ad ad

राजनीति


गठबन्धनको निर्णयले वीरगन्ज र जनकपुर कांग्रेस निराश, निर्णय नसच्याए कठाेर कदम

गठबन्धनको निर्णयले वीरगन्ज र जनकपुर कांग्रेस निराश, निर्णय नसच्याए कठाेर कदम

शैलेन्द्र महतो
बैशाख ७, २०७९ बुधबार २०:३७, जनकपुरधाम

आगामी वैशाख ३० गते हुने निर्वाचनको लागि पाँच दलीय गठबन्धनले मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगर र औद्योगिक सहर वीरगन्ज महानगरको प्रमुख जसपालाई दिने निर्णय गरेसँगै कांग्रेसमा निराशा छाएको छ। 

यो निर्णयलाई कदापी नस्वीकार्ने र निर्णय सच्याउनु पर्ने कांग्रेस नेता कार्यकर्ताले माग गरेका छन्। निर्णय नसच्याए कठोर कदम चाल्ने चेतावनी समेत नेता कार्यकर्ताले दिएका छन्।

कांग्रेस जनकपुरका नगर अध्यक्ष मनोज साहले यो निर्णय कदापी स्वीकार नगर्ने बताए। कांग्रेसबाट मेयर पदका प्रवल दावेदार साह मधेशमा कांग्रेसलाई कमजोर गर्न पार्टीले यस्तो निर्णय गरेको भन्दै विरोध जनाए। 

‘जनकपुरमा जसपालाई नगरप्रमुख दिने निर्णय हामी कदापी मान्दैनौँ। यो निर्णय नेतृत्वले सच्याउनु पर्छ। सच्याइएन भने हामी कठोर कदम चाल्न बाध्य हुन्छौँ’ उनले नेपालखबरसँग भने।  

गत २०७४ को निर्वाचनमा मनोज साह राजपा नेपालका उम्मेदवार लालकिशोर साहसँग पराजित भएका थिए। 

राजपाबाट मेयर लालकिशोर साहले २१ हजार ९०३ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मनोजकुमार साहले ११ हजार १६४ मत ल्याएका थिए। 

अहिले मेयर लालकिशोर साह जसपामा छन्। उनैलाई जसपाले फेरि मेयर पदको उम्मेदवार बनाउने तयारीमा छ। 

तर मेयर लालकिशोर साहको कार्यकाल असफल रहेको र विकास भन्दा अनियमिततामा बढी सक्रिय रहेको भन्दै जनकपुरबासी नै असन्तुष्ट छन्। 

पाँचदलीय गठबन्धनले जनकपुरधाममा मेयर जसपालाई दिने निर्णयले विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा एमाले र स्वतन्त्र उम्मेदवार पूर्व निर्माण व्यवसायी बलराम महतोको नेताकार्यकर्तामा उत्साह छाएको छ। अधिकांश कांग्रेसी नेताकार्यकर्ता जसपाका उम्मेदवारलाई मत दिने मनस्थितिमा देखिँदैनन्। 

२०७४ को निर्वाचनको मत परिणामको आधारमा काँग्रेस जनकपुरमा लोसपापछिको दोश्रो बलियो पार्टी हो। तेस्रोमा एमाले र चौथो स्थानमा जसपा देखिन्छन्। 

कांग्रेस भित्रको असन्तुष्टिले कांग्रेसको भोट जसपालाई पराजित गर्ने विरुद्धमा जाने सम्भावना प्रवल देखिन्छ। यसले गठबन्धनको कारण लोसपा, एमाले र स्वतन्त्र उम्मेदवार बलराम महतोलाई फाइदा पुग्ने चर्चा चुलिएको छ। 

राजपाका युवा नेता प्रसान्त झाले उत्साहित हुँदै सामाजिक सञ्जालमा लेखेका छन्,  ‘पाँचदलीय गठबन्धनले जनकपुरधाम उपमहानगरपालिकामा लोसपा नेपाल अर्थात साइकल छाप झन् बलियो। जय जनकपुर।’

यता वीरगञ्जका पनि कांग्रेस नेता कार्यकर्ता निराश भएका छन्। वीरगञ्ज महानगरका मेयरका आकांक्षी कांग्रेसका युवा नेता कञ्चन झाले असन्तुष्टि पोखेका छन्। 

‘अप्राकृतिक गठबन्धन हुँदा कांग्रेसका कार्यकर्ता हतोत्साहित हुने र संगठन उठ्नै नसक्नेगरी क्षतविक्षत हुने निश्चित झैँ छ। कांग्रेसप्रति आस्थावान कार्यकर्ताहरूको भविष्य अन्य दलका नेताहरूको कठपुतली बन्ने सम्भावना ज्यादा छ।’ 

उनले समाजिक सञ्जालमा लेखेका छन्,  ‘माथिबाट हेर्दा त लोकतन्त्र र संविधान जस्ता ठूलठूला कुरा देखिएला तर सतहमा भने गठबन्धनले यिनैलाई (संविधान र लोकतन्त्रलाई) ध्वस्त पार्न सक्छ। ठाडो र तेर्सो हेराइमा भिन्नता त जरूर हुन्छ।

उनले गठबन्धनको नाउँमा अहिले वीरगञ्ज महानगरको नेतृत्व अरू दललाई दिँदा कालान्तरमा पर्सा जिल्ला नै कांग्रेसबाट मुक्त हुन पुग्ने बाटो खन्ने चेतावनी समेत दिएका छन्। 

लोसपाका युवा नेता ओमप्रकाश सर्राफले गठबन्धनको निर्णयप्रति खुसी व्यक्त गरेका छन्। समाजिक सञ्जालमा उनले गठबन्धनको कारण लोसपा बलियो भएको र लोसपाले वीरगन्जबासीलाई उत्तम विकल्प दिने उल्लेख गरेका छन्।

आक्रोशित कार्यकर्ताले टायर बालेर गरे प्रदर्शन
यसैबीच गठबन्धन विरुद्ध जनकपुरधाममा नेपाली कांग्रेसका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन्। जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्व जनता समाजवादी पार्टी (जसपा) नेपाललाई दिने निर्णयको विरोधमा कांग्रेसका कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन गरेका हुन्। 

पार्टीलाई समाप्त गर्न सभापति शेरबहादुर देउवाले यस्तो निर्णय गरेको भन्दै टायर बालेर प्रदर्शन गरिएको उनीहरुले बताए।

तयस क्रममा उनीहरुले नेपाली कांग्रेस जिन्दावाद, शेरबहादुर देउवा मुर्दावाद, मधेशको दलालसँग गठबन्धन गर्न पाइँदैनलगायतका नारा लगाएका थिए। 

एकलै चुनाव लड्न सक्ने सामर्थ्य कांग्रेससँग रहेपनि जसपालाई दिनु दुखद रहेको भन्दै कांग्रेस जनकपुरधामका नगर कोषाध्यक्ष वीरेन्द्र यादवले आक्रोश पोखे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .