ad ad

राजनीति


कमल थापाले फेरि किन गरे एमालेसँग ‘हार्ने गठबन्धन’?

कमल थापाले फेरि किन गरे एमालेसँग ‘हार्ने गठबन्धन’?

सीताराम बराल
बैशाख ३, २०७९ शनिबार ८:४२, काठमाडौँ

पुरानो वर्षको अन्तिम दिन एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आगामी स्थानीय तह निर्वाचनमा तालमेलबारे सहमति भयो। यस सम्बन्धी जानकारीका लागि दुवै दलका नेताबीच त्यसैदिन ६ बुँदे संयुक्त सहमति पत्रमा हस्ताक्षर भयो र सहमतिपत्र त्यसैदिन सार्वजनिक पनि भयो।

दुई दलबीच सहमति भएको मिति थियो– ३० चैत २०७८। तर, दुई दलबीच भएको सहमतिपत्रमा उल्लेखित मिति भने सहमति भएको दिन भन्दा ठ्याक्कै एक वर्ष पछिको थियो। अर्थात् सहमति पत्रमा ‘३० चैत्र २०७८’ मिति उल्लेख हुनुपर्नेमा ‘३० चैत्र २०७९’ उल्लेख गरिएको थियो।  

भर्खर पुनर्जीवित दल भएकाले आगामी स्थानीय तह निर्वाचनमा केही स्थानीय तहमा आफ्नो दलको उपस्थितिका लागि थापाले एमालेसँग तालमेलको सहमति गरेका होलान्। तर, यति महत्वपूर्ण सहमतिको दस्तावेजमा मिति उल्लेखमा भएको ‘चुक’ का कारण त्यो सहमति नै खिसीट्युरीको विषय बन्न पुगेको छ।

थापा मितिमा मात्र होइन, २०६३ यता ‘नीति’ मा समेत पटक–पटक चुकिरहेका छन्। उनको यही ‘चुक’ को परिणाम हो– आगामी निर्वाचनमा एमालेको चुनाव चिन्ह ‘सूर्य’ लिनुपर्ने बाध्यता। 

सूर्य चिन्ह लिएर थापा निकट कुनै नेता–कार्यकर्ता स्थानीय तहमा निर्वाचित भए भने सायदै तिनीहरु ‘राप्रपा नेपाल’ मा फर्किएलान्!

दरबारको भक्ति, निर्मल निवासबाट लात्ती 
चुनावी तालमेल सम्बन्धी सहमतिपत्र सार्वजनिक गर्नु अघिल्लो दिन थापाले हिमालय होटल (कुपण्डोल) मा एक अन्तरक्रिया आयोजना गरेका थिए। कार्यक्रममा उनले आफू राजा र राजसंस्थाप्रति अझै आस्थावान रहेपनि ‘अन्य विविध कारण’, वर्तमान राजनीतिक परिवेश र अहिलेको आवश्यकता अनुसार राजतन्त्र पुनःस्थापनाको एजेण्डा परित्याग गरेको स्पष्टिकरण दिए।

कार्यक्रममा उनले उल्लेख गरेको ‘अन्य विविध कारण’ को अन्तर्य राप्रपाको गत महाधिवेशनमा अध्यक्षमा उनलाई हराउन निर्मल निवासबाट पूर्वराजा ज्ञानेन्द्रले हस्तक्षेप गरे भन्ने हो। त्यसयता थापाले पूर्वराजा शाह राजनीतिक अस्थिरतामार्फत राजतन्त्र पुनःस्थापना गर्न खोजिरहेका र राप्रपा महाधिवेशनमा निर्मल निवासबाट भएको हस्तक्षेप त्यसकै एउटा रुप भएको आरोप पनि लगाउँदै आएका छन्। 

राजनीति–प्रजातन्त्रमा दरबारबाट पटक–पटक भएका हस्तक्षेपका कारण राजनीतिक दलहरु गणतन्त्रको पक्षमा उभिएका हुन्। त्यसैले, राजतन्त्र अन्त्यको मुख्य कर्ता १० वर्ष जनयुद्ध सञ्चालन गरेको माओवादी र संसदवादी राजनीतिक दलहरु भएपनि झण्डै २ सय ५० वर्ष लामो शाह कालिन राजतन्त्र अन्त्यको परिस्थिति सिर्जना भने दरबार आफैले गरेको हो। 

आफ्नो राजनीतिक उत्थानमा राजसंस्थाको हात रहेको कुरा उनले लुकाएका छैनन्। त्यति धेरै निकटताका आधारमा दरबारले आफ्नो स्वार्थका लागि राजनीतिक व्यक्तिहरुलाई कसरी प्रयोग गर्छ र आफ्नो स्वार्थसिद्ध नहुने भएपछि दूधबाट झिँगा फालेझैँ फालिदिन्छ भन्ने कुराको जानकारी उनलाई भएकै हुनुपर्ने हो। 

तर, साँच्चिकै उनले राजतन्त्रको चरित्र बुझेनन् वा बुझ पचाएका हुन्– २०६३ को राजनीतिक परिवर्तनपछि थापाले निरन्तर राजतन्त्र पुनःस्थापनाको वकालत गरिरहे। त्यति नजिक रहेर दरबारलाई बुझेका उनले स्वार्थ पुरा भएन भने दरबारले दूधबाट झिँगा फ्याँकैझैँ आफूलाई पनि फ्याँकिदिन्छ भन्ने कुराको हेक्का कहिल्यै राख्न सकेनन्।

राप्रपाको पछिल्लो महाधिवेशनमा थापा पराजित भएपछि मात्र उनको चेत खुल्यो। उनले राजतन्त्रको चरित्र राम्रोसँग बुझ्ने मौका पाए।

गणतन्त्रमा राजतन्त्र पुनःस्थापनाको राजनीति स्थापित गर्ने ‘क्रेडिट’ थापालाई नै जान्छ। यही कारण ‘पन्ध्र वर्ष आफैले राजतन्त्र बोकेर गल्ती गरिएछ’ भनेर सार्वजनिक रुपमा स्वीकार गर्न थापालाई नैतिक रुपले पनि कठिन छ। 

तर, ‘राजतन्त्र पुनःस्थापनाको एजेण्डा बोकेर राजनीतिक रुपमा निकै ठूलो गल्ती गरिएछ’ भन्ने निष्कर्षमा भने उनी पुगिसकेका छन्। विगत १५ वर्षमा उनले लिएको नीति उनी आफैंका लागि अफापसिद्ध हुन पुगेको छ। 

कसैलाई नजोगाउने थापाको काँध
‘नेपालको संविधान–२०७२’ ले प्रत्यक्ष निर्वाचित र समानुपातिक दुई खालका गरी मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको छ। यस्तो निर्वाचन प्रणालीमा सफलता प्राप्त गर्न राजनीतिक दलहरुले अनुकूलको गठबन्धन निर्माण गर्नैपर्छ। २०६४ यताका तीन आम निर्वाचनको पाठ नै यही हो। तर, निर्वाचनमा सफलताका लागि आवश्यक पर्ने गठबन्धन निर्माण र चयनमा पनि थापा निरन्तर चुकिरहेका छन्। 

आम निर्वाचन–२०७४ मा एमालेले तेस्रो ठूलो शक्ति माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो। एमाले अध्यक्ष केपी शर्मा ओली थापा नेतृत्वको राप्रपा नेपाललाई पनि गठबन्धनमा सामेल गर्न इच्छुक थिए। यसका लागि ओली–थापाबीच पटक–पटक वार्तापनि भएको हो। 

तर, थापाले राप्रपा नेपाल वाम गठबन्धनमा सामेल गराउन चाहेनन्। बरु, थापाले राप्रपा नेपाललाई कांग्रेस नेतृत्वको ‘लोकतान्त्रिक गठबन्धन’ मा सामेल गराए। काँग्रेससँगको गठबन्धनका बाबजुद थापा मकवानपुरबाट पराजित भए। झापामा ‘वाम गठबन्धन’ सँग तालमेल गरेका राप्रपा नेपालका तत्कालिन महामन्त्री राजेन्द्र लिङ्देनमात्र विजयी भए। 

२०७४ को निर्वाचनमा गठबन्धन चयनमा भएकै गल्ती थापाले फेरिपनि दोहोर्याउँदै छन्। 

आगामी निर्वाचनका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) बीच गठबन्धन हुने सहमति भइसकेको छ। गत आम निर्वाचनको मत परिणामलाई आधार मान्दा आगामी निर्वाचनमा यही वाम–लोकतान्त्रिक गठबन्धनले ठूलो सफलता हासिल गर्ने स्थिति देखिन्छ।   

तर, ‘एन्टी करेन्ट’ स्वभावका कारण होला, २०७४ मा जस्तै यसपटक पनि थापाले ‘हार्ने गठबन्धन’ को पक्षमा आफूलाई उभ्याएका छन्। ३० चैत्र (२०७८) मा एमालेसँग सहकार्य गर्ने लिखितम नै गरिसकेका छन्।  

राजनीतिक विश्लेषकहरुबीच कमल थापाका बारेमा यस्तो ठट्टा हुने गर्छ– ‘३० वर्षे पञ्चायतको अन्तिम बेला कमल थापा मन्त्री बने, पञ्चायत गयो। २०४८ पछि पटक–पटक मन्त्री बने, त्यो बहुदल पनि गयो। शाही शासनकालमा राजा ज्ञानेन्द्रले उनलाई गृहमन्त्री बनाए, ज्ञानेन्द्रको शासन र राजतन्त्रपनि गयो। थापा जुन व्यवस्थामा मन्त्री बने, त्यो व्यवस्थाकै सर्वनाश भयो।’

हेरौँ, थापासँगको तालमेलबाट एमालेले लाभ प्राप्त गर्छ वा उसको हविगतपनि थापा मन्त्री बनेका पञ्चायत, बहुदल वा राजतन्त्रकै जस्तो हुन्छ!
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .