राजनीति


नेकपा सचिवालय बैठकका दुई एजेण्डा तय

नेकपा सचिवालय बैठकका दुई एजेण्डा तय

नेपालखबर
असार ७, २०७६ शनिबार ८:३६,

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ३ बजे बस्न लागेको सचिवालय बैठकमा यी दुई विषयमा छलफल हुन लागेको हो।

आजको बैठकमा खासगरी पार्टीका जिल्ला ईञ्चार्ज र सहईञ्चार्जहरुको मापदण्ड कसरी तय गर्ने भन्ने सम्बन्धमा नेताहरुबीच छलफल हुनेछ।

जिल्ला ईञ्चार्ज र सहईञ्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यहरुलाई दिन सबै नेता सहमत छन्, तर त्यसको मापदण्ड निर्धारणमा नेताहरुबीच मतैक्यता छैन।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली राज्यको कार्यकारी भूमिकामा रहेका जनप्रतिनिधिलाई पनि यो जिम्मेवारी दिनुपर्ने पक्षमा छन्।

तर, बरिष्ठ नेता माधव नेपालले भने जनप्रतिनिधि रहेका केन्द्रीय सदस्यलाई यस्तो भूमिका दिन नहुने कुरामा अड्डी लिइरहेका छन्।

पार्टीभित्रको शक्ति शक्ति सन्तुलनमा प्रभावी रहेका बरिष्ठ नेता नेपाललाई नजरअन्दाज गरेर जान सक्ने स्थितिमा प्रम ओली छैनन्।

२५ जेठमा युरोप भ्रमणका लागि प्रस्थान गर्नुपूर्व यो विषय टुङ्ग्याउने प्रयास गरिएपनि दुबै पक्ष आआफ्नो अडानमा रहेका कारण टुङिगन सकेको थिएन।

आफू युरोप भ्रमणबाट फर्केपछि यो विषय ‘प्याकेजमा सहमति गर्ने गरी’ ओलीले सचिवालय बैठक स्थगित गरेका थिए। तर, यसबीचमा सहमतिका प्रयास भएका छैनन्।

त्यसैले, केन्द्रीय सदस्यहरुलाई जिल्ला ईञ्चार्ज र सहईञ्चार्जहरुको जिम्मेवारी दिने सम्बन्धी निर्णय हुन आजपनि कठिन छ।

राजनीतिक प्रतिवेदन प्रकासन सम्बन्धमा भने अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले सचिवालय सदस्यहरुलाई जानकारी गराउनेछन्।

गत मंसिर (०७५) मा नै प्रतिवेदन टुङ्गिएर प्रकासन गर्ने निर्णय भएपनि ओलीको अनिच्छाका कारण प्रतिवेदन प्रकासित हुन सकेको थिएन।

तर, सरकार चौतर्फी प्रतिरक्षात्मक बनेपछि दबाबमा परेका ओलीले बुधबार अर्का अध्यक्ष प्रचण्डसँग भएको भेटमा ओली राजनीतिक प्रतिवेदन प्रकासन गर्न राजी भएका थिए।

‘त्यस सम्बन्धमा निर्णय गर्नुपर्ने नयाँ कुरा केही छैनन्’ एक सचिवालय सदस्यले नेपालखबरसँग भने, ‘उहाँहरुले आफूहरुबीच भएको सहमतिबारे जानकारी गराउनु हुनेछ।’

मंसिरमा राजनीतिक प्रतिवेदन टुङ्ग्याएपछि नेकपा सचिवालयले त्यसलाई प्रकासन गर्ने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको थियो।

‘जनताको जनवाद’ पार्टीको कार्यनीतिक कार्यक्रम बनाइएको सो प्रतिवेदनले तत्कालिन माओवादीद्वारा सञ्चालित लाई प्रचण्ड तत्कालन जनयुद्धलाई मान्यता दिएको छ।

जनयुद्धलाई मान्यता दिने कुरा उल्लेख हुनु नै अध्यक्ष एवं प्रम ओली सो राजनीतिक प्रतिवेदन प्रकासनका लागि अनिच्छुक देखिनुको मुख्य कारण थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad