राजनीति


लुम्बिनीमा शिर्ष नेताको चुनावी दौडाहा : ओली कपिलवस्तु, प्रचण्ड रोल्पामा

लुम्बिनीमा शिर्ष नेताको चुनावी दौडाहा : ओली कपिलवस्तु, प्रचण्ड रोल्पामा

सुदीप भण्डारी
चैत १४, २०७८ सोमबार १५:१८, भैरहवा

स्थानीय तहको चुनाव आउन डेढ महिना बाँकी रहँदा लुम्बिनी प्रदेशमा पनि शिर्ष नेताहरुको दौडधूप बाक्लिएको छ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सोमबार कपिलवस्तु आएका छन् भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रोल्पा पुगेका छन्। 

कपिलवस्तुमा सांसद बृजेशकुमार गुप्ता र धर्मलाल प्रसाद श्रीवास्तवलाई पार्टी प्रवेश गराउन केपी ओली यहाँ आएका हुन्। केहीबेर अघि भैरहवा अवतरण भएर उनी कपिलबस्तु गएका छन्।

गुप्ता हृदयेश त्रिपाठी समूहमा रहेर सूर्य चिन्हबाट चुनाव जितेर कपिलवस्तु क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सदस्य हुन् भने श्रीवास्तव कपिलवस्तु २ ख का प्रदेश सांसद हुन्।

०७४ को चुनावअघि दुवै जना तराई मधेश लोकतान्त्रिक पार्टीमा थिए। 

गुप्ता र श्रीवास्तवको समूहलाई पार्टी प्रवेश गराएर साँझ ओली रुपन्देही फर्किने छन्। भोलि तिलोत्तमाको मणिग्राममा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको केन्द्रीय महाधिवेशनको उद्घाटन गर्ने छन्।

त्यस्तै शंकरनगर वनवाटिकामा भ्युटावरको उद्घाटन र लुम्बिनीमा पार्टी प्रवेशको कार्यक्रममा सहभागी हुने तालिका छ। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज रोल्पा पुगेका छन्। उनले त्यहाँको जनयुद्ध स्मृति टावरको उद्घाटन गरेका छन्।

टावरको उद्घाटनपछि लिवाङको टुँडिखेलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। 

चुनाव नजिकिएसँगै लुम्बिनीका जिल्लाहरुमा पनि शिर्ष नेताको दौडधूप चलिरहेको छ। केही दिनअघि कार्यकर्ता प्रशिक्षणको लागि प्रचण्ड रुपन्देही आएका थिए।

त्यस्तै, शनिवार एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल गुल्मी पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .