इराकमा निर्वाचनको माग गर्दै त्यहाँका नागरिकले आन्दोलन गरिरहेका छन्। सो आन्दोलन हिंसात्मक भएकोले प्रहरी कारबाहीमा प्रदर्शनकारीको ज्यान पनि गएको छ।
उनीहरुले निर्वाचनको माग गरेर आन्दोलन गरेकाले आन्दोलनकारीहरुको माग पूरा गर्न समय अगावै आमनिर्वाचन गर्न अमेरिकाको आग्रह गरेको छ। आइतबार प्रकाशन गरिएको विज्ञप्तिमार्फत अमेरिकाले यस्तो आग्रह गरेको हो।
यसबाट हिंसा पनि रोकिने भन्दै हिंसात्मक गतिविधिको नियन्त्रणका लागि पनि निर्वाचन आवश्यक रहेको अमेरिकाको माग रहेको छ। निर्वाचनमार्फत आन्दोलनकारीको माग पूरा गरी शान्तिपूर्ण राजनीतिक व्यवस्थापन गर्न अमेरिकाले माग गरेको हो।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ,‘अमेरिका इराकमा त्यहाँका राष्ट्रपति बरहाम सालेहको यसअघिको प्रतिबद्धता पनि पूरा गर्न माग गर्दछ।’
‘त्यहाँ आन्दोलनका क्रममा आन्दोलनकारी, नागरिक समाजका व्यक्ति, शान्तिपूर्ण रुपमा आफ्नो माग राख्ने व्यक्तिहरु, सञ्चारमाध्यम तथा नागरिक अधिकारकर्मीहरुमाथिको निरन्तरको आक्रमणप्रति अमेरिका गम्भीर छ’ सो विज्ञप्तिमा भनिएको छ।
यसैगरी इराकले त्यहाँका सञ्चारमाध्यमहरुमाथि आक्रमण गर्ने तथा इन्टरनेटमा लगाएको प्रतिबन्धको घटनाको अमेरिकाले निकै नजिकबाट नियालीरहेको पनि सो विज्ञप्तिमा बताइएको छ।
इराकी संसदको मानवअधिकारसम्बन्धी समितिले त्यहाँ जारी रहेको आन्दोलनबाट कम्तीमा पनि ३१९ जना नागरिकको ज्यान गएको जनाएको छ। उक्त समितिले आन्दोलनका क्रममा भएको यो हिंसाको अन्त्यका लागि सरकारसँग आग्रह पनि गरेको छ।
इराकमा संसदको निर्वाचनका लागि गएका कैयौँ दिनदेखि आन्दोलन जारी रहेको छ। प्रदर्शनकारीहरुले निर्वाचनको माग गरेर आन्दोलनलाई जारी राखेका छन्। रासस/एएफपी

प्रतिक्रिया