ad ad

राजनीति


जनकपुरधामको मेयर बन्न दलभित्रै हानथाप, यी हुन् आकांक्षी

जनकपुरधामको मेयर बन्न दलभित्रै हानथाप, यी हुन् आकांक्षी

शैलेन्द्र महतो
चैत ८, २०७८ मंगलबार १७:०, काठमाडौँ

आगामी स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा मधेशमा चुनावी सरगर्मी बढेको छ। पालिकाहरुमा हरेक दलबाट उम्मेदवारको चर्चा सुरु भएको छ। नेताहरुले आ–आफ्ना दलमा टिकटका लागि लबिङसमेत थालि सकेका छन्।

अघिल्लो स्थानीय तहको निर्वाचनमा पालिकाको अधिकार, बजेट, कार्यक्षेत्र लगायतका विषयमा नेता–कार्यकर्ता तथा सर्वसाधारणलाई खासै जानकारी थिएन। तर गत पाँच वर्षको अवधिमा जनप्रतिनिधिको अधिकार, बजेट र कार्यक्षेत्रबारे थाहा पाएपछि विगतमा चुनाव नलड्ने निश्चय गरेकाले पनि नेतृत्वका लागि आकांक्षा प्रकट गरिरहेका छन्। 

आकांक्षीहरूले आ–आफ्ना पार्टीमा टिकटका लागि हानथाप गरिरहेका छन्। आबद्धता रहेकै पार्टीबाट टिकट नपाउने देखेपछि दल परिवर्तन गर्ने होडसमेत सुरु भइसकेको छ। दलहरुले पनि आन्तरिक रुपमा वडाध्यक्षदेखि पालिका प्रमुख/उपप्रमुखलाई टिकट वितरणका लागि छलफल थालेका छन्।  

मधेश प्रदेशमा एक महानगरपालिका र ३ उपमहागरपालिका छन्। जसमा जनकपुरधाम उपमहानगरपालिका मधेश प्रदेशको राजधानी पर्दछ।

२०७४ को निर्वाचनमा यस उपमहानगरपालिकामा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)ले मेयर र उपमेयरमा जित निकालेको थियो।

महन्थ ठाकुर नेतृत्वको राजपा र उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबीच एकता भएर जसपा बनेको थियो। पछि विभाजन हुँदा राजेन्द्र महतोको कित्ता छाडेर उपमहानगरपालिकाका मेयर लालकिशोर साह उपेन्द्र यादव नेतृत्वकै जसपा रोजे। उपमेयर रीता कुमारी झाले भने ठाकुर–महतो नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजिन्। 

जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदको टिकटका लागि जसपा, लोसपा, नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका प्रमुख दलहरूका स्थानीयदेखि प्रदेशस्तरका नेताहरुले केन्द्रमा लविङ गरिरहेका छन्। ती प्रमुख दलहरुबाट मेयरका लागि दर्जनौं आकांक्षी छन्।

जनकपुरधाममा कांग्रेस, लोसपा र जसपा बलिय छन्। हुन त अघिल्लो मत परिणाम अनुसार जसपा सबैभन्दा शक्तिशाली दल थियो। तर विभाजित भएपछि उसको शक्ति घटेको छ।

यद्यपी जनमतको हिसाबले दुवै दल प्रतिस्पर्धी हुन्। जसपाको विभाजनले कांग्रेस बलियो अवस्थामा छ। त्यस पश्चात मात्रै क्रमशः एमाले, माओवादी, एकीकृत समाजवादीको आधारआधा देखिन्छ। 

जसपाबाट लालकिशोर र विष्णुदेवको चर्चा   
वर्तमान मेयर लालकिशोर साह फेरि चुनाव लड्ने मनस्थितिमा छन्। जसपाबाटै उनले पुनः मेयर पदको उम्मेदवार बन्ने चर्चा छ। गत चुनावमा उपेन्द्र यादव नेतृत्वको फोरमबाट मेयरका प्रत्यासी र हालका जसपाका जनकपुरधाम नगर अध्यक्ष विष्णुदेव साह पनि आगामी स्थानीय चुनावका लागि मेयरको आकांक्षी हुन्।

तर मेयर लालकिशोरलाई पुनः सोही पदमा टिकट दिने आश्वासन दिएपछि उनले जसपा रोजेको बताइन्छ। उनको दाबेदारीले विष्णुदेव मौन देखिन्छन्। तर मेयरको उम्मेदवारको लागि आफ्नो दावी स्वभाविक रहेको उनको भनाइ छ। 

‘म विगतमा पनि मेयर पदको उम्मेदवार थिएँ। मेयर लालकिशोर साह हाम्रो दलमै बसेपछि उहाँलाई हरहमेसा सहयोग गर्नु नगर अध्यक्षको हिसाबले मेरो कर्तव्य हो। तर यसपटक मेयर पदको उम्मेदवारका लागि जसपाबाट मेरो नाम पहिलो नम्बरमा छ’ उनले भने ‘तर पार्टीले जसलाई टिकट दिन्छ म स्वीकार गरेर उसैलाई सहयोग गर्छु।’

कांग्रेसबाट फेरि मनोज र वजरंग साहको दाबेदारी
अघिल्लो स्थानीय तहको चुनावमा कांग्रेसका प्रत्यासी मनोज साह लालकिशोरका निकटतम प्रतिद्वन्द्वी थिए। उनी यसपाली फेरि मेयर पदका दावेदार हुन्। साह कांग्रेसमा नेता विमलेन्द्र निधि निकट मानिन्छन्।

त्यसैगरि जनकपुरधामकै पूर्वमेयर बजरंग प्रसाद साहको नाम पनि मेयरका लागि चर्चामा छ। बजरंग प्रसाद साह शेखर कोइराला निकट हुन्। 

धनुषामा पार्टीभित्र निधिको बर्चस्व छ। हालै सम्पन्न कांग्रेस धनुषाको जिल्ला अधिवेशनमा निधि समूहले शेखर कोइराला पक्षसँग मिलेर संस्थापन पक्षका उम्मदेवारहरुलाई पराजित गर्दै जिल्ला सभापतिसहित कार्यसमितिमा बर्चस्व कायम गरेको छ। यसले निधिले चाहेकै नेता पुनः मेयर पदका लागि टिकट पाउने प्रबल सम्भावना छ।

यी दुवैजना कांग्रेसबाट जनकपुरधामका लागि सम्भावित उम्मेदवार रहेको पार्टीका नेताहरु बताउँछन्। यी दुईजना बाहेक पनि कांग्रेसभित्र मेयरको टिकटका लागि आकांक्षी छन्। तरुण दल जनकपुरका नगर अध्यक्ष युवा नेता राकेश विक्रम साह पनि मेयर पदका दावेदार देखिन्छन्।

उनी अब युवाले अवसर पाउनु पर्ने बताउँछन्। २०७४ को स्थानीय तहको निर्वाचनमा उनी स्वतन्त्रबाट उपमेयर पदमा उम्मेदवार थिए। उनले दुई हजारभन्दा बढी मत ल्याएका थिए। 

लोसपाबाट यी हुन् दाबेदार
लोसपाबाट मेयरको टिकटका लागि चारजनाको नाम बढी चर्चामा छ। धनुषा निर्वाचन क्षेत्र नं. ३ ख जनकपुर क्षेत्रबाटै तत्कालिन राजपाबाट चुनाव जितेका प्रदेशसभा सदस्य परमेश्वर साह सुडी, जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिता झा, लोसपाको जनकपुरधाम नगर अध्यक्ष मनोज चौधरी र वडा नं. ७ का अध्यक्ष जानकीराम साह मेयर उम्मेदवारका आकांक्षी छन्।

लोसपा संसदीय दलका प्रमुख सचेतक समेत रहेका प्रदेश सांसद साहले आफूलाई मेयरमा चुनाव लड्न पार्टीभित्र नेता कार्यकर्ताको दवाव रहेको बताए। पार्टीले निर्णय गरेपछि मात्र प्रदेश सांसद पदबाट राजीनामा दिएर चुनाव लड्ने उनको भनाइ छ। 

एमालेबाट हिरा साहको चर्चा 
नेकपा एमालेबाट मेयरको टिकटका लागि नेता शिव शंकर साह हिरा चर्चामा छन्। उनी जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुन्। अहिले उनी उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष छन्। 

हिरा भन्छन्, ‘यदि पार्टीले मलाई अवसर दिए जनकपुरधामको नेतृत्व सम्हाल्नका लागि इच्छुक छु।’ 

हिराका अतिरिक्त एमालेबाट उमेश चौधरी समेत मेयर पदका लागि आकांक्षी देखिएका छन्। 

माओवादी, समाजवादी र जनमतका उम्मेदवारको छैन चर्चा
माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमत पार्टीबाट हालसम्म कुनै पनि उम्मेदवारको चर्चा राजनीतिक वृत्तमा देखिँदैन। यद्यपी यी दलभित्र पनि आकांक्षीहरु रहेको ती दलका नेताहरुको भनाइ छ।

तर जनकपुरधाममा पछिल्लो चुनावलाई आधार मान्दा यी दलहरुको जनाधार कमजोर रहेकाले पनि बलिया उम्मेदवारको खोजीमा यी दलहरु रहेका छन्। 

माओवादी केन्द्र धनुषाका सचिव दीपक यादवले पार्टी भित्र आकांक्षीहरु रहेका तर पार्टीमा छलफल गरेर मात्रै तिनीहरुको नाम सार्वजनिक गरिने बताए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .