ad ad

राजनीति


‘डालोबाट मानोमा खन्याउँदा पोखिन्छ’ भन्दै पोखराका कांग्रेस नेता काठमाडौंमा

एकीकृत समाजवादीलाई मेयर नदिने अडान
‘डालोबाट मानोमा खन्याउँदा पोखिन्छ’ भन्दै पोखराका कांग्रेस नेता काठमाडौंमा

फाइल तस्बिर


वाशुदेव मिश्र
चैत २९, २०७८ मंगलबार १७:४५, पाेखरा

गएको माघ अन्तिम साता कास्कीमा गठबन्धन दलको बैठक बस्यो।

नेपाली कांग्रेसको चिप्लेढुंगास्थित पार्टी कार्यालयमा बसेको बैठकपछि पृष्ठभूमिमा कांग्रेसको चारतारे झण्डा राखेर सभापति किशोरदत्त बराल, माओवादी कास्की अध्यक्ष बखानसिंह गुरुङ, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा कास्की अध्यक्ष धनराज आचार्य, जनता समाजवादी कास्की अध्यक्ष गिरिप्रसाद गुरुङ र राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष रविमोहन ढकालले हँसिलो मुद्रामा तस्वीर खिचाए।

नेताहरुले गर्वका साथ त्यो तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरे र गठबन्धन झन् मजबुद भएको सन्देश प्रवाह गरे। सो बैठकले गठबन्धनले गरेका कामहरुको समीक्षाका साथै भावी रणनीति तयार र स्थानीय तहमा भएका कामको अनुगमन गर्ने सहमति बनेको थियो।

सोही बैठकमा माओवादीको तर्फबाट संघीय चुनावसम्मै गठबन्धनको विषय उठाइयो। तर, त्यो विषयले सार्थकता पाएन। त्यसपछि पनि गठबन्धनका कयौं बैठक भएका छन्। 

गठबन्धनको बैठक अहिले जिल्लाबाट उक्लेर प्रदेशस्तरीय बनेको छ। गठबन्धन मजबुद बनाउने र मिलेर चुनावमा जाने एजेण्डामा पनि उनीहरु सहमत छन्। एउटै घोषणापत्र बनाउने तयारी पनि छ। तर, नेतृत्व कसको भन्नेमा भने उनीहरु एक हुन सकेका छैनन्। 

‘हामीले हाम्रो पार्टीको घोषणापत्र तयार गरिसकेका छौँ तर गठबन्धनबाटै साझा उम्मेदवार हुने निश्चित हुँदा साझा घोषणापत्र आउने भएकाले सार्वजनिक गरिएको छैन’, एकीकृत समाजवादीका कास्की अध्यक्ष धनराज आचार्यले भने, ‘पोखरा महानगरपालिकाको मेयर को भन्ने निर्णय केन्द्रबाट गरिने  भएकाले हाम्रो बैठकमा यो विषयमा चर्चा मात्रै भएको छ।’ 

उनको भनाइले प्रष्ट पार्छ, गठबन्धनको तर्फबाट एकीकृत समाजवादीले पोखराको मेयर ताकेको छ। धनराज स्वयम् मेयरका आकांक्षी हुन्। विद्यार्थी राजनीतिबाट उदाएका तथा केपी ओलीको गढ मानिने कास्कीमा माधवकुमार नेपालले गर्व गर्न लायक संगठन बनाएकाले पनि उनी नेतृत्वको आँखामा छन्।

एकीकृत समाजवादीले महानगर बाँडफाँटमा काठमाडौं या पोखराको मेयर मागेको छ। महानगर बाँड्ने निर्णय हुँदा कांग्रेसले काठमाडौं नछाड्ने र पोखरा नेकपा एसलाई दिनसक्ने सम्भावना बढेर गएको छ। किनकी, पोखरामा एमाले सबैभन्दा बलियो पार्टी हो।

गएको चुनावमा एमालेका मेयर मानबहादुर जिसीले कांग्रेसका प्रत्यासी रामजी बराललाई १३ हजार ७०२ को भारी मतान्तरले पराजित गरेका थिए। 

कुल मतदाता १ लाख ६८ हजार ६८ कुल मतदाता रहेकोमा सो निर्वाचनमा १ लाख २५ हजार ८५३ अर्थात् ७४.८३ प्रतिशत मत खसेको थियो। जसमध्ये मेयरका प्रत्यासी मानबहादुरले ६० हजार ११८, नेपाली कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत प्राप्त गरेका थिए। उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले १२ हजार ३१० मतले कांग्रेसकी सरस्वती गुरुङलाई पछि पारेकी थिइन्। 

२०७८ सालको जनगणना अनुसार पोखरामा ३९ हजार ६३८ जना मतदाता बढेका छन्। हाल पोखराको कुल मतदाताको संख्या २ लाख ७ हजार ७०६ पुगेको छ।

स्रोतका अनुसार नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा यही मतान्तरका कारण पोखरामा जितिन्छ भन्नेमा विश्वस्त छैनन्। भेट्न जानेहरूसँग उनले पोखरामा ‘हार्छाैं’ भन्दै पठाउने गरेका छन्। एकातिर गठबन्धन कसिलो हुँदै जानु र अर्कोतर्फ पोखराको मेयर नपाउने सम्भावना बढेपछि कांग्रेसीहरु उकुसमुकुस भएका छन्। 

देशमै पहिलो पटक गठबन्धनलाई कसिलो बनाउने जिल्लागत निर्णय गरेका उनीहरु आजकल भन्न थालेका छन्, ‘गठबन्धन गर्ने हो तर त्यसको नेतृत्व कांग्रेसको हुनुपर्छ, अर्थात् मेयर हामीले पाउनुपर्छ ।’

र, यो मत जाहेर गर्नेमध्ये एक नम्बरमा कास्की कांग्रेसका सभापति किशोरदत्त बराल पनि देखिएका छन्। उनले गठबन्धनका पछिल्ला बैठकमा नेपाली कांग्रेसलाई मेयर र अन्य दललाई उपमेयर र वडाहरू बाँडफाँट गरेर गठबन्धन अगाडि बढ्नुपर्ने अडान राख्दै आएका छन्।

कांग्रेसका एक नेताका अनुसार गठबन्धनको बैठकमा कुन पार्टीका कति क्रियाशील सदस्य, कति शुभेच्छुक, वडागत अवस्था, स्वतन्त्र मतदातासम्मको विश्लेषण गरिएको छ।

गठबन्धनका दलहरूको भोटको अवस्था हेर्दा अरु पार्टी बलियो अवस्थामा नभएकाले कांग्रेसकै मेयर आवश्यक भएको अडान लिइएको उनले जिकिर गरे।

तर, गठबन्धनका नेताहरुले स्थानीय यथार्थता नबुझेर केन्द्रीय निर्णय मान्नुपर्ने अडान लिएको उनले स्वीकारे। स्थानीय वस्तुस्थिति मनन नगरी अन्य दलहरु केन्द्रको निर्णयको रटानमा रहेपछि कास्कीका कांग्रेसी नेताहरु सशंकित बने। गठबन्धनको नेतृत्व कांग्रेसकै हुनुपर्ने सन्देश दिन उनीहरु काठमाडौं नै जान तयार भए।

चितवनलगायतका जिल्लाहरूले पनि सभापति शेरबहादुर देउवा र अन्य पदाधिकारीलाई दवाव दिने अभियान चलाइरहेको बेला कास्की कांग्रेसका सभापति किशोरदत्त बराल र नगर सभापति सुरेन्द्रमान बिजुक्छेको नेतृत्वमा  जिल्ला समिति तथा नगर समितिका पदाधिकारी र सदस्यहरु मंगलबार काठमाडौं हिँडेका छन्।

नगर सभापति सुरेन्द्रमान बिजुक्छेका अनुसार टोलीमा करिब ४० जना रहेका छन्। बुधबार बिहान कास्कीको प्रतिनिधिमण्डलले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासहितका पदाधिकारीलाई भेटेर वस्तुस्थितिबारे जानकारी गराइने उनले जानकारी दिए। 

कास्की कांग्रेस स्रोतका अनुसार आफ्नो पार्टीको तर्फबाट मेयर नपाउने अवस्थामा विद्रोहको तयारीसमेत भएको छ। बागी उम्मेदवारी रोक्नको लागि पनि कांग्रेस कास्कीले आफ्नै नेतृत्वमा गठबन्धनको अडान लिइरहेको छ।

सभापति किशोरदत्त बरालले पनि पोखराको मेयर अर्को पार्टीलाई दिने हल्लापछि यथार्थ जानकारी गराउन पार्टी सभापति र पदाधिकारीलाई भेट्न लागिएको जानकारी दिए। उनले बलियो जनाधार भएको कांग्रेसलाई मेयर नदिइए सबै पद हार्ने सम्भावना रहेकाले पनि कांग्रेसले नै मेयर पाउनुपर्ने जिकिर गरे। 

‘मानोबाट डालामा खन्याउने हो, डालोबाट मानोमा खन्याउँदा पोखिन्छ’, कांग्रेस इतरबाट मेयरको उम्मेदवार तय भएमा आउने परिणामबारे व्याख्या गर्दै उनले भने, ‘हामीले कसले के पद पायो नभनौं, को उम्मेदवार बने गठबन्धनका सबैले जित्ने वातावरण बन्छ भन्ने कुरा गठबन्धनका साथीहरुलाई पनि सुनाएका छौँ, हाम्रा सभापति र पदाधिकारीलाई पनि सुनाउँछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .