धनुषाको विदेह नगरपालिकाको मेयर बन्न नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी)बाट राजीनामा दिएका गोबिन्द साहले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन्।
विदेह नगरपालिकाको मेयर बन्नकै लागि उनले प्रहरीको जागिर छाडेका थिए। साह नेपाल प्रहरीमा भएको भए २०७९ चैतसम्म जागिर खान पाउँथे।
यसअघि नै डीआईजीमा बढुवा हुने समेत संभावना थियो। उनको राजीनामा फागुन १० गते स्वीकृत भएको थियो। नगर कार्यसमितिबाट सिफारिसमा परे पनि प्रदेशले उनलाई टिकट दिएन।
पार्टीबाट योगेन्द्र यादवले मेयरको टिकट पाएका छन्। यो नगरपालिकामा २०७४ मा नेकपा माओवादी केन्द्रले जितेको थियो। यसपटक कांग्रेसको माहोल राम्रो भएको र आफूले जित्ने भएकाले स्थानीयको माग अनुसार नै राजीनामा दिएको साहले बताएका थिए।
तर सोमबार टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएको उनले नेपालखबरलाई बताए। ‘पार्टीले मलाई टिकट दिएन, तर म स्वतन्त्र भएपनि जित्छु। यहाँको माहोल मेरो पक्षमा छ। मलाई कांग्रेसको त भोट आउँछ नै अरुले पनि भोट हाल्छन्’, साहले भने।
यसअघि निर्वाचित माओवादी केन्द्रका उम्मेदवार एमालेमा प्रवेश गरेसँगै यहाँ कांग्रेस बलियो देखिएको छ। आन्तरिक द्वन्द्व र साहको स्वतन्त्र उम्मेदवारीले असर पर्ने देखिएको छ।
Shares

प्रतिक्रिया