ad ad

राजनीति


अल्टिमेटम दिएर सरकार छाड्ने तयारीमा समाजवादी पार्टी

अल्टिमेटम दिएर सरकार छाड्ने तयारीमा समाजवादी पार्टी

सागर न्यौपाने
कात्तिक २६, २०७६ मंगलबार १२:४८,

संविधान संशोधनको सहमति कार्यान्वयन नहुने देखेपछि समाजवादी पार्टीले ‘अल्टिमेटम’ दिएर सरकारबाट बाहिरिने तयारी गरेको छ।

सरकार छाड्ने विषयमा कात्तिक ३० मा निर्णय हुने वरिष्ठ नेता अशोक राईले जानकारी दिए। अल्टिमेटमको स्वरुप पनि सोही दिन तय हुने समाजवादीका नेताहरुले बताएका छन्।

दुई मन्त्री र एक राज्यमन्त्री लिएर २०७५ जेठ १८ मा केपी ओली नेतृत्वको सरकारमा सहभागी भएको समाजवादी पार्टीले संविधान संशोधन गर्ने आफ्नो मुख्य एजेन्डा अघि नबढेपछि लामो समयदेखि सरकार छोड्ने बताउँदै आएको छ।

कात्तिक २८ गते बस्ने समाजवादी पार्टी संघीय परिषद्को बैठकको मुख्य एजेन्डा सरकार छाड्ने विषय नै रहेको वरिष्ठ नेता राईले बताए। ‘सरकार छाड्ने विषयमा कात्तिक ३० गते निर्णय हुन्छ,’  उनले नेपालखबरसँग भने।

कात्तिक २९ र ३० गते समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएको छ। समाजवादी पार्टीभित्र तत्काल सरकार छाडेर संघर्षमा जान नेतृत्वलाई दबाब बढिरहेका बेला बस्न लागेको परिषद् र केन्द्रीय समितिको बैठकबाटै सरकार छोड्ने आधिकारिक निर्णय हुने उपाध्यक्ष डा. शिवजी यादवले बताए।

उनका अनुसार केन्द्रीय समितिले प्रधानमन्त्री ओलीलाई संविधान संशोधनका लागि ‘अल्टिमेटम’ दिने अनि सरकारबाट बाहिरिने निर्णय गर्ने सम्भावना बलियो छ। ‘हामीसँग उहाँहरुले गर्नुभएको संविधान संशोधनको सहमति पालना गर्न अल्टिमेटम दिन्छौं, अनि सरकारबाट निस्कन्छौं,’ उनले भने।

राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकताको चर्चा चलेको लामो समय भइसक्यो। तर, एकताका लागि सरकारबाट बाहिरिनुपर्ने सर्त राजपाले अघि सारेको छ।

२०७५ जेठ १४ गते नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष प्रचण्ड र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच दुईबुँदे सहमति भएको थियो। जसमा फोरम सरकारमा सहभागी हुने र संविधान संशोधनको प्रक्रिया अघि बढाइने उल्लेख थियो।

डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीसँग एकता गर्नुअघि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आफैँ उपप्रधान तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिएर १७ महिनाअघि ओली नेतृत्वको सरकारमा सहभागी भएका थिए। संसदमा १६ सिट रहेको समाजवादी पार्टी संविधान संशोधनका लागि आवश्यक दुई तिहाइ संख्या पुर्‍याउन एक मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा सहभागी भएको थियो।

प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनगर्ठनको तयारी गरिरहेका बेला समाजवादी पार्टीले भने सरकार छोड्ने तयारी गरिरहेको छ।

सरकार छाड्न प्रधानमन्त्रीले कुनै दबाब नदिएको उपाध्यक्ष डा. यादवले दाबी गरे। तर, हरेक पटक पेल्दै गएको भने उनले स्वीकार गरे।

‘प्रधानमन्त्रीले सरकार छोड्न समाजवादी पार्टीलाई कुनै दबाब दिनुभएको छैन,’ उनले भने, ‘तर संविधान संशोधनमा प्रधानमन्त्री ओलीले पेल्दै गएको साँचो हो, हामी सहेर बस्यौँ। अब भने असह्य भएर सरकार छाड्ने माहोल बन्दै गएको छ।’

सरकार तत्काल छाड्ने आफूहरुको योजना भएपनि कात्तिक १६ मा भारतले सार्वजनिक गरेको नक्सामा कालापानी आफ्नो देखाएपछि तुरुन्तै सरकार छोड्दा राष्ट्रिय एकताका विषयमा नराम्रो सन्देश जाने देखेर रोकिएको पनि डा.यादवले खुलासा गरे। ‘त्यसैले पहिले अल्टिमेटम दिऊँ भन्ने सहमति भयो,’ उनले भने।

प्रधानमन्त्रीबाटै हस्तक्षेप भएपछि असन्तुष्ट यादव
उपप्रधानमन्त्री उपेन्द्र यादव र प्रधानमन्त्री ओलीको सम्बन्ध पनि बिग्रँदै गएको छ। आफूले समालेको मन्त्रालयमा प्रधानमन्त्रीले हस्तक्षेप गरेको यादवले आफू निकटका नेताहरुसँग बताउने गरेका छन्। स्वास्थ्य मन्त्रालयका कतिपय विषयलाई मन्त्रिपरिषद्बाट स्वीकृत गराउन पनि प्रधानमन्त्रीले असहयोग गरेपछि यादव प्रधानमन्त्रीसँग असन्तुष्ट छन्।

स्वास्थ्य मन्त्रालयका कतिपय विभागमा खाली रहेको पदमा समेत विभागीय मन्त्रीसँग परामर्श नगरी प्रधानमन्त्री ओलीले सोझै हस्तक्षेप गरेर पदपुर्ति गर्ने गरेकोले यादव प्रधानमन्त्रीसँग रुष्ट रहेको उनीनिकट नेताहरु बताउँछन्।

यादवको असन्तुष्टिको अर्काे हो, स्वास्थ्य मन्त्रालयको सचिव हेरफेर। १९ महिनाको अवधिमा स्वास्थ्य मन्त्रालयमा ६ जना सचिव परिवर्तन भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .