै एकल उम्मेदवारी दर्ता गरेको थियो। माओवादीबाट दार्मा गाउँपालिका अध्यक्षमा निमबहादुर केसी, उपाध्यक्षमा जुना मल्लले उम्मेदवारी दर्ता गराएका थिए। 

बागचौर नगरपालिकामा माओवादी केन्द्रले कीर्तिबहादुर पुनलाई प्रमुख र सुम्निमा डिसीलाई उपप्रमुखमा उठाएको छ।

कुमाख गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्ष पदमा डिल्लीराज जैशी र उपाध्यक्षमा धनसरा मल्लले मनोनयन दर्ता गरेका थिए। 

बागचौर नगरपालिका, दार्मा र कुमाख गाउँपालिकामा सत्तारुढ दलहरुबीच तालमेलको टुंगो नलागेपछि माओवादी केन्द्रले एकल मनोनयन दर्ता गरेको हो। 

कांग्रेस अलग्गै हुँदा माओवादी र एकीकृत समाजवादीबीच केही पालिकामा तालमेल भएको छ। 

बनगाड कुपिण्डे नगरपालिका प्रमुखमा माओवादी केन्द्रबाट कर्णबहादुर बुढाथोकी र उपप्रमुखमा समाजवादीबाट जीवन बीसीको मनोनयन दर्ता भएको हो। 

यस्तै सिद्धकुमाखमा अध्यक्ष समाजवादीबाट चित्रबहादुर चलाउने, माओवादीबाट उपाध्यक्ष रामबहादुर बस्नेत, शारदा नगरपालिकामा माओवादीबाट प्रमुखमा प्रमोद श्रेष्ठ र उपप्रमुखमा

समाजवादीबाट रमेशकुमार गौतमको मनोनयन दर्ता भएको हो।

यस्तै, छत्रेश्‍वरीमा समाजवादीबाट अध्यक्षमा ओमकुमारी विक, उपाध्यक्ष माओवादीबाट गीताञ्जली भण्डारी, कपुरकोट गाउँपालिकामा समाजवादीबाट अध्यक्षमा दुर्गाबहादुर पुन र उपाध्यक्षमा

माओवादीबाट प्रकाश भण्डारीको मनोनयन दर्ता भएको हो।

यस्तै त्रिवेणी गाउँपालिकामा समाजवादीबाट अध्यक्षमा डिल्लीबहादुर केसी, उपाध्यक्ष माओवादीबाट राजेन्द्रकुमार थापाको मनोनयन दर्ता भएको हो। 

यस्तै, कालिमाटी गाउँपालिकामा पनि माओवादीबाट अध्यक्षमा पुरुषोत्तम भट्ट, र समाजवादीबाट उपाध्यक्षमा ज्ञानेन्द्र बहादुर केसीको मनोनयन दर्ता भएको थियो। 

सल्यानका १० पालिकामध्ये चार पालिका प्रमुख समाजवादीको भागमा परेको छ। माओवादीको भागमा ६ वटा परेका माओवादी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य टेकबहादुर बस्नेतले

बताएका छन्। 

उनले आफ्नो समाजिक सञ्जाल फेसबुकमा माओवादी र समाजवादी स्थानीय तह निर्वाचनका लागि भएको गठबन्धन भएको बताएका छन्। 

यसैबीच जिल्लाका सबै पालिकामा माओवादी र एकीकृत समाजवादीको तालमेल हुने उक्त पार्टीका कर्णाली प्रदेश संयोजक प्रकाश ज्वालाले बताएका छन्। जिल्लाभर नै माओवादी र एकीकृत समाजवादीको गठबन्धन हुने उनले बताए। उनका अनुसार बाँकी पालिकामा थप सल्लाह र छलफल गरेर बाँडफाँट गर्ने कुरा भएको छ। 

‘वडामा बाँडफाँट गर्नेगरी सल्लाह भइरहेको छ’ ,उनले भने, ‘उम्मेदवारी दर्ता भइसके पनि कुरा मिल्यो भने फिर्ता हुन्छ। जिल्लाभर गठबन्धन गर्नेगरी छलफल भइरहेको छ।’ 

कांग्रेस एक्लै 

प्रमुख सत्तारुढ कांग्रेस भने एक्लै चुनावमा जाने भएको छ। कांग्रेसले शारदा नगरपालिका प्रमुखमा प्रकाश भण्डारी, उपाध्यक्ष पदमा सुस्मिता सापकोटालाई उठाएको छ। बागचौर नगरपालिका

अध्यक्षमा जनकराज गौतम र दीपा बस्नेत केसीको उम्मेदवारी दर्ता भएको छ। 

बनगाड कुपिण्डे नगरपालिकाबाट अध्यक्षमा बसुन्धारा शाही, उपाध्यक्षमा पुरुषोत्तम आचार्य छन्।  

छत्रेश्‍वरी गाउँपालिकाबाट अध्यक्षमा केशवबहादुर विष्ट र उपाध्यक्षमा सीता गिरीको उम्मेदवारी दर्ता भएको छ। कपुरकोट गाउँपालिकाबाट अध्यक्षमा विष्णुप्रसाद शर्मा र उपाध्यक्षमा कोकी महताराको मनोनयन दर्ता भएको छ।

यस्तै सिद्धकुमाखमा अध्यक्षमा भरत गिरी र उपाध्यक्षमा पूर्णिमा चलाउनेको उम्मेदवारी दर्ता भएको छ। त्रिवेणी गाउँपालिकामा खिमबहादुर रावत अध्यक्षमा र सीता खड्का पुनको उपाध्यक्ष

पदमा उम्मेदवारी दर्ता भएको छ। 

दार्मा गाँउपालिका अध्यक्ष पदमा रामचन्द्र केसी र उपाध्यक्षमा उषा चन्दको उम्मेदवारी दर्ता भएको छ। 

कालिमाटी गाउँपालिका अध्यक्षमा भरत पुन र उपाध्यक्षमा काशीमाया राणाको मनोनयन दर्ता भएको छ। 

कुमाख गाउँपालिकाबाट मानबहादुर बुढाथोकी अध्यक्षमा उठेका छन्। उपाध्यक्षमा कसैको उम्मेदवारी नरहेको निर्वाचन कार्यालय सल्यानले जनाएको छ। 

केन्द्रीय कार्यसमितिले बनाएको मापदण्डको आधारमा दलहरूका आ–आफ्नै दाबी र अडानका कारण सहमति नजुटेपछि एक्ला एक्लै चुनावमा जाने निर्णय भएको कांग्रेस सल्यानका सभापति केशवबहादुर विष्टले बताए। 

‘नेपाली कांग्रेसलाई गठबन्धनमा राखिएको छैन’, विष्टले भने, ‘त्यसैले १० वटै पालिकामा हाम्रो पार्टीका तर्फबाट सेटमै उम्मेदवारी छ।’ 

गठबन्धनका तर्फबाट पालिकास्तरको बाँडफाँटमा सहमति नभएपछि स्वच्छ प्रतिस्पर्धासहित चुनावमा जाने योजना नेपाली कांग्रेसको छ। 

आइतबार बसेको बैठकले नै एक्ला एक्लै चुनावमा जाने निर्णय गरिसकेको उनले बताए। दलबीचमा सहमति नजुटेपछि कांग्रेसले एक्लै चुनाव लड्ने निर्णय गरेको उनले जानकारी दिए। 

‘गठबन्धन दलबीच सहमति कायम हुन सकेन,’ उनले भने, ‘त्यसैले पालिका तथा वडा बाँडफाँटसम्बन्धी जिल्लास्तरीय संयन्त्रले निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिष्पर्धा गर्ने निर्णय भयो।’

माओवादीले गठबन्धन गर्न नमानेको उनको तर्क छ। ‘आरोप त लगाउन मिल्दैन तर उहाँहरुको निर्णयका कारण सहमतिमा जान सकिएन,’ उनले भने, ‘उहाँहरुले पहिले नै उम्मेदवार घोषणा

गरिसकेका छौँ भन्नुभयो। सहमति नभएपछि मैत्रीपूर्ण रुपमा, गठबन्धन दलबीच आरोप प्रत्यारोप नगरेर चुनाव लड्ने निर्णय भयो ।’

कांग्रेसभित्रै मतभेद र विवाद भएकाले गठबन्धन गर्न नमानेको भन्ने नेपालखबरको प्रश्नमा विष्टले भने, ‘सामान्यतया मतभेद र विवाद सबै पार्टीमा हुन्छन्। त्यो भनिएको मात्रै हो, सत्य होइन। उहाँहरुले नै मिलेर जान चाहनुभएन।’

०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले सल्यानमा तीन प्रमुख, तीन उपप्रमुख र २३ वडामा जित हासिल गरेको थियो। यसपटक पनि एक्लै ५ पालिका जित्ने विष्ट बताउँछन्। 

‘पछिल्लो समय कांग्रेसमा युवाहरुको आकर्षण बढ्दो छ’, उनले भने, ‘यतिमात्रै होइन, जनप्रतिनिधिको कामबाट पनि जनता सन्तुष्ट छन्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .