राजनीति


बंगलादेशी राष्ट्रपतिले गर्दैछन् फेवातालमा नौकाबिहार, रुपाकोटबाट हिमाल अवलोकन

बंगलादेशी राष्ट्रपतिले गर्दैछन् फेवातालमा नौकाबिहार, रुपाकोटबाट हिमाल अवलोकन

दीपक खरेल
कात्तिक २७, २०७६ बुधबार ११:५९,

नेपालको चारदिने सद्भावना भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले बिहीबार पोखराको भ्रमण गर्दैछन्।

सरकारले हमिद र उनको परिवारका सदस्यका लागि पोखरासम्म पुग्न र फर्कन सैनिक हेलिकोप्टरलगायतको व्यवस्था गरेको छ। नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमा हमिद, उनकी श्रीमती, दुई छोरा र अंगरक्षक पोखरा जानेछन्।

उनीसँगै आएको भ्रमण दलका अरु सदस्यहरु भने नियमित उडानबाट पोखरा पुग्नेछन्। र, नियमित उडानबाटै फर्कने छन्।

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार हमिदलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका कार्यबाहक मुख्यमन्त्री किरण गुरुङसहित प्रदेश मन्त्रिपरिषद्का सदस्यले स्वागत गर्नेछन्। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ हाल  विदेश भ्रमणमा छन्। 

पोखरा विमानस्थलको औपचारिक स्वागत कार्यक्रमपछि राष्ट्रपति हमिदकाे भ्रमण टोलीले लेकसाइडमा पैदलयात्रा र फेवातालमा नौका बिहार गर्नेछ। फेवाताल र लेकसाइडको पर्यटन प्रबर्द्धनमा उनको भ्रमण फलदायी हुने विश्वास प्रदेश सरकारले लिएको छ।

राष्ट्रपति हमिदको फेवाताल नौकाबिहारलाई ‘एक्सक्लुसिभ पोट्रेट’ गरेर प्रचार गर्ने योजना प्रदेश सरकारको योजना छ। 

यसपछि रुपाकोट रिसाेर्टमा केही समय आराम तथा खानपिन गर्ने योजना तय गरिएको छ।

राष्ट्रपति हमिदको चाहनाअनुसार रुपाकोटबाट उनले हिमालको दृश्यावलोकन गर्नेछन्। यसका लागि गण्डकी प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ। उनको रुपाकोट र फेवाताल भ्रमणलाई प्रदेश सरकारले बंगलादेशका पर्यटक भित्र्याउने एक महत्वपूर्ण अवसरका रुपमा उपयोग गर्न चाहेको छ।

सेनाको कमान्डमा सुरक्षा व्यवस्था
राष्ट्रपति हमिदको पोखरा भ्रमणको सुरक्षाको कमान्ड नेपाली सेनाले गर्ने प्रजिअ केसीले नेपालखबरलाई बताए। उनका अनुसार मंगलबार जिल्ला सुरक्षा समितीको बैठकले हमिद भ्रमणका लागि सुरक्षा योजना पारित गरेको हो।

अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशिकाअनुसार हमिदको पोखरा भ्रमण अवधिभर सेनाले हवाई गस्ती गर्नुका साथै आवागमन हुने क्षेत्रमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिनेछन्।

कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले सुरक्षा योजना अनुसार आवश्यक सुरक्षाकर्मी परिचालन सहितको तयारी पूरा भएको नेपालखबरलाई बताए। उनका अनुसार हमिदको सुरक्षा चुनौती विश्लेषणका आधारमा सुरक्षा प्रबन्ध गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .