ad ad

राजनीति


राजपालाई सरकारमा ल्याउने बालुवाटार प्रयास निष्प्रभावी

राजपालाई सरकारमा ल्याउने बालुवाटार प्रयास निष्प्रभावी

सागर न्यौपाने
मंसिर ६, २०७६ शुक्रबार १३:५७,

संविधान संशोधनको प्रक्रिया अघि नबढेसम्म केपी शर्मा ओली नेतृत्वको सरकारमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सहभागी हुने संभावना नरहेको राजपा नेताहरुले दाबी गरेका छन्।

राजपालाई सरकारमा ल्याउने गरी प्रधानमन्त्री ओलीले बुधबार मन्त्रिमण्डल पुनगर्ठन गर्दा समाजवादी पार्टीको मन्त्रालय नै हेरफेर गरिदिएको कदमले राजपा नेताहरुलाई झस्काएको छ। उनीहरुले संविधान संशोधन गर्नुपर्ने आफ्नो मुख्य मागमा कुनै परिवर्तन नभएको हुँदा सरकारमा तत्काल जाने कुनै संभावना नरहेको बताए।

मन्त्रिमण्डल फेरबदलअघि सूचना तथा प्रविधि मन्त्री गोकुल बास्कोटा र प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राजपालाई सरकारमा आउन प्रधानमन्त्रीका तर्फबाट प्रस्ताव पु-याएका थिए। त्यसबेला राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर थिए। तर, त्यसबेला पनि सरकारमा सहभागी हुन राजपाले स्वीकार गरिसकेको थिएन। उसले आफ्ना नेता/कार्यकर्तामाथिको झुठा मुद्दा फिर्ता, संविधान संशोधन र सांसद रेशम चौधरीलाई तत्काल रिहाई गर्न पहल गर्नुपर्ने माग दोहो-याएको थियो।

अहिले राजपाको अध्यक्ष मण्डलको संयोजक राजेन्द्र महतो छन्। उनले पनि राजपा तत्काल सरकारमा सहभागी हुने संभावना नरहेको स्पष्ट पारेका छन्। शुक्रबार जनकपुरमा पत्रकारसँग कुरा गर्दै महतोले आफ्नो पार्टीले उठाउँदै आएको माग सम्बोधन नभई सरकारमा सहभागी हुने कुनै संभावना नरहेको बताए। राजपाका अन्य नेताहरु पनि सरकारमा सहभागी हुने संभावना नकार्छन्।

महासचिव केशव झाले समाजवादी पार्टीसँग एकताका लागि वार्ता जारी रहेको हुँदा सरकारमा सहभागी हुने संभावना नरहेको बताए। उनले नेपालखबरसँग भने, ‘हामीले समाजवादीलाई एकताको लागि सरकार छाड्न आग्रह गरेका छौं, त्यही सरकारमा हामी सहभागी हुने कुरै आउँदैन।’

शुक्रबार जनकपुरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष मण्डलका संयोजक महतोले पनि समाजवादी सरकारमै रहेकाले एकताको कुनै संभावना नहरेको बताएका थिए। त्यसैलाई पुष्टि गर्ने गरी महासचिव झाले पनि समाजवादी पार्टी सरकारबाट बाहिरिन ढिलाई गरेका कारणले मात्रै उसँगको पार्टी एकता रोकिएको बताए।

‘हामीले एकतापछिको नेतृत्व, पार्टीको राजनीतिक, बैचारिक कार्यदिशा लगायतका विषय टुंगो लगाईसकेका छौं। उहाँहरु सरकारबाट नहटेकाले मात्र एकतामा ढिलाई भएको हो,’ उनले नेपालखबरसँग भने, ‘बटमलाईन नै सरकार छाड्नुपर्ने भएकाले हामी उहाँहरुको सत्ता बहिगर्मनको पर्खाइमा छौं, त्यसलगत्तै पार्टी एकता हुन्छ।’

समाजवादीले जति छिटो सरकार छोड्यो त्यति नै छिटो पार्टी एकता हुने अध्यक्ष मण्डलका संयोजक महतो निकट महासचिव झाले ठोकुवा गरे। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गरेको मन्त्रिमण्डल पुनर्गठनमा समाजवादीका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य मन्त्री रहेको मन्त्रालयका राज्यमन्त्री सुरेन्द्र यादवलाई हटाइयो भने समाजवादी पार्टीकै अर्का मन्त्री मोहम्मद इस्तियाक राइको मन्त्रालयमा नेकपाका रामबीर मानन्धरलाई राज्यमन्त्री बनाएको विषयलाई समाजवादी नेताहरुले गम्भिर रुपमा लिएको बताइएको छ।

उपेन्द्र यादव शुक्रबार बेलुका मात्र भारतबाट फर्कने कार्यक्रम रहेको हुँदा उनी आएपछि यी लगायतका विषयमा समाजवादीले गर्ने निर्णय कुरेर राजपा बसेको छ। राजपाका अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झाले मधेस आन्दोलनका विषयमा प्रष्टता नभई सरकारमा जानै नहुने आफ्नो अडान रहेको बताए। दश दिनदेखि आफू गाउँमा रहेको र सत्तापक्षका कसैले पनि सरकारमा आउन पार्टीलाई आग्रह गरेको आफूलाई जानकारी नभएको उनले बताए।

‘म दशदिनदेखि गाउँमै छु। अहिलेसम्म कुनै नेताले पनि सरकारमा जानका लागि आएको प्रस्ताव बारेमा केही बताएका छैनन्। अध्यक्षमण्डलको सदस्य भएकोले आफैले सोध्ने कुरा भएन,’ उनले भने, ‘तर बैठक भयो भने राख्न पर्ने ठाउँमा कुरा राख्छु, म सरकारमा जाने पक्षमा छैन।’

राजपाका अध्यक्ष मण्डलका संयोजक महतो, सदस्य अनिल कुमार झा र महासचिव झाको कुरालाई आधार मान्दा राजपा ओली नेतृत्वको सरकारमा तत्काल सहभागी हुने संभावना ज्यादै न्युन देखिन्छ।

प्रतिनिधिसभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ बाट कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई पराजित गरेर सांसद बनेका राजेन्द्र महतो र प्रधानमन्त्री ओलीबीच त्यसयता सम्बन्ध राम्रो रहेको राजपाकै नेताहरु बताउँछन्। त्यो पृष्ठभूमि, समाजवादी नेतासँगको पछिल्लो खटपट र केहि समययता ओलीका विश्वासपात्रहरुले राजपालाई सरकारमा आउन गरेको प्रस्तावलाई जोडेर राजपा सरकारमा आउन सक्ने आँकलन गरिएको थियो।

तर त्यसलाई स्वयं महतो र अन्य नेताहरुले अस्वीकार गरेका छन्। अझैपनि केहि नेताहरुले, संविधान संशोधनको प्रक्रिया अघि बढ्ने आधार बनेको भनी राजपा सरकारमा जाने संभावना पुरै नकार्न नसकिने दाबी गर्छन्। उपसभामुख दिने चर्चा यसैबीच राजपालाई सरकारमा ल्याउने र केही मन्त्रालयसँगै उपसभामुख दिनेगरी नेकपाभित्रै छलफल भएको आफूहरुले सूचना पाएको महासचिव झाले बताए।

‘नेकपाको संसद सचिवालयमा हामीलाई उपसभामुख दिन छलफल भएको सूचना हामीलाई आएको छ, हामी त्यसमा त सकारात्मक छौं।’ उनी थप्छन्, ‘तर, त्यसको अर्थ सरकारमै जानुपर्छ भन्ने होइन।’

राजपाले आफ्ना यिनै माग सम्बोधन नगरेको भन्दै ओली सरकारलाई दिएको समर्थन गतवर्ष फागुनमा फिर्ता लिएको थियो। त्यहि स्थितिमा कुनै तात्विक फरक नहुँदानहुँदै ओली सरकारमा जोडिने कुरा तर्कसंगत नहुने राजपा केहि नेताहरुले बताउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .