राजनीति


मधेश मुख्यमन्त्री कार्यालयबाट झण्डै तीन दर्जन योजनाका फाइल गायब

मधेश मुख्यमन्त्री कार्यालयबाट झण्डै तीन दर्जन योजनाका फाइल गायब

शैलेन्द्र महतो
चैत ११, २०७८ शुक्रबार १९:२३, काठमाडौँ

मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका झण्डै तीन दर्जन योजनाका फाइल हराएको खुलासा भएको छ। 

‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान’, ‘मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सम्झौता भएर काम सम्पन्न भइसकेका योजनाको फाइल हराएको खुलेको हो। 

मुख्यमन्त्री कार्यालयका एक पूर्वसचिवलाई निर्माण व्यवसायीहरुले मधेश भवन भित्रै घेरेपछि यस्तो रहस्य बाहिर आएको हो। दुई महिनाअघि मुख्यमन्त्री कार्यालयबाट सरुवा भएर सचिव यमप्रसाद भुसाल गइसकेका थिए। कुनै कामले दुई महिनापछि मधेश भवनमा आएका थिए। 

सचिव भुसाल आएको सुइँको पाएपछि बिहीबार बिहानै ९ बजेदेखि अपरान्ह ५ बजेसम्म मधेश भवन भित्रको पहिला उनी बस्ने क्वार्टरमा व्यवसायीहरुले घेरेका थिए। उनलाई ८ घण्टासम्म घेरेको व्यवसायी अरुण यादवले बताए। हराएको फाइल ल्याउनु पर्ने, भुक्तानी गराउनु पर्ने अडान लिएर व्यवसायीहरुले घेरेका थिए।

व्यवसायीले घेरा हाल्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनलाई सुरक्षा दिएको थियो। उनलाई सकुशल मधेश भवनबाट बाहिर निकालेको धनुषाका प्रहरी उपरीक्षक (एसपी) वसन्त रजौरेले बताए। 

सचिव भुसालले सोमबार फाइल कार्यालयलाई बुझाउने व्यवसायीसँग प्रतिबद्धता गरेपछि उनलाई निस्किन दिइएको व्यवसायी सुशील सिंहले जानकारी दिए।

२० प्रतिशत कमिसन नदिँदा फाइल लिएर भागेको आरोप 
सचिव भुसाल मुख्यमन्त्री कार्यालयमा छँदा त्यहाँ उनी बेटी पढाउ बेटी बचाउ, र स्वच्छता अभियान कार्यक्रमका मुख्य हर्ताकर्ता थिए। उनी कार्यालयमा हुँदा २० प्रतिशत पहिले कमिसन नदिएपछि भुक्तानी नगरेको र सरुवा भएपछि योजनाका फाइलहरू नै लिएर भागेको एसके मल्टी सप्लायर्सका सञ्चालक दशरथ साहले बताए। 

‘सचिव भुसाल सरुवा भएर जाँदा कार्यालयमा हामीले भुक्तानीको लगि बुझाएको फाइल नै नरहेको कर्मचारीहरुले बताउने गरेका छन्। हामी दुई महिनादेखि भौँतारिरहेका छौँ’ व्यवसायी साहले भने ‘२० प्रतिशत पहिला नै कमिसन दिनुपर्ने अडान राखेका थिए। हामीले पहिला भुक्तानी गर्न भन्यौँ। आलटाल गर्दागर्दै पछि सरुवा भएपछि फाइल नै लिएर भागे।’

बुधबार सचिव भुसाल जनकपुर आएको सुइँको पाएपछि उनलाई घेरा हालेको अर्का व्यवसायी सुशील सिंहले बताए।  

एसके मल्टी सप्लायर्सले प्रदेश प्रमुख कार्यालयमा फर्निचर, मर्मत, शौचालय निर्माणसहितको २५ लाखको काम गरेको बताएको छ। साहले आफ्नो एसके कन्ट्रक्सनबाट प्रदेश प्रमुख कार्यालयको पर्खाल निर्माण र रंगरोगनको ५ लाखको काम गरेको बताए। 

अर्को कम्पनी गौरी एण्ड उज्ज्वल कन्ट्रक्सनले विभिन्न नारा लेखिएको मुख्यमन्त्रीको तस्बिरसहितको होर्डिङ बोर्डको ३३ लाख रुपैयाँ भुक्तानी बाँकी रहेको सञ्चालक अरुण यादवको भनाइ छ।

सुरुमा कमिसन मागेको र सो नदिँदा आफ्नो पनि फाइल सचिव भुसालले गायब गरेको यादवको आरोप छ। उनले आफूहरु जस्तै विभिन्न कम्पनीका ३२ वटा फाइल गायब गरेको र सो फाइलहरु नभेटिँदा व्यवसायीहरु पीडित भएको उनले बताए। 

यता ८ घण्टासम्म घेराबन्दीमा परेका सचिव भुसालले आफूले कमिसन नदिँदा भुक्तानी नगरेको व्यवसायीको आरोप निराधार रहेको बताए। उनले आफूले फाइल घर नलगेको र कार्यालयमै हुनु पर्ने दावी गरे। 

‘आइतबार वा सोमबार उहाँहरुको भुक्तानी भइ हाल्छ। म सरुवा भइसके पनि भुक्तानीको लागि पहल गरिदिन्छु। उनीहरुलाई मलाई जान दिन भन्नुस्। सहयोग गरिदिनुस्’ उनले बिलौना गर्दै भनेका थिए। 

यता मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव कृष्ण बहादुर राउतले फाइल गायब भएको विषयमा आफूलाई केही थाहा नभएको बताए। 

‘म एउटा कार्यक्रममा थिएँ। सचिव भुसाललाई घेराबन्दी गरेको विषयमा मलाई जानकारी छैन। फाइल हराएको विषयमा पनि थाहा भएन’ उनले भने। 

सचिव भुसाल मुख्यमन्त्री कार्यालयमा छँदा नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्र अन्तर्गत साइकल खरिद सम्बन्धी फाइल र मुख्यमन्त्री स्वच्छता सम्बन्धी केही फाइल लगेको थियो।

स्वच्छता अभियानको विषयमा पनि अख्तियारले पटक पटक फाइल पठाउन मुख्यमन्त्री कार्यालयलाई पत्राचार गर्ने गरेको छ। स्वच्छता अभियानको धेरै फाइल पूर्वकर्मचारी इन्जिनियर भगवान झाले आफ्नो घरमा राखेको र केही फाइल सचिव भुसालले लुकाएको व्यापक चर्चा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .