ad ad

राजनीति


राजपालाई सरकारमा ल्याउन बालुवाटारको प्रयास

राजपालाई सरकारमा ल्याउन बालुवाटारको प्रयास

सागर न्यौपाने
मंसिर ३, २०७६ मंगलबार १३:५७,

प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई सरकारमा सहभागी गराउन पहल थालेका छन्।

तर, ओली नेतृत्वको यहि सरकारलाई समर्थन गरेर आफ्ना मागप्रति वेवास्ता गरेको भनी समर्थन फिर्ता लिइसकेको राजपाका अध्यक्षमन्डलका सबै नेताहरु प्रधानमन्त्रीको प्रस्तावप्रति आश्वस्त हुन नसक्दा त्यसबारे निर्णय हुनसकेको छैन।

स्रोतका अनुसार प्रधानमन्त्रीबाट कुनै विश्वासिलो आधारसहित प्रतिबद्धता आउँछ भने सरकारमा गएर आफ्ना माग पुरा गर्न लाग्नुपर्ने एउटा पक्षको धारणा बुझेपछि सरकारतर्फबाट प्रयास थालिएको हो।
ओली नेतृत्वको सरकारले आफ्ना प्रमुख मुद्दा नै सम्बोधन नगरेको, हत्या आरोपमा अदालतको फैसलापछि जेलमा रहेका राजपा सांसद रेशम चौधरीलाई छुटाउन सहयोग नगरेकोप्रति असन्तुष्टि जनाउँदै राजपाले २०७५ फागुन २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

नौ महिनापछि राजपालाई सरकारमा सामेल गराउनेगरी प्रधानमन्त्रीले आफ्ना विश्वासपात्रहरु प्रमुख सल्लाहकार विष्णु रिमाल र सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटामार्फत आग्रह गरेको स्रोतले जनाएको छ।

नेपालखबरसँग कुरा गर्दै स्रोतले भन्यो, ‘राजपाका नेताहरुसँग अनौपचारिक वार्ता र पटक पटक टेलिफोन सम्पर्क गरिरहनुभएको छ, उहाँहरुको जोड सरकारमा आउनुपर्छ भन्ने छ।’

यसअघि सरकारमा रहेकै बेला संविधान संशोधन र राजपाका नेताहरुमाथि लगाइएको मुद्दा फिर्ता लिन प्रधानमन्त्री तत्पर नभएपछि राजपाले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

डेढ महिनाअघि पनि प्रधानमन्त्री ओलीले सरकारमा सहभागी हुन आग्रह गरेपनि त्यतिबेला राजपाले अस्वीकार गरेको स्रोतले बतायो।

केहि दिनयता समाजवादी पार्टीका मन्त्रीसँग असन्तुष्ट प्रधानमन्त्री ओलीले राजपालाई सरकारमा सहभागी गराउने रणनीति पुर्नजीवित गरेको स्रोतको दाबी छ।

संसदमा १७ सिट रहेको समाजवादी र १६ सिट रहेको राजपाबीच पार्टी एकता गर्ने वार्ता भइरहेकै बेला राजपालाई सरकारमा सहभागी गराउने प्रयत्न भएको हो।

मंसिर १४ गते हुने उपनिर्वाचनमा प्रदेश २ मा चुनावी तालमेल गरिसकेका दुई पार्टीबीच एकता प्रक्रिया अगाडी बढाउन समाजवादी पार्टी सरकारबाट बाहिरिनुपर्ने अडान राजपाले नै लिएको थियो। समाजवादी पार्टीले सरकार छाड्न आनाकानी गरेका कारण एकता प्रक्रिया अघि बढ्न नसकेको राजपाका केहि नेताहरुले बताउँदै आएका छन्।

तर, समाजवादीसँग एकताको कुरा चलिरहेकै बेला प्रधानमन्त्रीले राजपालाई नै सरकारमा ल्याउन प्रयास थालेका छन्। यसअघि विभिन्न दल तथा पक्षसँग नाटकीय सहमति गरेका प्रधानमन्त्रीले चालेको यो कदमलाई पनि रुचिपूर्वक हेरिएको छ।

नेपालखबरको सम्पर्कमा आएका राजपाका एक नेताले पनि प्रधानमन्त्रीका तर्फबाट सरकारमा आउन आग्रह गरेको स्वीकार गरे। उनले भने, ‘प्रधानमन्त्रीकै तर्फबाट सरकारमा आउन हाम्रा अध्यक्षमण्डलका नेताहरुसँग छलफल गरिरहनुभएको छ’, ती नेताले नेपालखबरसँग भने, ‘लगातार उहाँहरुले आग्रह गरेपनि हामीले हाम्रा माग सम्बोधन नभई सरकारमा सहभागी नहुने स्पष्ट भनेका छौं।’

सरकारले माग पूरा गरे राजपा पनि सरकारमा सहभागी हुन इच्छुक देखिएको छ। अहिले राजपाका मागहरुमध्ये आफ्ना नेताहरुमाथि लगाइएको मुद्दा फिर्ता, संविधान संशोधनको ग्यारेन्टी हुनुपर्नेछ।
राजपाका कैलाली–१ बाट निर्वाचित रेशम चौधरी टीकापुरमा ७ जना प्रहरी र एकजना नाबालकको हत्याकाण्डमा जिल्ला अदालत कैलालीको आदेशले अहिले सदरखोर डिल्लीबजार कारागारमा रहेका छन्।

राजपाले उनलाई राज्यले फसाएको भन्दै त्यही कारण सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

प्रधानमन्त्रीका तर्फबाट राजपाका नेताहरुसँग वार्ता गरिरहेका नेताहरुले सरकारमै रहेर ती मुद्दालाई अगाडी बढाउन आग्रह गरेको तर राजपा नेताहरु त्यसमा आश्वस्त नभएको
राजपाका एक महासचिवले नेपालखबरलाई जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .