चीनले भन्योः हङकङका हिंस्रक प्रदर्शनकारीलाई गिरफ्तार गर, कडा सजाय देऊ

चीनले भन्योः हङकङका हिंस्रक प्रदर्शनकारीलाई गिरफ्तार गर, कडा सजाय देऊ

मगेन्द्र राई
कात्तिक २७, २०७६ बुधबार ११:४९,

हिंसाले चरम रुप लिएपछि चीनले हङकङ सरकारलाई आन्दोलनलाई मत्थर पार्न, अशान्ति अन्त्य गर्न भन्दै सबै शक्ति प्रयोग गर्न सुझाव दिएको छ।

एससीएमपीका अनुसार बेइजिङको सम्पर्क कार्यालयले हङकङका हिंस्रक प्रदर्शनकारीलाई अपराधीको संज्ञादिँदै उनीहरूलाई गिरफ्तार गर्न र कडा सजाय दिन हङकङ सरकारलाई सुझाव दिएको हो।

यसै हप्ताको सोमबार प्रहरीले प्रदर्शनकारीलाई गोली हाने। आन्दोलनकारीले सरकार समर्थकलाई जिउँदै जलाए। त्यसयता लगातार ३ दिनदेखि आन्दोलनकारी र प्रहरीबीच मुठभेड भइरहेको छ।

हङकङ यतिबेला रणभूमिमा परिणत भएको छ। हिंसा बढ्दै गएपछि बुधबार बेजिङको सम्पर्क कार्यालयले प्रदर्शनकारीलाई गिरफ्तार गरी कडा सजाय दिन हङकङ सरकारलाई सुझाव दिएको हो।

मंगलबार साँझ एक विज्ञप्ति निकाल्दै सम्पर्क कार्यालयले भनेको छ,‘सरकारले अशान्ति अन्त्य गर्न र यथासम्भव चाँडो शान्ति र अमनचयन बहाल गर्नका लागि आवश्यक सबै उपायहरु अपनाउनु पर्छ। हिंसा फैलाउने अपराधीहरुलाई पक्राउ गरी कडा सजाय दिनुपर्छ भन्ने विषयमा हामी दृढ समर्थन गर्दछौं।’

विज्ञप्तीमा भनिएको छ,‘हिंसा र आतंकवादका विभिन्न गतिविधिहरुलाई बलपूर्वक नियन्त्रण गर्न सबै आवश्यक शक्ति निर्णायक रुपमा अपनाउन समेत हामी आग्रह गर्दछौं।
चिनियाँ समाचार संस्था सिन्ह्वाले बुधबार एक टिप्पणीमार्फत हङकङले आत्म–सुधारात्मक उपायहरू लिन ढिला गरेको बताएको थियो।

हङकङमा ३ दिन यतादेखि जारी प्रदर्शन ६ महिनाकै सबैभन्दा हिंसात्मक प्रदर्शन भएको चित्रण गरिएको छ।

आन्दोलनकारीहरुले यातायात तोडफोड गरी चक्का जाम गरेका छन्, प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका छन्। उनीहरुले एमटीआर स्टेसनमा आगजनी गरिरहँदा प्रहरीले गोली चलाउँदै अश्रु ग्याँस प्रहार गर्दै व्यापक धरपकड गरिरहेको छ।

पछिल्लो घटनालाई बेइजिङले डरलाग्दो आतंकवादको नमूनाको रुपमा व्याख्या गरेको छ। बेइजिङले भनेको छ,‘आतंकवादको खाडल गहिरिँदै गएको छ। अशान्ति अन्त्य गर्न र शान्ति पुर्नस्थापना गर्न हङकङले कठोर नीति अपनाउन आवश्यक छ।’

हिंसाको घटनाक्रम

आन्दोलनका क्रममा घाइते भएका हङकङ विश्व विद्यालय विज्ञान तथा प्रविधि विभागका २२ वर्षीय विद्यार्थी एलेक्स चोउको उपचारका क्रमममा गत शुक्रबार मृत्यु भएपछि आक्रोशित अन्दोलनकारीहरूले ‘रगतको बदला रगत, ज्यानको बदला ज्यान’ लिने भन्दै सोमबार बिहानै सडकहरु अवरुद्ध गरेका थिए।

ट्राफिक प्रहरीहरुले सडक खुलाउने क्रममा झपड भएपछि प्रहरीले करिब ८ बजे तिर २१ बर्षीय आन्दोलनकारी युवामाथि गोली प्रहार गरेको थियो। त्यसपछि हिंसा झनै भड्कियो।

सोही दिन अपरान्ह १ बजे मा ओन सान मा सरकार समर्थक ५७ बर्षीय पुरुषलाई आन्दोलन समर्थकहरुले जिउँदै जलाईदिए। आन्दोलनकारीहरुले रेल स्टेसन तोडफोड गरे, रेल कम्पार्टमेन्टमा आगजनी गरे। आन्दोलन बिरोधीहरुलाई कुटपिट गरे। प्रहरीले हिंस्रक प्रदर्शन नियन्त्रणमा लिने प्रयास जारी राखेका छन्।

सोमबार साँझ नै हङकङकी कार्यकारी प्रमुख क्यारी लामले पत्रकार सम्मेलनमार्फत हङकङका हिंसात्मक प्रदर्शनकारीहरु जनताको शत्रु भएको बताएपछि आन्दोलनकारीहरु थप आक्रोशित बने।

आन्दोलकारीहरु मंगलबार बिहान पनि हङकङ बन्द गर्ने भन्दै सडकमा निस्किए। त्यसपछि हिंसा रोकिने संकेत देखिएन।

विशेष गरी शातिनस्थित चाईनिज युनिभर्सिटीको आन्दोलनले उग्ररुप लियो। त्यहाँ दिनभर र रातभर प्रहरी र आन्दोलनकारी बिच झडप भयो। आज बुधबार पनि स्थिती निकै तनावपूर्ण छ।

शातिन, युनलोङ, मोङ कक, सेन्ट्रलजस्ता स्थानहरुमा झपड भइरहेको छ। सवारी साधनहरु ठप्प छन्। रेल तथा बैंकहरु बन्द छन्। अधिकाँस पसलहरु खुलेका छैनन्। ११ वटा विश्वविद्यालयहरु बन्द छन्।

गत सोमबारबाट जारी प्रदर्शनको क्रममा २८७ प्रदर्शनकारीहरु पक्राउ परेको र दर्जनौं सुरक्षाकर्मीहरु घाईते भएको प्रहरीले जानकारी दिएका छन्।

Image result for police in hk

आन्दोलनकारी विरुद्ध विशेष प्रहरी युनिट

आन्दोलनका कारण कठिन परिस्थितिको सामना गरिरहेको हङकङ प्रहरीले विशेष प्रहरी युनिटको स्थापना गर्ने भएको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार ८० जनाको एलिट टिममा मुख्य रुपमा जेलका दंगा प्रहरीहरु समावेश हुनेछन्। उनीहरुलाई शहरको संवेदनशील क्षेत्रमा तैनाथ गरिने बताईएको छ।

कानून अन्तर्गत प्रमुख कार्यकारीको स्वीकृतिपछि केही दिनभित्र नै प्रहरी प्रमुखले उक्त नयाँ टोलीको घोषणा गर्ने बताईएको छ। उक्त टोलीले सरकार विरोधी प्रदर्शनकारीविरुद्ध अहोरात्र खटिरहेका प्रहरीलाई सहयोग गर्नेछन्।

प्रमुख कार्यकारी क्यारी लामले यसै हप्ता कानुन अनुसार अभूतपूर्व कदमको घोषणा गरेकी थिइन्। उक्त घोषणाले प्रहरी प्रमुखलाई “विशेष कन्स्टेबल“ नियुक्त गर्न अधिकार प्रदान गर्ने अनुमति दिने जनाइएको छ।

उक्त कदमको प्रहरी संघले स्वागत गर्दै संघले आन्दोलनको चुनौतीहरूको बिरूद्ध अनुशासित सेना बिच एकता हुने अवसर प्रदान गरेको बताएको छ।

अधिकारीहरुका अनुसार भर्खरै भर्ती भएका प्रहरीहरु आन्दोलनको सामना गर्न अग्रपंक्तिमा रहने छैनन्। एलिट अधिकारीहरु जोखिमको स्तर उच्च भएको बेला सरकारी मुख्य भवनहरू, एडमिराल्टीका सरकारी मुख्यालय जस्ता स्थानहरुमा परिचालन भएका थिए। तर यो पटक भने हिंसात्मक प्रदर्शनहरू तिव्र र व्यापक भएको बेला त्यस्ता परिसरबाट सडकमा समेत परिचालन गरिने बताईएको छ।

उक्त टोलीमा भर्ती हुनुपूर्ब उनीहरुले कम्तिमा ११ हप्ता भन्दा बढी सामरिक र बन्दुक सम्बन्धी प्रशिक्षण प्राप्त गरेको हुनु पर्नेछ। उनीहरुले हङकङको जेलमा दङ्गा र अन्य आपतकालिन र जोखिमयुक्त परिस्थितिको अनुभव गरेको हुनु पर्ने बताइएको छ।

हङकङ प्रहरीमा करिब ३० हजार प्रहरी कार्यरत छन्। आन्दोलनकारीहरुलाई प्रतिकार गर्न गत महिना १ हजार सेवा निबृत प्रहरीहरुलाई भर्ना गर्ने योजना बनाइएको थियो।

हाल खारेजी भइसकेको सुपुर्दगी बिधेयक बिरुद्ध गत जून महिनाबाट शुरु भएको हिंसात्मक आन्दोलनमा आन्दोलनकारीलाई तित्तर बित्तर पार्न ७ हजार भन्दा बढी अश्रुग्याँस प्रहार भएको बताईएको छ भने ३६ सय भन्दा बढी पक्राउ परेका छन्। आन्दोलनकारी तर्फ झन्डै १६ सय र ४ सय प्रहरीहरु घाईते भएको जनाइएको छ।

हङकङको शान्ति र समृद्धि खतरामा

हङकङ विश्व विद्यालयबाट विद्यावारिधी गरेका डा. चुरा थापाका अनुसार हङकङको शान्ति र समृद्धि सदाको लागि गुम्ने खतराको मोडमा पुगेको छ।

नेपालखबरसँगको कुराकानीमा उनले हङकङ आन्दोलन अत्यन्तै जटिल भएको बताउँदै बाह्य घुसपैठले आन्दोलन लामो समय सम्म चल्ने बताए।

आन्दोलन गृहयुद्धजस्तै हुने संकेत देखिएको उनले बताएका छन्। थापाले नेपालमा जनयुद्ध, जनआन्दोलको अनुभव गरेको बताउँदै हङकङ आन्दोलन त्यो भन्दा खतरा भएको धारणा राखे।

उनले भने,‘आन्दोलनले यहाँको आर्थिक, सामाजिक, कानुन लगायतका सबै संरचनाहरु ध्वस्त भएको छ। आन्दोलन नरोकिए यसको पुननिर्माणमा कठिनाई उत्पन्न हुनेछ।’

आन्दोलनलाई नियन्त्रणमा लिन बेजिङले जनमुक्ति सेना भने परिचालन नगर्ने उनको भनाइ छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .