भीडभाड र प्रदूषणले निसासिँदै गइरहेको पोखराको एउटा शान्त कटेजभित्र क्यानभासमा कूची चलाइरहेका साहसिक कार्टुनिस्ट वात्स्यायन (दुर्गा बराल) को सम्मुख मंगलबार बिहानै हामी उनको ५० वर्ष लामो सिर्जनशील यात्रा वृत्तान्त श्रवण गरिरहेका थियौं।
वैचारिक रुपले प्रष्ट अडानसहित जति निडरताका साथ वात्स्यायन बाणीले हामीलाई मन्त्रमुग्ध बनाइरहेको थियो, त्यति नै बढी रोमाञ्चित पनि तुल्याइरहेको थियो।
उमेरले गएको ५ चैतबाट ८० वर्षमा उक्लिएका वात्स्यायनको प्रदीप्त व्यक्तित्व जतिजति इतिहासभित्र प्रविष्ट गर्दै थियो, त्यति त्यति उनको आक्रोशको प्यारा मिटर माथि उक्लिँदै थियो। प्रायः पोखरामै बस्ने उनी अहिलेको काठमाडौँको राजकाजबाट निकै असन्तुष्ट देखिन्थे।
मानव समाजमा घट्ने हरेक घटनाका क्रिया–प्रतिक्रियाभित्र ‘राजनीति’ नै कारक तत्व हुने दार्शनिक बुझाई हामीलाई सुनाइरहेका वात्स्यायनले आफ्नो भनाइलाई बल दिन इतिहासको एउटा चर्चित घटना स्मरण गरे।
भिडिओः विशाल कार्की
पुस्तकालयबाट आफ्नो कार्टुन संग्रहको पुस्तक निकालेर तत्कालिन राजा ज्ञानेन्द्रको ‘सैन्य कू’ को विरोधमा बनाइएको कार्टुनचित्र देखाउँदै उनले भने, ‘यो कार्टुन यति विवादित भयो कि लुई चौधौं (१६औँ शताब्दीका फ्रान्सका राजा) लाई झैं मलाई फाँसी दिन माग राख्दै लेख लेख्ने, लेखाउने काम भयो।’
राजतन्त्रको डर बढाउन र गणतन्त्रको बहसलाई तीब्र पार्न भूमिका खेलेको त्यो चर्चित कार्टुन–कथा उनै निडर कार्टुनिस्ट वात्स्यायनको मुखरविन्दुबाट सुनौं।
प्रतिक्रिया