राजनीति


बुटवलका उम्मेदवार बाबुरामः शंकर पोखरेलको गुटमा लागेर मेयरको टिकट पाए भनेर आएछ, कहाँ गएर झगडा गरम्?

बुटवलका उम्मेदवार बाबुरामः शंकर पोखरेलको गुटमा लागेर मेयरको टिकट पाए भनेर आएछ, कहाँ गएर झगडा गरम्?

बाबुराम भट्टराई


सुदीप भण्डारी
बैशाख १२, २०७९ सोमबार ११:२०, बुटवल

बाबुराम भट्टराई रुपन्देहीको बुटवल उपमहानगरमा एमालेबाट प्रमुख पदको उम्मेदवार बनेका छन्। थुप्रै आकांक्षीबीच उनी टिकट पाउन सफल भएका हुन्। यही विषयमा केन्द्रित रहेर नेपालखबरले गरेको संवाद :

थुप्रै जना आकांक्षीबीच एमालेबाट बुटवल उपमहानगरको प्रमुखको उम्मेदवार बन्न कसरी सफल हुनुभयो? 
म एउटा पार्टीको इमान्दार कार्यकर्ता हो। मेरो क्षमता र पहिलेदेखि पार्टीमा काम गरेको हिसाबले साथीहरूले तपाई उठ्नुपर्छ भनेर आग्रह गर्नुभयो। यो भन्दा पहिले (२०७४) को चुनावमा पनि मलाई उम्मेदवार बन्न प्रेरणा दिनुभएको थियो। त्यसबेला पनि म सहित ३ जनाको नाम सिफारिस भएको थियो। शिव सुवेदीले पाउनुभयो। यो पटक पनि मैले अपेक्षा राखेको थिएँ। पार्टीको केन्द्रीय बैठकले मलाई उम्मेदवारको रूपमा चयन गर्यो। 

अघिल्लो चुनावमा टिकट पाउनुभएन, अहिले कसरी पाउनुभयो? 

मान्छे अयोग्य त कोही पनि हुँदैन। सेलेक्सन भएर तीन जनाको नाम गएको थियो। सिट एउटै भएकाले एउटैले पाउन पर्यो। अघिल्लोपटक शिव सुवेदीले पाउनुभयो। योपटक मलाई दिनुभयो। अर्कोपटक अर्कोले पाउनुहोला। 

विष्णु पौडेलको निर्वाचन क्षेत्रमा उहाँ निकटकाले टिकट नपाएर तपाईंले टिकट पाउनुभयो भनिएको छ, तपाईं शंकर पोखरेल निकट हो? 
यी सबै वाहियात कुरा हुन्। मिडियामा राम्रै कुरा गरेको थिएँ। पछि प्रकाशित भएर आउँदा शंकर पोखरेलको गुटमा लागेर विष्णु पौडेललाई छाडेर टिकट पाए भनेर आएछ। अब कहाँ गएर झगडा गरम्। न यहाँ शंकर पोखरेलको गुट छ न विष्णु पौडेलको। बाहिर हल्ला बढी चलाइदिएर त्यसै गुट बनाइएको छ। 

विष्णु पौडेल यहाँको विकासप्रेमी नेता हो। अर्थमन्त्री भएर त्यतिका काम गर्नुभयो। शंकर पोखरेल मुख्यमन्त्री हुनुभयो। उहाँहरूलाई जोडेर पार्टीभित्र गुट स्थापना गर्न सकिन्छ कि भनेर एउटा तत्व लागिरहेको छ। मान्छेहरू कान नछामेर कागको पछि पछि दौडेको अवस्था छ। 

मेयरको टिकट पाउन केन्द्रीय नेताहरूकहाँ कत्तिको धाउनुभयो? 
मलाई केही गर्नुपरेन। नेताहरू कसैलाई म भेट्न पनि गइनँ। मेरो चाहना छ भनेर जाहेर गरेँ। बुटवलका साथीहरूले नगरबाट सिफारिस गर्नुभयो। नगरबाट जिल्लामा गयो। जिल्लाबाट प्रदेश हुँदै केन्द्रमा गयो। 

केन्द्रमा सिफारिस गएपछि तपाईं बुटवलमा बस्नुभएको छ, काठमाडौँ जानुस्, नगईकन हुँदैन भनेर कतिपयले भन्थे। त्यस्तो केही गर्न पर्दैन योग्यताको कदर हुन्छ भन्ने सोच्थेँ। कतिपयलाई म उठ्दिनँ भने पनि पार्टीले त उठ भनेको अवस्था छ। जो उठ्दा जित्छ, जसले राम्रोसँग काम गर्छ, पार्टीले उसैलाई टिकट दिने हो। कतै दुईवटा उस्तै उस्तै आकांक्षी भएको ठाउँमा एउटा फाल्नैपर्छ। 

वर्तमान मेयरको कार्यकाल राम्रो भएन, केही गर्नु सक्नुभएन भनेर आलोचना भइरहेको छ, त्यसकारण पनि तपाईंले टिकट पाउनुभयो भनेर भनिन्छ नि? 
त्यस्तो आलोचना गर्नुपर्ने उहाँले केही गर्नुभएको छैन। विकास निर्माणका काम यहाँ प्रशस्त भएका छन्। ऐतिहासिक जितगढीको स्वरुप अर्कै भएको छ, ढुवानीग्रामदेखि लिएर थुप्रै पूर्वाधार बनेका छन्। उपमहानगरको त्यत्रो भवन बन्यो। उहाँ आउँदा धेरै वडा कार्यालय थिएनन्। अब ४– ५ वटा मात्र भवन बन्न बाँकी छ। उहाँहरूले कानुन पनि सबै बनाइसक्नुभएको छ। अरु नगरपालिकाभन्दा धेरै काम गर्नुभएको छ। वर्तमान मेयरले जुन पूर्वाधारका काम सुरु गर्नुभएको छ। हामी आयौं भने त्यसलाई अगाडि बढाउनुपर्ने छ। 

सुकुम्बासी बुटवलको मुख्य समस्या बनेको छ, यसबाहेक तपाईंले देखेका मुख्य समस्या के हुन्?  
तीन तहको सरकार छ। सबै काम स्थानीयले गर्न सक्दैन। स्थानीय तहलाई संविधान र कानुनले दिएको काम गर्ने हो। अहिले भइरहेका शिक्षा, स्वास्थ्य, पर्यटनदेखि लिएर कृषिलगायतका काममा हामीले निरन्तरता दिनैपर्छ। जुन काम अघि बढिरहेको छ। बुटवललाई एउटा सुन्दर नगर, एउटा स्मार्ट सिटीका रूपमा अघि बढाउनुपर्नेछ। यहाँको सेमलार मोतिपुर क्षेत्रका लागि एउटा सेटेलाइट मार्केटका रूपमा विकास गर्नुपर्ने छ। त्यसबाहेक घोषणापत्रमा लेखेका कुरा थुप्रै छन्। त्यसलाई ५ वर्षमा पूरा गर्नु छ। 

तपाईं उम्मेदवार बन्दा बुटवलको मुख्य सडक अस्तव्यस्त छ, विजयी हुनुभयो भने तपाईंको प्रयास के हुन्छ? 
त्यसमा हाम्रो भूमिका भनेको बढी भन्दा बढी दबाब दिने हो। चाँडो सडक तयार गर्न हामीले बुटवलबासीलाई अनुरोध गर्छौं। दबाब दिएर यो काम छिटो नगरी नहुने स्थितिमा पुर्याउँछौं। हामीले गर्न मिल्ने कुनै काम छ भने हामी त्यो गर्न बाँकी राख्दैनौं।

यो संघीय बजेटको सडक हो। अरु केही नपाएर एमालेको आलोचना गर्न यसैलाई देखाइएको छ। हिजो अदालतमा मुद्दा भएका कारण समयमा हुन सकेन। अदालतले फुक्का गरेपछि नेकपा एमालेको सरकार पनि ढल्यो। अहिले कांग्रेस नेतृत्वको गठबन्धनको सरकार आएको छ। ७–८ महिना भइसक्यो, उहाँहरूले काम गरेर देखाउन सक्नुभएको छैन। त्यो बाटो देखाएर भोट बढाउन सकिन्छ कि भनेर च्याखे थाप्नुभएको छ। हामीले सडक चाँडो सक्न दबाब दिनैपर्छ।

तपाईं विजयी हुनुभयो भने ५ वर्षमा बुटवल कस्तो बन्ला? 
बुटवलमा औद्योगिक क्षेत्र पनि बन्ला, त्यहाँ हजारौं कर्मचारीले काम गर्लान्, भोलि उनीहरूलाई बस्ने व्यवस्थित बहुतले भवन आवश्यक पर्छ। फेरि त्यहाँ काम गर्ने मान्छे बाहिर गएर जग्गा हडप्दा सुकुम्बासीको अर्को समस्या आउन सक्छ। बुटवलका कतिपय सामुदायीक विद्यालयहरूको स्तरमा विकास भएको छ। थप सुधार गरेर बुटवललाई शैक्षिक केन्द्रका रूपमा बनाउन सक्छौं। लुम्बिनी प्रादेशिक अस्पताल बन्दै छ। एमालेको पालामा टेन्डर भएको हो। अहिले वर्तमान प्रदेश सरकारबाट अनियमितता भएको बाहिर आएको छ। सही तरिकाले टेन्डर गरेर भवन बन्छ। तिनाउमा सिग्नेचर पुल, बाटोघाटो लगायतका योजना छन्। म विजयी भए ती योजनालाई तीव्रता दिएर ५ वर्षमा नमुना बुटवल बनाउँछु। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .