राजनीति


विश्वविद्यालय नसार्न बाँकेबासीले गराए मुख्यमन्त्रीकाे ध्यानाकर्षण

विश्वविद्यालय नसार्न बाँकेबासीले गराए मुख्यमन्त्रीकाे ध्यानाकर्षण

सुदीप भण्डारी
चैत १, २०७८ मंगलबार २१:३८, काठमाडौँ

बाँकेमा स्थापना गर्ने भनिएको प्रदेश विश्वविद्यालय अन्यत्र नसार्न माग गर्दै जिल्लाबासीले मुख्यमन्त्री कुलप्रसाद केसीकाे ध्यानाकर्षण गराएका छन्।

लुम्बिनी प्रदेशसभाबाट पारित भएको नीति कार्यक्रममा प्रदेश विश्वविद्यालय बाँकेको खजुरामा स्थापना गर्ने उल्लेख भएको तर अहिले अहिले अन्यत्र सार्ने सुन्नमा आएको उनीहरुको गुनासो छ।

लुम्बिनीकी पूर्वमन्त्री तथा प्रदेश सांसद आरती पौडेल नेतृत्वको टोली ध्यानाकर्षण पत्र बुझाउन बुटवल आएको थियो।

ध्यानाकर्षण पत्र बुझाउन आए पनि मुख्यमन्त्री केसी आफ्नो कार्यालयमा भेटिएनन्। बुटवलमा नभेटेपछि कपिलवस्तु पुगेर उनीहरुले ध्यानाकर्षण पत्र बुझाएका छन्।

नीति कार्यक्रममा प्रदेश विश्वविद्यालय बाँकेमै बनाउने उल्लेख भएर ३ वर्ष बजेट विनियोजन पनि भएको तर अहिले दाङ, कपिलवस्तुतिर जग्गा खोजिएकाले आफूहरुले विरोध गरेको प्रदेश सभा सदस्य पौडेलले बताइन्।

‘अहिलेको मुख्यमन्त्र ज्यू पनि त्यो बेलाको क्याबिनेटमा हुनुहुन्थ्यो। त्यसबेला खजुरामा विश्वविद्यालय बनाउने भनेर बजेट नै विनियोजन भयो’ उनले भनिन्, ‘पहिलो वर्ष ३ करोड, दोस्रो वर्ष ७ करोड र गत वर्ष १० करोड विनियोजन भयो। सम्भाव्यता अध्ययन गरेर खजुरामै बनाउने निर्णय भयो। अहिले आएर जग्गा अन्त खोज्ने भन्ने कुराले हामीलाई तरंगित बनायो।’

केही दिनअघि प्रदेश योजना आयोगको समीक्षा बैठकमा दाङको बंगलाचुली गाउँपालिका अथवा कपिलवस्तुको बहादुरगञ्जतिर विश्वविद्यालयको लागि जग्गा खोज्ने बताइएको थियो।

त्यसपछि बाँकेबासी विश्वविद्यालय नसार्न माग गर्दै आन्दोलन गर्दै आएका छन्। कपिलवस्तुमा भएको भेटपछि मुख्यमन्त्री केसीले खजुराबाट विश्वविद्यालय नसार्ने बताएको प्रदेश सांसद पौडेलले बताइन्।

‘ठाउँ परिवर्तन गर्ने कुरा छैन। त्यतिका सय विघा जग्गा अन्त कहाँ पाइन्छ र भनेर मुख्यमन्त्रीले भन्नुभयो’ उनले भनिन्।

पौडेलसहित बाँके जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कक्षपति, शिक्षाविद कविन्द्र भट्टराई सहितको टोली मुख्यमन्त्रीलाई भेट्न आएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .